१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

डाक्टरको भेलामा मुख्यमन्त्रीको अभिव्यक्तिः डाक्टरले पनि मान्छे मार्छ

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चिकित्सकहरूले पनि मान्छे मार्ने गरेको अभिव्यक्ति दिएपछि विवादीत बनेका छन्।

नेपाल चिकित्सक सङ्घको जनकपुर शाखाद्वारा आइतवार आयोजित हेल्थ समिटमा सम्बोधन गर्ने क्रममा उनले भगवानको रुपमा मानिने चिकित्सकले नै बिरामी मार्ने गरेको बताएपछि विवाद उत्पन्न भएको हो।

हेल्थ समिटको सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री यादवले वीरगञ्जको एउटा उदाहरण दिँदै बिरामीलाई जबरजस्ती डाक्टरले इन्डोस्कोपीका लागि मुखबाट पाइप छिराएको र त्यो बिरामीको भोलिपल्ट नै मृत्यु भएको बताएका थिए।

उनले वीरगञ्जको तराई हस्पिटलमा रुघाखोकी लागेर भर्ना भएका एकजना बिरामीलाई चिकित्सकले जानाजान मारेको भन्दै शनिवारका दिन अस्पतालमा चिकित्सक नै नआउने चलन रहेको बताए।

उनले भने, ‘हेल्थ समिटमा भेला भएका तपाईँ चिकित्सकहरूलाई देखे पछि चिकित्सकहरूले पनि बिरामीको मुखमा जबरजस्ती पाइप छिराएर मारेको घटना स्मरण भएको छ। जसलाई भगवनको रुपमा लिइन्छ उसैले बिरामीलाई मारेको कुरा अझै आफ्नो मानसपटलमा ताजै छ।’

मुख्यमन्त्री जस्तो पदमा बसेका व्यक्तिले सबै चिकित्सकलाई एउटै तराजुमा राखेको भन्दै चिकित्सकहरूले उनको राजीनामा माग गरेका छन्।

घटना के हो भन्नेबारे सत्यतथ्य बुझ्नु पर्ने र आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्ने बाटो खुला रहेको कुरा मुख्यमन्त्रीले नबुझि सबै चिकित्सकलाई एकै ठाउँमा हत्यारा भन्नु उचित नभएको चिकित्सकहरूको भनाइ छ। 

प्रकाशित: २१ फाल्गुन २०८० १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App