२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

खोपको सरकारी लक्ष्य पूरा भएन:भण्डारमा ९६ लाख डोज

सरकारले पुस मसान्तभित्र कुल जनसंख्याको ६६ प्रतिशतलाई कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप दिने लक्ष्य लिएकोमा पूरा हुन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

आइतबार मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकअनुसार १८ वर्षमाथिका ६१ प्रतिशत जनसंख्याले पूर्ण मात्रा र ८१ प्रतिशतले पहिलो मात्रा खोप लिएका छन्। त्यसैगरी कुल जनसंख्याको ५९ प्रतिशतले पहिलो मात्रा र ४० प्रतिशतले पूर्ण मात्रा लिएका छन्। लक्षित खोप कार्यक्रमको लागि वाग्मती र गण्डकी प्रदेश भने सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सरकारको पुस मसान्तको लक्ष्य पूरा हुन अझै कुल जनसंख्याको २६ प्रतिशतले खोप लिन बाँकी देखिन्छ। त्यस्तै १८ वर्षमाथिको जनसंख्यालाई आधार मान्ने हो भने ५ प्रतिशतले पूर्ण मात्रा खोप लगाउन बाँकी देखिन्छ। यो हिसाबले सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम ६६ प्रतिशत नागरिकलाई खोप नपुगी आइतबारदेखि बुस्टर डोज खोप दिने कार्यक्रम घोषणा गरेको छ।

खोप अभियान सञ्चालनका लागि पर्याप्त खोप हुँदाहुँदै पनि सरकारको प्रभावकारी योजना र कार्यक्रमको अभावमा समयमै लक्षित समूहले खोप लिन नसकेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले बताए।

‘सरकारले भण्डारणमा कम खोप भएकै अवस्थामा जस्तो गरी खोप केन्द्र र जनशक्ति परिचानल गर्‍यो, खोपको मात्राअनुसार खोप केन्द्र र जनशक्ति परिचालन हुनुपर्थ्यो,त्यो हुन सकेन’, उनले भने। खोप केन्द्र कम हुनुका साथै खोप केन्द्रहरूको अनुगमनसमेत नहुनुले खोप कार्यक्रम प्रभावकारी नभएको डा. गौतमको भनाइ छ।

स्वास्थ्य सेवा आपूर्ति महाशाखाका अनुसार गत शुक्रबारसम्म करिब एक करोड बढी डोज खोप भण्डारणमा थियो। बीचमा भेरोसेलको ११ लाख डोज खोप आएको थियो। त्यसअघि १ करोड १३ लाख खोप भण्डारणमा थियो। थप खोपसहित दुई साताअघि करिब १ करोड २२ लाख डोज खोप भण्डारणमा थियो।

यो हिसावले करिब दुई साताभित्र २४ लाख डोज खोप प्रयोगमा आएको देखिन्छ। प्रयोग भएको खोपसहित प्रदेश र संघको भण्डरणमा गरी ९६ लाख डोज बढी खोप भण्डारणमा रहेको छ।

खोपले कोभिड १९ विरुद्ध काम गर्छ भन्ने सबै नागरिकमा विश्वास नहुनुले पनि खोप कार्यक्रम पूर्ण रूपमा सफल हुन नसकेको भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।

‘सरकारले माघको पहिलो सातादेखि सार्वजनिक सेवा लिनेले खोप कार्ड अनिवार्य लिनुपर्ने बताएपछि मात्र खोप केन्द्रमा भिड बढेको देखिन्छ, पहिला यस्तो भिड थिएन’, उनले भने। उनका अनुसार कतिपय जनसंख्याको कामको समय नमिल्ने र खोप लिन दिनभरि समय दिनुपर्ने जस्ता कारणले पनि खोप लिन नपाएको देखिन्छ। यसका लागि सबैलाई मिल्ने गरी कम भिड हुने गरी खोप केन्द्र पर्याप्त मात्रामा सञ्चालन हुनुपर्ने विज्ञहरूको सुझाव छ।

लक्ष्यअनुसार खोप कार्यक्रम सम्पन्न हुन नसकेपछि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र विस्तार गरी खोप लगाउनुपर्ने सुझाव दिएको छ। ‘आगामी दिनमा खोप केन्द्र थपेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने।

बढ्दो ओमिक्रोन भेरिएन्टको संक्रमणको कारण विश्व स्वास्थ्य संगठनकै निर्देशन बमोजिम बुस्टर डोज खोप कार्यक्रम सँगै सञ्चालन गरेको दाबी गरे। उनले भने, ‘लक्षित जनसंख्या भने पनि धेरै जनसंख्या देशबाहिर रहेकाले ४० प्रतिशत मात्र कभरेज भएको देखिएको हो, विश्व स्वास्थ्य संगठनले ४० प्रतिशत जनसंख्यालाई खोप दिने राष्ट्रले बुस्टर डोज खोप दिन पाउने गाइडलाइन दिएको छ’, उनले भने।

सुरु भयो बुस्टर डोज खोप कार्यक्रम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने जनशक्तिलाई आइतबारदेखि बुस्टर डोज खोप अभियान सुरु गरेको छ। शनिबार मन्त्रालयले यो समूहलाई खोप दिन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।

आइतबार सबै जिल्लामा कार्यक्रम सुरु हुन नसकेकाले सोमबारदेखि सम्भव भएका जिल्लामा खोप दिइने मन्त्रालयले जनाएको छ। सरकारले माघ २ गतदेखि अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, चालक, सहचालक तथा पत्रकार तथा सफाइ कर्मचारीलाई खोप दिने भएको हो।

त्यसैगरी माघ १४ गतेदेखि ६० वर्षमाथिका उमेर समूह र दीर्घरोगीलाई बुस्टर डोज खोप दिने घोषणा भएको छ। बुस्टर डोज खोप लिन यसअघि पूर्ण मात्रा खोप लिएको ६ महिना पुगेको हुनुपर्छ।

संक्रमणदर ३२.८ प्रतिशत

गत २४ घण्टामा कोरोना संक्रमण दर बढेर ३२.८ प्रतिशत पुगेको छ। यस अवधिमा परीक्षण भएका १५ हजार १ सय ३१ वटा नमुना परीक्षण भएकोमा ४ हजार ९ सय ६१ जनामा कोरोना पुष्टि भएको हो। संक्रमण दर अघिल्लो दिनको तुलनामा एक प्रतिशतले वृद्धि भएको छ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। काठमाडौंमा २ हजार ५ सय ४५ जना, ललितपुरमा ४ सय ३४ जना र भक्तपुरमा ३ सय २८ जना संक्रमित थपिएका छन्। हाल देशभरिमा २१ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्।

सक्रिय संक्रमितमध्ये २४ हजार ५ सय ८४ जना होम आइसोलेशनमा, १ हजार ९६ जना संस्थागत आइसोलेसनमा छन्। १ सय २२ जनाको आइसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा ११ हजार ६ सय १७ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रकाशित: ३ माघ २०७८ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App