२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानमन्त्रीमा ह्याट्रिक गर्ने मोदीको सोच, कति सहज होला बहुमत बिनाको सरकार?

भारतमा आगामी सरकार निर्माणका लागि भएको लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ। १८ औँ लोकसभाका लागि गत अप्रिल १९ मा सुरु भएको निर्वाचन विभिन्न ७ चरणमा हुँदै १ जुनमा सम्पन्न भयो। जसको नतिजा भारतीय चुनाव आयोगले ४ जुनमा सार्वजनिक गर्यो।

आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार भारतीय जनता पार्टीकै नेतृत्त्वमा सरकार गठन हुने भएको छ। सम्पन्न मतपरिणाम अनुसार भारतीय जनता पार्टीले बहुमत हासिल गर्न नसके पनि भाजपा नेतृत्तवमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले कुल ५४२ सिटमध्ये २९२ सिटमा जित हात पारेको छ भने विपक्षी गठबन्धनले २३४ सिटमा जित हात पारेको छ।  

भारतको संवैधानिक व्यवस्था अनुसार बहुमतको सरकारका लागि कुल २७० सिटको आवश्यकता हुन्छ। जुन एनडीएले हासिल गरिसकेको छ। तर, विपक्षी गठबन्धन भने मिलिजुली सरकार बनाउने प्रयासमा रहने भारतीय विश्लेषकहरूको भनाइ छ। किनकी विपक्षी गठबन्धनले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्छ। तर, त्यसमा कति सफल हुन्छ त्यो भने हेर्न बाँकी छ।

निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै भारतका प्रधानमन्त्री मोदीले नै लगातार तेस्रो कार्यकालका लागि सत्ता सम्हाल्ने तय जस्तै छ। पछिल्लो १० वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री मोदीले सोचे अनुसारको जित हासिल गर्न नसकेपनि सरकार आफ्नै नेतृत्त्वमा बनाउने भने निश्चित छ। नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न उनले बुधबार नै पदबाट राजीनामा दिइसकेका छन् ।

अब उनलाई बहुमतको सरकार बनाउन केही सिटको आवश्यकता हुनेछ। जसका लागि उनले बिहारका मुख्यमन्त्री नीतिश कुमार र आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूलाई फकाउने प्रयास गर्नेछन्। यी दुवै नेता आवद्ध दलसँग मिलेर २८ सिट छ। तर, मोदीका लागि त्यति सहज भने हुने छैन।

गुजरातमा २००२ मा भएको हिंसाको क्रममा चन्द्रबाबू नायडू एनडीएका पहिलो नेता थिए जसले मुख्यमन्त्री हुँदाहुँदै प्रधानमन्त्री मोदीको राजीनामा मागेका थिए। त्यसपछि २०१९ मा प्रधानमन्त्री मोदीले चुनाव प्रचारप्रसारको क्रममा नायडूलाई आफ्नो ससुराको पीठ्यूमा चक्कु प्रहार गर्ने व्यक्तिको संज्ञा दिएका थिए।

त्यसअघि २००४ को लोकसभा निर्वाचनको क्रममा बीजेपीका नेता अमित शाहले एक भाषणको क्रममा नायडूलाई अवसरवादी भन्दै उनका लागि एनडीएको ढोका सँधैका लागि बन्द भएको बताएका थिए। अब यी सबलाई बिर्सेर नायडू मोदीसँग फेरि तालमेल गर्छन् या गर्दैनन् त्यो भने उनैलाई थाहा होला।

भारतका एकजना जानकारी सञ्जीव श्रीवास्तवले अब बन्ने सरकार नीतीश कुमार र चन्द्रबाबू नायडू बिना चल्न नपाउने र नीतीश मौसम जस्तै परिवर्तन भइरहने टीप्पणी गरेका छन्। नीतीश कुमारले सन् २०१३ मा एनडीए छोड्नु कारण मोदी नै रहेको बताए।

श्रीवास्तवले भने, ‘नीतिशलाई मोदी फेरि प्रधानमन्त्री बनुन् भन्ने पटकै मन थिएन र मोदीका कारण आफ्नो मुस्लिम मतदाता घट्ने डर रहेका कारण उनले एनडीए छोडेका थिए। त्यहि कारणले नीतिश कुमारले मोदीलाई २०१० र २००५ को बिहार विधानसभा चुनावमा प्रचारप्रसारका लागि आउन दिएनन्।’

उनी भन्छन्, ‘वैशाखीको रुपमा मानिएका यी दुबै नेता राजनीतिमा उस्ताद मानिन्छन् र अब बन्ने सरकारमा आफ्ना माग पूरा गराउने सबै जोड अपनाउने छन्।’

श्रीवास्तव भन्छन्, ‘यदि सामान्य राजनीतिक सन्दभ हेर्ने हो भने तेस्रो पटक सरकार बनाउने कसरतमा २४० सिट ल्याउनु नराम्रो पक्ष होइन। तर, मोदीका लागि अब बन्ने सरकारमा एनडीएका सबै दललाई लिएर अघि बढ्नु चुनौतीपूर्ण हुन सक्छ।’

‘नीतिशको गठबन्धन परिवर्तन गर्ने यस्तो प्रक्रिया बनिसकेको छ जसले सबैलाई आश्चर्यमा मात्रै पार्ने काम गर्छ। लोकसभा निर्वाचनको केही समय अघि मात्रै उनले राष्ट्रिय जनता दलसँगको गठबन्धन तोडेर मोदीसँग सहकार्य गर्न पुगे। जसले सबैलाई फेरि आश्चर्यमा मात्रै पार्ने काम गर्यो। त्यसकारण नीतिशको बारेमा कोही पनि विश्वस्त हुन सक्दैन,’ उनले भने।

पछिल्लो १० वर्षमा मोदीको कार्यकालमा सरकारमा बहुमतका कारण बिजेपी बाहेक अन्य कुनै दलको सहभागीता थिएन, तर, अब सत्ता टिकाउन अन्य दलको सहभागीता बढाउनु पर्ने छ र अन्यको सुन्नुपर्ने बाध्यता मोदीसँग छ। यदि त्यसो भएन भने मोदीको सरकार ५ वर्ष टीक्न गाह्रो हुन्छ।

यसअघि १९९९ मा अटल बिहारी वाजपेयी नेतृत्त्वको सरकारमा एनडीए गठबनधनमा २४ दल सहभागी थिए र त्यो ५ वर्ष स्थिर सरकारको रुपमा चलेको थियो। बाजपेयीको कुशलताका कारण त्यो समय टिकेको गठबन्धन सरकार मोदीले टिकाउन सक्छन् या सक्दैनन् त्यो भने हेर्न बाँकी छ।

बहुमतको सरकार गठन भयो भने मोदी भारतको लगातार तेस्रोपटक प्रधानमन्त्री बन्ने दोस्रो नेता पनि बन्ने छन्। यसअघि जवाहर लाल नेहरु भारतका पहिलो नेता थिए जो लगातार ३ कार्यकाल प्रधानमन्त्री बनेका थिए।

मोदीले आगामी कार्यकालका लागि यहि जुन ८ मा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी रहेको छ।

प्रकाशित: २३ जेष्ठ २०८१ १५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App