२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

इलामको सन्दकपुर गाउँपालिकामा रेबिज फैलिएपछि त्रास

जिल्लाको सन्दकपुर गाउँपालिकामा रेबिज संक्रमित कुकुरले अढाई दर्जन हाराहारी घरपालुवा गाईवस्तुलाई टोकेको छ। त्यति नै संख्याका कुकुरसँग रेबिज संक्रमित कुकुरको संसर्ग भएपछि गाउँमा त्रास फैलिएको छ।

सन्दकपुर वडा १, आलुबारीमा गत २८ गते स्थानीय राम राईको कुकुर उम्किएर छिमेकीको गोठमा बाँधिएका गाईवस्तुलाई टोक्दै हिँडेको थियो। कुकुरले अस्वभाविक लक्षण देखाउँदै गाउँका २७ गाईवस्तुलाई टोकेको थियो भने ३० भन्दा बढी कुकुरसँग संसर्ग गरेको गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारी वेदनिधि दुलालले जानकारी दिए।

स्थानीयले नियन्त्रणमा लिन खोज्दा राति १२ बजेतिर कुकुर मरेको थियो। नमुना परीक्षण गर्दा कुकुरमा रेबिज देखिएको उनले जनाए। आलुबारी क्षेत्रमा कुकुरले टोकेका २ वटा गाई मरेका छन्। दुलालका अनुसार वडा ३, सुलुबुङमा पनि रेबिज फैलिएको आशंका छ।

असोज १६ गते सुलुबुङका एक किसानको गाईको बाछालाई एउटा कुकुरले टोकेको थियो। तर, परीक्षण गर्नुअघि नै बाछो मरेकाले परीक्षण हुन नसकेको उनले बताए। सुलुबुङसँगै सीमा जोडिएको इलाम नगरपालिका–२, सुम्बेकमा पनि अहिले कुकुरले गोठमा बाँधिएका पशुलाई टोक्दै हिँडेको पाइएको उनले जनाए।

रेबिजको शंका भएपछि गाउँपालिकाको स्वास्थ्य शाखाले कुकुरले टोकेका पशु र नियन्त्रणमा खटिएका शाखाका कर्मचारीलाई समेत रेबिजविरुद्धको खोप लगाइरहेको छ। ‘रेबिज सम्भावित करिब ४ चार सय पशुमा खोप लगाउनु आवश्यक देखिएको छ,’ उनले भने, ‘अवस्था हेरी एउटै पशुलाई ३ डोजसम्म लगाउनुपर्ने हुनसक्छ।’

कुकुरले टोकेका पशुलाई अहिले गोठ–गोठमा सुरक्षित राखिएको तर कतिपय गाईवस्तुमा सुस्त हुनेजस्ता लक्षण देखिएको उनले बताए। ‘मान्छेमा चाहिँ अहिलेसम्म त्यस्तो लक्षण देखिएको छैन,’ उनले भने, ‘तर, जोखिम भएकाले रेबिज नियन्त्रणमा खटिने कर्मचारीलाई रेबिजविरुद्धको खोप चाहिँ लगाएका छौं।’

प्रकाशित: ३१ आश्विन २०७९ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App