२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

जापानले धुलिखेल अस्पतालको स्तरोन्नति गर्न ३ अर्ब अनुदान दिने

धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तारका लागि जापान सरकारले अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा बिहीबार भएको एक कार्यक्रममा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि जापानका राजदूत किकुता युताकाको उपस्थितिमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपाल कार्यालयका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे।

‘धुलिखेल अस्पताल ट्रमा एन्ड इमर्जेन्सी सेन्टर सुधार परियोजनामा करिब दुई अर्ब ९५ करोड (३ हजार ३९६ मिलियन जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने सम्झौता भएको छ,ु सम्झौतापछि उपलब्ध गराइएको विज्ञप्तिमा भनिएको छ। परियोजना कार्यान्वयनपछि दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आइसियु र बाहिरी बिरामी परामर्श कक्षसहितको ट्रमा तथा आपतकालीन केन्द्र निर्माण गरी एमआरआई, सिटीजस्ता चिकित्सा उपकरण उपलब्ध गराएर चिकित्सा सेवालाई सुदृढ हुनेछ। सो आयोजनाको कुल कार्यान्वयन अवधि ४८ महिना रहेको छ। प्रस्तावित अनुदान सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ससर्त अनुदानका रूपमा परिचालन गरिनेछ।

नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा जापान सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिँदै अर्थ सचिव पुस्करले सो परियोजनाको कार्यान्वयनले विशेषगरी धुलिखेल र आसपासका बिरामीहरूलाई आपतकालीन सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। नेपालका लागि जापानी राजदूत किकुताले सो परियोजनाले स्वस्थ जीवन सुनिश्चित गर्न र नेपाली जनताको हितलाई प्रवद्र्धन गर्न सहयोग पु‍¥याउने विश्वास व्यक्त गरे।

प्रकाशित: १९ आश्विन २०८० ०२:०२ शुक्रबार

धुलिखेल अस्पताल