२३ असार २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्वाचनमा मोदीलाई झट्का, एनडिए गठबन्धन फुटाउन सके विपक्षी सरकार

छिमेकी मुलुक भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचन अन्तर्गत आज मतगणना चलिरहेको छ। जारी मतगणनामा ‘अबकी बार चार सौ पार’को नारासहित चुनावी मैदानमा उत्रिएका प्रधानमन्त्री नरेन्द्र मोदीको योजनामा झट्का लागेको छ।

कुल ५४३ सिट भएको लोकसभामा ४०० सिट ल्याएर दुईतिहाई बहुमतसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदीको चाहना थियो। जसलाई उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले जोडतोडका साथ उठाएको थियो।

अहिलेसम्मको मतगणनाको रुझानले भने मोदीको योजनामा धक्का लागेको देखाएको छ। यद्यपि भाजपा नेतृत्वको एनडिए गठबन्धनले भने बहुमत प्राप्त गर्ने देखिएको छ, जसले गठबन्धनको सहाराले मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने सम्भावनालाई भने जीवित राखेको छ। 

भारतीय निर्वाचन आयोगका अनुसार रुझानअनुसार दिउँसो साढे तीन बजेसम्म भाजपा नेतृत्वको एनडिए गठबन्धन २९६ सिटमा अगाडि छ। विपक्षी भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२८ सिटमा अगाडि छ। यस्तै १९ सिटमा अन्य दलको अग्रता छ।

मोदीलाई सहारा जरुरी

५४३ सिटको लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ। यसअघि मोदी लहर सुरु भएको २०१४ लोकसभा निर्वाचनमा भाजपाले एक्लैले २८२ सिट जित्दा उसको नेतृत्वको एनडिए गठबन्धनले ३३६ सिट जितेको थियो। 

विपक्षी कंग्रेसले धराशायी हुँदै ४४ सिटमा थन्किँदा कंग्रेस नेतृत्वको तत्कालीन युपिए गठबन्धनले ५९ सिट मात्रै जोड्न सकेको थियो। 

यस्तै २०१९ को निर्वाचनमा मोदी लहर अझै अनुमोदित भएर भाजपाले ३०३ सिटमा जितेको थियो। एनडिए गठबन्धन ३५३ सिटसम्म पुग्यो। कंग्रेस ५२ सिटमा जित्दा उसको नेतृत्वको तत्कालीन युपिए गठबन्धन ९१ सिटसम्म पुगेको थियो।

यसरी दुई निर्वाचनमा भाजपाको एक्लै बहुमत र एनडिए गठबन्धनसहित प्रचण्ड बहुमत प्राप्त गरेका मोदीले यसपटक अझै बढेर ‘चार सौ पार’ को नारा लगाएका थिए।

तर, रुझानले उल्टो संकेत गरिरहेको छ। यसपटकको नतिजामा भाजपा २०१४ पछि पहिलो पटक एकल बहुमतसहित लोकसभामा नपुग्ने देखाएको छ। भाजपाले दिउँसो ३ः५० सम्मको नतिजाअनुसार तीन सिटमा जित र २३७ सिटमा अग्रता लिइरहेको छ। यसले २७२ को बहुमत आँकडा भेट्टाउन लगभग असहज भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उसको नेतृत्वको एनडिए गठबन्धनको भने २९६ सिटमा अग्रता छ।

उता विपक्षी कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले भने अघिल्ला निर्वाचनको तुलनामा नतिजामा उल्लेख्य सुधार गरेका छन्। २०१९ को निर्वाचनमा ५२ सिट जितेको कंग्रेस एक्लैले अहिले २ सिट जित निकाल्दै ९८ थप सिटमा अग्रता लिइरहेको छ। उसको नेतृत्वको गठबन्धन २२८ सिटमा अग्रता लिइरहेको छ।

गठबन्धनमा हडकम

उता रुझानले अर्कै नतिजा दिनथालेपछि भाजपा नेतृत्वको गठबन्धनभित्र विपक्षीले खेल्न थालेका समाचार बाहिरिन थालेका छन्। विशेषगरी बिहारका मुख्यमन्त्री नितिश कुमारलाई कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनमा तान्ने प्रयास भएको समाचार एबिपी न्युजले प्रसारण गरेको छ।

निर्वाचन नजिकिँदै गर्दा गएको जनवरीमा नितिशले विपक्षी गठबन्धन छाडेर भाजपाको सहयोगमा फेरी मुख्यमन्त्रीको शपथ लिएका थिए। भाजपाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाउने षडयन्त्र गरेपछि बच्न भाजपा नेतृत्वको गठबन्धनमा सहभागी भएको चर्चा छ । यही कारण नयाँ गठबन्धनमा पनि उनी खुसी नभएको समाचार आउने गरेका छन्। 

यस्तोमा भाजपाको एकल सरकार बन्न नसक्ने स्थिति बनेपछि विपक्षीले नितिशलाई तानेर सरकार बनाउने प्रयास थालेको समाचार एविपीन्युजले लेखेको छ। जसमा नितिशलाई उपप्रधानमन्त्रीको प्रस्ताव आएको स्रोतलाई हवाला दिँदै भनिएको छ। 

जारी मतगणनामा नितिशको पाटी जनता दल युनाइटेड (जेडियु) ले १४ सिटमा अग्रता लिइरहेको छ। जुन भाजपा नेतृत्वको एनडिए गठबन्धनले प्राप्त गरेको सिटमा निकै महत्त्वपूर्ण रहेको एबिपीन्युजले जनाएको छ। 

प्रकाशित: २२ जेष्ठ २०८१ १६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App