२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गीता उपहार दिने चिकित्सक

महाराजगन्ज स्थित अमेरिकी राजदूतावासको ठ्याक्कै विपरीत एउटा निजी क्लिनिक छ। त्यही क्लिनिकमा छैसठ्ठी वर्षीय वरिष्ठ ग्यास्ट्रोलोजिष्ट शशी शर्माको बिरामी जाँच्ने कोठा छ। कोठाभित्र पस्ने बित्तिकै केही भिन्न दृश्यहरू देखिन्छन्।

उनको टेबल अघि एक छेउमा केही थान गीताको पुस्तक र कोठाकै अर्को कुनामा सिसाले छोपेको ¥याक र ¥याक भित्र गीताका पुस्तक र केही बुद्धको तस्बिर र पुस्तकहरू। डा. शशी शर्माको बिरामी जाँच्ने कोठा देखेपछि जो कोही अचम्मित हुन्छन्। 

चिकित्सकहरू बिरामी जाँचेपछि कि बिरामीलाई औषधी सिफारिस गर्छन् या स्वास्थ्य सचेतना दिन्छन्।  डा. शशी शर्मा भने आफूसँग पुगेका बिरामीलाई  उपचारपछि उक्त थान गीता उपहार दिन्छन्। गीता बोकेर जानेहरु फेरी आउँदा खुसी हुन्छन्। डा. शर्माले बिरामीलाई गीता उपहार दिन थालेको दुई वर्ष भयो। यो अवधिमा सयौँ जनालाई गीता उपहार दिइसकेका छन्।

डाक्टर शर्माको कक्षमा उपचार गर्न आउनेले गीता देखेर इच्छा देखाए भने मात्र उनले गीता उपहार पाउँछ। तर गीता उपहार दिए बापत उनले कुनै पैसा लिंदैनन। कतिपय बिरामी जब पिर चिन्ता सुनाउँछन्। डा. शर्मा गीता सार सुनाएर सम्झाउँछन्। ‘जीवन के हो ? हामी कति समयका लागि पृथ्वीमा आएका हौ त्यसपछि सबै छोडेर एक्लै जानु पर्छ, केको डर ?’ उनले बिरामीलाई भन्ने गरेको कुरा सुनाउँदै भने। डाक्टरको कुरा सुनेपछि गीता लिएर आएका बिरामीमा केही न केही परिवर्तन देखिन्छ। उनीहरु भावनात्मक रुपमा सकरात्मक भइसकेका हुन्छन्।  डा. शर्मा भन्छन् , गीतामा भएको चिन्तनले बिरामीलाई भावनात्मक रुपमा स्वस्थ राख्न मद्दत गर्छ’ उनले भने।

डाक्टर शर्मासँग सात महिना अघि गीता लिएर फर्केका इटहरीका २७ वर्षीय हरि घिमिरेले गीता पढेपछि जीवनमा जीवन र जगतको यथार्थ बुझ्न सफल भएको बताए। गीता पढेपछि कर्मको फल प्रति आशक्ति नराखी सेवाको रुपमा कर्म गरेमा या कर्मलाई भक्तिको रुपमा लिएमा मनमा दुःख नहुने उनले बताए। ‘गीता पढेपछि कर्म पनि भक्ति बन्यो’ उनले भने।

डाक्टर शर्माबाटै पुस्तक लिएका तनहुँका दीपेन्द्र खड्काले गीता पढेपछि आफूमा सकरात्मक ऊर्जा प्राप्त भएको सुनाए। ‘जीवनलाई सकरात्मक सोच लिएर अघि बढ्न सिकेँ’ उनले भने। 

गीता पढ्न कुनै धर्मको प्रचार गर्न नभई हाम्रो सभ्यताको प्राचीन ज्ञान, तत्कालीन वैज्ञानिक र व्यवहारिक ज्ञान उपयोगी भएकोले अरुलाई उपहार दिने गरेको डा. शर्माले बताए।

दुई वर्षदेखि वितरण गर्दै आएका शर्माले पुस्तक भने बुढानीलकण्ठ स्थित गीता मन्दिर वाट किनेर ल्याएर उपहार दिएका हुन। दुई वर्षभित्र १ हजार थान उपहार दिने लक्ष्य लिएका उनले थप  संख्यामा उपहार दिँदै जाने इच्छा रहेको बताए। उपहार दिएको गीता कम्तीमा एक जना मानिसकोमा पुग्यो भने केही न केही ज्ञान प्राप्त भई मानिसहरू आनन्दित बनाउने उनको उद्देश्य हो। डा. शर्मा भन्छन्, ‘म मन्दिर जाऊ भन्दिन, राधे–राधे जाऊ भन्दिन तर गीता पढ भन्छु।’

गीता पढेपछि आफूमा पनि परिवर्तन आएको डाक्टर शर्मा बताउँछन्। त्यो हो कर्म गर फलको आशा नगर भन्ने गीताको सारले प्रभावित बनेका हुन। ‘गीताले हल्लेर हिँड भनेको छैन, मैले सकुन्जेल मेरो कर्म गर्छु, यति वर्षमा यति कमाउँछु, उति कमाउँछु भन्ने अपेक्षा राखेको छैन’उनले भने। कर्म गरेपछि स्वतः तः फल मिल्ने तर फल पाउनै पर्छ भन्ने अपेक्षाले मानिसमा दुःखको कारण बन्ने उनले बताए। तीन वर्ष अघि टिचिङ अस्पताल महाराजगंञ्जबाट अवकाश लिइसकेका डा. शर्मा यतिखेर महाराजगन्ज स्थित एक निजी क्लिनिकमा काम गर्छन्। बाँकी समय चिकित्सा शिक्षा अध्ययन संस्थानमा नियमित अध्यापन गर्छन्।

प्रकाशित: १३ असार २०८१ १६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App