भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।
बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन्।
अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे । उनले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पुर्ति गर्ने बताए ।
भारत सरकारले कोभिड नियन्त्रणका लागि नेपाल सरकारलाई खोप लगायतका अन्य स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे । उनले भने, ‘यसले अक्सिजन सप्लाई साथसाथै अक्सिजनको अभावलाई ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।
त्यसको अलावा कोभिड १९ नियन्त्रणको लागि भारत सरकारले विशेष गरेर हामीलाई खोप सहयोग उपलब्ध गराइदिएर र धेरै सामग्रीहरु कोभिड १९ का लागि औषधि लगायत धेरै चिजहरु कोभिड १९ नियन्त्रणका लागि ठुलो सहयोग उपलब्ध भएको छ । भारत सरकारप्रति हामी आभारी छौँ । आगामी दिनमा पनि अझै सहयोग पाउने अपेक्षा राखेका छौँ। आगामी दिनमा कोभिशिल्ड भ्याक्सिन उपलब्ध गराए हामीलाई सहज हुन्छ।’
प्रकाशित: १० भाद्र २०७८ ०९:०२ बिहीबार