२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नेपालमा क्यान्सर उपचारमा ई-एमडिटी प्रणालीको अभाव

अरू देशमा १४ वर्ष पहिल्यै अभ्यासमा ल्याइएको क्यान्सर उपचारमा ई–एमडिटी (मल्टिडिसिप्लिनरी ट्रिटमेन्ट) प्रणाली नेपालमा अहिलेसम्म लागु हुन नसकेको क्यान्सर रोग विशेषज्ञहरूले औंल्याएका छन्। आन्तरिक तहमा कतिपय क्यान्सर अस्पतालहरूमा अभ्यासमा रहे पनि राष्ट्रिय तहमा यो प्रणाली अभ्यास नभएको भक्तपुर क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. पुन्य खरबुजाले बताए।

विभिन्न क्यान्सर विशेषज्ञहरूको एकीकृत सुझावको आधारमा कुनै पनि क्यान्सरको उपचार गर्ने पद्धतिलाई क्यान्सर उपचारमा ई–एमडिटी प्रणाली भनिन्छ। यो प्रणालीमा कुनै पनि क्यान्सरकोे उपचारअघि नै देशभरीका क्यान्सर अस्पतालका विभिन्न विशेषज्ञबीच अनलाइन बैठकमार्फत छलफल हुन्छ र उनीहरूको निष्कर्षको आधारमा बिरामीको अर्को उपचार प्रक्रिया हुनुपर्छ। जसमा सर्जिकल अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, रेडियोलोेजिस्टलगायत विशेषज्ञ संयुक्त रूपमा उपचारपूर्व बसेर उपचार प्रविधिबारे सल्लाह दिनु नै एमटिडी प्रक्रिया हो।

नेपालमा क्यान्सर उपचारमा एमडिटी प्रणाली स्राष्ट्रिय तहमा लागु गर्न सके प्रभावकारी हुने उनको सुझाव छ। राष्ट्रिय तहमा योे एमडिटी प्रणाली लागु गर्न विभिन्न अस्पतालमा आएको बिरामीको विवरण अस्पतालमा सचिवालय गठन हुनुपर्छ। त्यो सचिवलायमार्फत अस्पतालमा आउने हरेक क्यान्सरको बिरामीको विवरण भिन्नै वेबसाइटमा राखिन्छ। राखिएको बिरामीबारे विशेषज्ञहरूको समूहले हेरेर अब कुन उपचार गर्ने भन्ने विषयमा निर्णय दिन्छन्। सोहीबमोजिम बिरामीको उपचार प्रक्रिया अघि बढ्छ। ‘बिरामीलाई किमोथेरापी आवश्यक छ र त्यो अस्पतालमा छैन भने तुरुन्त अर्को अस्पतालमा रेफर गरिहाल्नुपर्छ, यसरी सिफारिस गर्दा बिरामीको छिटो र उचित उपचार हुन्छ,’ उनले भने।

नेपालका क्यान्सर अस्पतालहरूमा ट्युमर बोर्ड भने अभ्यासमा छ। यो बोर्डले जटिल खालको क्यान्सरको हकमा छलफल गरेर मात्र उपचारको निर्णय लिने गर्छ। तर एमडिटी प्रणाली अहिलेसम्म बन्न सकेको छैन। ‘छिमेकी राष्ट्र भारतमा समेत पहिल्यै यो अभ्यासमा गइसकेको छ, हामी कहाँ मात्र छैन,’ उनले भने।

यो प्रणालीवाट बपालमा क्यान्सरका बिरामीको यकिन तथ्यांक संकलन गर्न पनि फाइदा हुन्छ नै। एमडिटी प्रणालीमा पुगेमा मात्र बिरामीले सरकारबाट पाउने एक लाख रूपैयाँ सुविधा पाउने व्यवस्थाले सरकारी खर्चको पनि यकिन तथ्यांंक आउने डा. खरबुजा बताउँछन्। यसको साथै कुन क्षेत्रमा कुन क्यान्सर बढी छ, नेपालमा कुन क्यान्सर बढी छन् भन्नेबारे यकिन तथ्यांक आउने खरबुजाले बताए।

वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख डा. विवेक आचार्यले नेपालमा आन्तरिक रूपमा अस्पतालभित्रै रहेको ट्युमर बोर्डले विभिन्न विशेषज्ञहरूसँग छलफल गरी उपचार गर्ने गरेको र मासिक एक पटक नेपाल क्यान्सर रिलिफ सोसाइटीले ट्युमर बोर्डबीच छलफल गर्ने गरेको बताए। ‘अहिलेको यो प्रणालीले क्यान्सर उपचारमा सहज बनेको छ तर क्यान्सर अस्पतालबीच छलफल हुने अभ्यास छैन,’ उनले भने।

क्यान्सर उपचारको हकमा भने प्रत्येक क्यान्सर अस्पतालमा ट्युमर बोर्डमार्फत उपचार हुने गरेको उनले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालमा ई–एम डिटी प्रणाली क्यान्सर रोगमा मात्र नभई सबै रोगको हकमा रहेको बताए। त्यसका लागि वीर अस्पतालमा जुनसुकै रोगको उपचारका लागि टेलिकन्सल्टेन्सी प्रक्रियामार्फत उपचार हुने गरेको बताए। ‘कुनै पनि रोगको उपचार हुनुपरे राष्ट्रिय/अन्तर्राष्ट्रिय विशेषज्ञबीच छलफल हुन्छ,’ उनले भने ।

तथ्यांक पछिल्लो समय क्यान्सर रजिस्टरीमार्फत भइरहेको डा. बुढाथोकीले बताए। तर डा. खरबुजाले अस्पतालमा आधारित रजिस्ट्री भए पनि जनसंख्यामा आधारित क्यान्सर तथ्यांकका लागि पनि राष्ट्रिय तहमा ई–एमडिटी प्रणाली आवश्यक रहेको बताउँछन्।

प्रकाशित: १४ असार २०८१ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App