२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अक्सिजनमा आत्मनिर्भर बन्यो भरतपुर अस्पताल

कोरोना भाइरस महामारीको समयमा देशभर अक्सिजनको चरम अभाव थियो। यसबाट भरतपुर अस्पताल पनि अछुतो थिएन्। अस्पताल प्रशासनलाई अक्सिजन जोहो गर्दैमा रात दिन जान्थ्यो। चिकित्सक पेसामा लागेदेखि कोभिड–१९को समयमा अक्सिजन व्यवस्थापन गर्नु सबैभन्दा अफ्ठयारो परिस्थिति बनेको अस्पतालका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष डा.भोजराज अधिकारी बताउँछन्।

‘एकै पटक ५० सिलिन्डर प्रयोग हुन्थ्यो। त्यो एक घण्टामा सकिँदै छ भन्ने थाहा हुन्थ्यो। यहाँ आउने भनेको अक्सिजन अन्यन्त्र गइरहेको हुन्थ्यो। त्यो एक डेढ घण्टाको बिच निकै तनाव हुन्थ्यो,’ पूर्व अध्यक्ष डा. अधिकारीले विगत सम्झँदै भने, ‘अक्सिजन र बिरामी व्यवस्थापनमा नै रात भरी सुत्न पाइँदैनथ्यो।’ कोरोना भाइरसको दोस्रो लहरको समयमा अस्पताललाई अक्सिजन व्यवस्थापन गर्न कठिन भएको थियो। त्यो अभावबाट पाठ सिक्दै अस्पतालले विषम परिस्थितिलाई पुग्ने गरी आफैँ अक्सिजन उत्पादन गरेको छ।

अहिले दैनिक २ सय ५० सिलिन्डर उत्पादन गर्ने प्लान्ट निर्माण गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले बताए। गैर आवासीय नेपाली संघ(एनआरएनए)को सहयोगमा दैनिक १ सय ७५ सिलिन्डर उत्पादन गर्न सक्ने अक्सिजन प्लान्ट निर्माण भएको छ। यसअघि हामीसँग दैनिक ७५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट थियो,’ उनले भने ‘अब हामी अक्सिजन किन्न बाहिर जानु पर्दैन।’ कोरोनाको समयमा २ सय ३० वटा सिलिन्डर बाहिरबाट ल्याउने गरिएको थियो। अहिले यहाँ दैनिक १ सय सिलिन्डरको हाराहारीमा अक्सिजन खपत हुने उनले बताए। दुःख गरेर कमाएर दिएको पैसालाई आफूहरूले सदुपयोग गर्ने उनले बताए।

एनआरएनएको ६९ हजार ८ सय ६ डलर र अस्पतालको करिब रु २० लाखको लगानीमा नयाँ प्लान्ट निर्माण गरिएको हो। अनौपचारिक रुपमा ६ महिना अघिदेखि सञ्चालनमा आएपनि एनआरएनएको सहयोगमा निर्माण भएको प्लान्टको औपचारिक रुपमा शुक्रबार हस्तान्तरण गरिएको छ। प्लान्ट हस्तान्तरण गर्दै एनआरएनएका महासचिव डा.केशव पौडेलले नेपाल बाहिर भएपनि जन्मस्थानसँग जोडिनको लागि सहयोग गरिएको बताए।

‘कोरोनाको समयमा अक्सिजन अभावका कारण कति मानिसहरूले ज्यान गुमाए, दीर्घकालीन सोचका साथ हामीले  प्रत्येक प्रदेशमा अक्सिजन प्लान्ट निर्माण गर्ने योजना बनाएका थियौँ,’ उनले भने बागमती प्रदेशमा हामीले भरतपुर अस्पताललाई रोज्यौँ।’ तत्कालीन समयमा नेपाल सरकार, भरतपुर अस्पताल र एनआरएनएको त्रिपक्षीय सम्झौता अनुसार निर्माण गरिएको उनले बताए। एनआरएनएले पर्यटन, शिक्षा, स्वास्थ्य, विद्युत् लगायतको क्षेत्रमा लगानी गरेको उनले बताए।

नयाँ प्लान्ट निर्माण गर्न करिब १ करोड खर्च भएको अस्पतालले जनाएको छ। अस्पतालका व्यवस्थापन समिति अध्यक्ष राजु पौडेलले अक्सिजन प्लान्ट निर्माण गरिदिएकोमा धन्यवाद व्यक्त गरे। अहिले अस्पतालका प्रत्येक शय्यामा अक्सिजनका पाइप जोडिएको छ। अक्सिजन आफैँ उत्पादन गर्न थालेपछि दैनिक करिब ६१ हजार रुपैयाँ बचत भएको अस्पतालका बायो मेडिकल इन्जिनियर तुलसी खनालले जानकारी दिए। अहिले नयाँ प्लान्ट मात्र सञ्चालन गरिएको छ। पुरानो प्लान्टबाट पनि उत्पादन गरेर अक्सिजन बिक्री गर्न सकिने उनको भनाई छ। तर, अस्पताल विकास समितिबाट निर्णय हुनुपर्ने इन्जिनियर खनाले बताए। अहिले विशेष परिस्थिति आउन सक्ने भन्दै टेन्डरको प्रकृया भने खुल्ला नै राखेको उनले बताए। सङ्घीय सरकार मातहत रहेको यस अस्पतालमा ६ सय शय्या रहेका छन्। यहाँ दैनिक १ हजार ५ सयको हाराहारीमा बिरामी उपचार गर्न आउने गर्दछन्। 

प्रकाशित: २६ आश्विन २०८० १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App