२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा भाजपालाई नसोचेको धक्का

भारतको लोकसभा निर्वाचनमा प्रतिपक्षी इन्डिया गठबन्धनले सत्तारूढ एनडिए गठबन्धनलाई कडा टक्कर दिएको छ। एक्लै पूर्ण बहुमत ल्याउनेमा ढुक्क रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई चुनावी नतिजाले कडा झट्का दिएको छ।

सन् २०१९ को चुनावमा एक्लैले ३०३ सिट हात पारेको भाजपाले यसपटक २४० को हाराहारीमै चित्त बुझाउनुपर्ने मतगणनाको प्रारम्भिक नतिजाले देखाएको छ। यसबाट सरकार गठनका लागि एक्लै बहुमत जुटाउन भाजपा असफल देखिएको छ।

भारतीय लोकसभाका कुल ५४३ सिटमध्ये मंगलबार मध्यरातिसम्म सत्तारूढ एनडिएले २९१ र इन्डिया गठबन्धनले २३१ सिटमा जितेका छन् । सन् २०१९ को आम निर्वाचनमा एनडिएले ३५३ सिटमा विजय हासिल गरेको थियो।

सरकार बनाउन २७२ सदस्य चाहिने भएकाले यसपटक पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले साझेदार दलसँग मिलेर सरकार बनाउन सक्ने देखिएको छ। गठबन्धनको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने लगभग निश्चित बनेको छ।

तर केही भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालअनुसार सत्तारूढ एनडिएमा सहभागी केही दलले प्रतिपक्षी इन्डिया गठबन्धनलाई सहयोग गरे मोदीले प्रधानमन्त्रीमा ह्याट्रिक गर्ने अवसर गुमाउनेछन्।

विशेषगरी नितिश कुमारले नेतृत्व गरेको बिहारको जनता दल युनाइटेड (जेडियु) र आन्ध्र प्रदेशको तलेगु देशम पाटी (टिडिपी) चन्द्रबाबु नायडुले आगामी सरकार गठनमा ‘किङ्मेकर’को भूमिका खेल्न सक्ने देखिएको छ।

जेडियुले १२ सिट र टिडिपीले १६ सिटमा जित निकालेका छन् । यही कारण गठबन्धनको हिसाबले बहुमतको आँकडा पार गरेर सरकार गठनको सुविधा पाउँदासमेत गठबन्धन एकतालाई अक्षुण्ण राख्न भाजपा प्रयासरत देखिन्छ।

विपक्षी इन्डिया गठबन्धन पनि यी दुई दललाई आफूतिर तानेर एनडिएलाई तेस्रो पटक सरकार बनाउनबाट रोक्न चाहन्छ। यसका लागि उनीहरूलाई विभिन्न आकर्षक प्रस्ताव गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विशेषगरी राजनीतिक पक्षधरता अदलबदल गरिरहने नितिस कुमारको यसअघिका गतिविधिका कारण पनि यस्तो संशय उत्पन्न भएको हो।  

राममन्दिरको जादु चलेन

लोकसभामा सिट संख्याका हिसाबले धेरै सांसदको प्रतिनिधित्व हुने तथा नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशमा भारतीय जनता पार्टीले ठुलो क्षति बेहोरेको छ। हिन्दु बाहुल्य उत्तर प्रदेशको अयोध्यामा राममन्दिर उद्घाटनपछि यसले हिन्दुभाषी राज्यहरूमा भाजपालाई राजनीतिक फाइदा पुग्ने विश्लेषण गरिएको थियो।

मतगणनाअनुसार उत्तर प्रदेशका ८० सिटमध्ये अखिलेश यादवले नेतृत्व गरेको क्षेत्रीय दल समाजवादी पार्टी (एसपी) ले ४३ र र भाजपाले ३७ सिटमा अग्रता लिएका छन्। प्रारम्भिक नतिजाको रुझानअनुसर सन् २०१९ को तुलनामा भाजपाले यो प्रदेशबाट दुई दर्जनभन्दा बढी सिट गुमाउने देखिएको छ।

केन्द्र सरकार निर्माणमा उत्तर प्रदेशको भूमिका अहं रहँदै आएको छ। यसबाहेक हिन्दुभाषी बाहुल्य विहार, राजस्थान, हरियाणालगायतका राज्यमासमेत भाजपा अपेक्षित नतिजा हासिल गर्न असफल देखिएको छ।

लोकसभा चुनाव मिति घोषणा हुनुअघि र अन्तिम चरणको मतदान हुँदासम्म राम मन्दिरलाई लिएर निकै चर्चा हुने गरेको थियो। प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भाजपाका सबै ठुला नेताले हरेकजसो चुनावी भाषणमा राम मन्दिरको चर्चा गरेका थिए।

राम मन्दिरको उद्घाटनसँगै उत्तर प्रदेशमा मात्र नभई अन्य राज्यमा पनि राजनीतिक फाइदा हुने आशामा भाजपा थियो। भाजपाले एक्लै बहुमत ल्याउन नसक्नुमा सिट संख्याका हिसाबले सबैभन्दा ठुलो राज्य उत्तर प्रदेशमा उसको कमजोर प्रदर्शन हो।

गत जनवरी २२ मा राम मन्दिरको उद्घाटनपछि भाजपाले उत्तर प्रदेशसहित देशभरि आफ्नो पक्षमा चुनावी लहर सिर्जना हुने अपेक्षा गरेको थियो। प्रधानमन्त्री मोदीले आफ्नो निर्वाचन क्षेत्र बाराणासीसहित उत्तर प्रदेशका विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसारमा निकै समय खर्चिएका थिए।

लोकसभा निर्वाचनको नतिजा आउन सुरु हुनुभन्दा अघि सार्वजनिक सबै एक्जिट पोलले एनडिए गठबन्धनले झन्डै चार सय सिटमा विजय पाउने प्रक्षेपण गरेका थिए। तर चुनावी नतिजाको सही प्रक्षेपण गर्न एक्जिट पोल असफल देखिएका छन्।

चुनावी नतिजा अनुकूल आउँदै गर्दा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले देशले मोदी र अमित शाहको नेतृत्व नचाहेको बताएका छन्। यसैगरी मंगलबार साँझ नै भाजपा मुख्यालयामा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले सन् २०६२ यता पहिलोपटक लगातार तीनचोटी एनडिएले सरकार गठन गर्ने बताएका छन्।

प्रकाशित: २३ जेष्ठ २०८१ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App