२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

हेमकुमारीको उपचारमा आर्थिक समस्या, समयमै शल्यक्रिया नगरे ज्यानै जाने जोखिम

हेम कुमारी सुनुवार, उमेरले १९ वर्ष पुगिन्। तर, कलिलै उमेरमा मेरुदण्डको क्यान्सरले उनलाई जीवनमरणको सीमा रेखामा पुर्‍याइदिएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिका वाड नम्बर १ नयाँगाउँकी हेम कुमारीलाई क्यान्सर देखिए पछि उनलाई अस्पताल भर्ना गरियो। तर, उनको उपचारमा आर्थिक पाटो समस्याको रुपमा देखा परेको छ।

गत जेठ १८ गते हेमकुमारीलाई काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरियो। गरीब परिवारमा जन्मिएकी हेमकुमारीको क्यान्सरको उपचारका लागि झन्डै ८ लाख खर्च लाग्ने अस्पताल प्रशासनले बताएको छ। तर, परिवारसँग त्यति ठूलो रकम नहुँदा अहिले हेमकुमारीको शल्यक्रिया हुन सकेको छैन।

हेमकुमारीको तत्काल शल्यक्रिया नगरे उनको मृत्यु समेत हुन सक्ने चिकित्सकहरूले बताएका छन्। तर, उपचारका लागि आवश्यक पर्ने रकम जोहो गर्न नसक्दा उनी अहिले अस्पतालको बेडमा जीवन र मृत्युसँग लडिरहेकी छिन्।

कक्षा १२ मा अध्ययनरत हेमकुमारीको उपचारमा आर्थिक अभाव भएपछि परिवारजनले सहयोगको अपिल गरिरहेको छ। तर, ठूलो रकम भएका कारण परिवारलाई उक्त रकम जुटाउन सकस भइरहेको छ।

‘छोरीछोरीको पढाइको खर्च चलाउनै मूस्किल छ। ज्याला मजदूरी गरेर अहिलेसम्म छोरीछोरीलाई स्कुल पठाउँदै आएका छौं’ हेमकुमारीका बुबा ज्ञान बहादुर सुनुवारले दुखेसो पोखे।

‘छोराछोरीकै भविष्य पर्खि दुःख कष्ट गर्दै थियौँ। गरिखान सक्ने उमेर पुगेकी छोरी यसरी थला परेपछि हातमुख जोड्न जोहो गर्नु कि उपचार खर्च जुटाउनु, हामीलाई यो पीडाले थप पीडा थपिदिएको छ’, गहभरी आँसु टिलपिलाउँदै सुनुवारले भने।

उनले आफ्नी छोरीको प्राण बचाइदिन सबैमा अनुरोध गरेका छन्। परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको भन्दै उनले घरको खर्चबाट उपचार हुने सम्भव नदेखिपछि सबैलाई सहयोगका लागि अपिल गरिरहेका छन्।

क्यान्सर पीडित हेमकुमारीले अस्पतालको बेडबाटै रुँदै भनिन्, ‘आफूलाई बाँच्ने रहर छ। विद्यालयका आफ्ना साथीसँगै पढ्ने धोको छ। मेरो जीवन रक्षाका लागि सबैले उपचारमा सहयोग गरिदिए म बाँच्न सक्छु।’

यसैबीच, हेमकुमारीको जीवन रक्षाका लागि वडा नम्बर १ मा  ‘हेम कुमारी सुनुवार बचाऊ’ अभियान सञ्चालन गरिएको छ। जनकल्याण नि.मा.वि का शिक्षक प्रकाश जि.पीका अनुसार अहिले गाउँहरूले नै उपचारमा सहयोगका लागि अपिल गरिरहेका छन्।

उनले भने ‘एक थुकी सुकी सय थुकी नदी भने झैँ तपाईं हामीले गरेको दुई चार रुपैयाँले कसैको जीवन बचाउन सहयोग पुग्छ भने किन नगर्ने ? नानी हेमको जीवन रक्षार्थ अभियान सञ्चालन गरेका छौँ, यस अभियानमा सबैले सक्दो सहयोग गरिदिनुहुने आशा छ।’  

घरको आर्थिक अवस्था निकै नाजुक रहेको भन्दै उपचारका लागि शिक्षक जि.पीले सहयोगको याचना गरेका छन्।

प्रकाशित: ९ असार २०८१ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App