२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, माइतीघरमा भेला हुँदै देशभरका चिकित्सक

आफूहरू असुरक्षित महसुस गरिरहेको भन्दै आन्दोलनमा उत्रिएका आवासिय चिकित्सकहरूले आज चौथो दिनपनि आन्दोलन जारी राख्ने भएका छन्।

एकपछि अर्को गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिटको घटनाले ज्यानको असुरक्षा बढेको र अस्पतालमा काम गर्ने वातावरण नभएको भन्दै देशभरका आवासिय चिकित्सकहरू आन्दोलनमा छन्।  

आज साढे १० बजे माइतीघर मण्डलामा भेला भएर आफ्ना माग सम्बोधनका लागि सरोकारवाला निकायलाई दवाव दिने कार्यक्रम रहेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले जनाएको छ।

विशेषगरी पोखराको मणिपाल शिक्षण अस्पतालमा लमजुङकी एकजना बिरामीको मृत्यु पछि अस्पताल तोडफोडदेखि डाक्टरलाई कुटपिट गरेको घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलन थप चर्केको हो।  

अझैपनि मृतक पक्षको तर्फबाट भन्दै केही समूहले अस्पताल घेराउ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बाहिर निस्कन नदिने भन्दै ताकिताकी प्रहार गर्ने क्रम नरोकिएको भन्दै मणिपाल अस्पतालका आवासिय चिकित्सकहरू काठमाडौं आइपुगेका हुन्।  

आवासिय चिकित्सकहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन देशका अन्य अस्पतालमा रहेका आवासिय चिकित्सकहरू पनि काठमाडौँ आइपुगेका छन् भने अझै आउने क्रम जारी रहेको सङ्घर्ष समितिका एकजना सदस्य डा.दिक्षान्त आचार्यले बताए।

उनका अनुसार अस्पतालमा सुरक्षा नभएको हुँदा आफूहरू काठमाडौँ आएको र अब यहिबाट आन्दोलनको कार्यक्रम अघि बढाउने बताए।  

उनले सरकारले हालसम्म स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाका लागि भन्दै जारी गरेको ऐन कार्यान्वयनमा नआएको हुँदा त्यसलाई कडा रुपले कार्यान्वयनमा ल्याउन र ‘जेल विथ आउट बेल’ को आधारमा कारबाही गनुपर्ने मुख्य माग रहेको उल्लेख गरे।

यसैबीच, मणिपाल अस्पताल प्रशासनले अस्पतालमा अन्य बिरामीको सेवाका लागि भन्दै पीडित पक्षसँग सहमति गरेपनि आकस्मिक बाहेकका सेवा ठप्प नै रहेको जनाएको छ।  

प्रकाशित: १२ आश्विन २०८० ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App