२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अन्तर्राष्ट्रिय योग दिवस: फेवाताल किनारमा योग प्रदर्शन

दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरास्थित फेवाताल किनारामा योग प्रदर्शन गरिएको छ। स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भारतीय दूतावासले फेवाताल किनारमा योग प्रदर्शन आयोजना गरेको हो । कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी, विभिन्न स्थानीय योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी सदस्य लगायत स्थानीय समुदायको उत्साहजनक सहभागीता रहेको थियो ।  

विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधिहरु प्रस्तुत गरिएको सो कार्यक्रम अनुभवी प्रशिक्षकको नेतृत्वमा योग सत्रको श्रृङ्खलासँगै बिहान सबेरैबाट सुरु भएको थियो । शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र मानसिक फाइदाहरुबारे जानकारी दिइएको थियो ।  

भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको पनि आयोजना गऱ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उप–कुलपति प्रोफेसर प्रेमनारायण अर्यालले विचारशील र स्वस्थ जीवन जीउन योगका फाइदाहरु खोज्न कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रोत्साहित गरेका थिए।  

प्रख्यात योग प्रशिक्षकहरुले योगका फाइदा र दैनिक जीवनमा विशेष गरी युवाहरुका लागि यसको व्यावहारिक उपयोगिता बारे प्रष्ट्याएका थिए। आयुर्वेद र योगलाई दैनिक जीवनमा समावेश गर्ने बारे बहुमूल्य जानकारी र सल्लाह दिएका प्रख्यात आयुर्वेदविज्ञका परामर्शबाट पोखरा विश्वविद्यालयका विद्यार्थी तथा सङ्काय पनि लाभान्वित भएका थिए ।  

प्रकाशित: ५ असार २०८१ १८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App