२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

खिया लागेको टोमाथेरापीको सट्टामा नयाँ आउँदै

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका लागि ६ वर्षअघि खरिद भएको टोमाथेरापी मेसिनमा खिया लागेर प्रयोगविहीन भएपछि सम्बन्धित कम्पनीले सट्टामा नयाँ टोमाथेरापी दिएको छ। नयाँ टोमोथेरापी सुक्खा बन्दरगाह वीरगन्जमा आइपुगेको उपकरण आयातकर्ता कम्पनी लाइफ लाइन ट्रेड इन्टरनेसनल प्रालिले जनाएको छ। मन्त्रिपरिषद्ले करछुटको निर्णय गरेपछि नेपाल आइपुग्ने लाइफ लाइनका सञ्चालक सुरेन्द्र नायरले बताए।  

एक वर्षको अवधिमा पुनः नयाँ टोमोथेरापी मेसिन ल्याउन लागिएको हो। गत वर्ष आयातकर्ता कम्पनीले नयाँ उपकरण लिन प्रक्रिया अघि बढाएको थियो। २०७७ सालमा उपकरण जडान गर्न भनी आएको इन्जिनियरको टोलीले मेसिनमा खिया लागेर प्रयोग गर्न सकिने अवस्थामा नभएको जानकारी दिएका थिए। वीर अस्पतालमा बंकर नबनेको र राख्ने ठाउँ नभएपछि प्रालिले सशस्त्र प्रहरी बल बलम्बुमा भण्डारण गरेको थियो। सुरक्षित भण्डारण हुन नसकेर खिया लागेपछि जडान गर्न नमिल्ने भन्दै इन्जिनियरको टोली फिर्ता गएका थिए। पुरानो कोभाल्ट रेडियोथेरापीमा जस्तो विकिरण फैलिने खतरा नभएकाले यो खिया लागेको टोमोथेरापी नेपालमै नष्ट गरिने आयातकर्ता कम्पनीका सञ्चालक नायरले बताए। विकिरणको जोेखिम नभएकाले त्यसलाई नेपालमा सहजै नष्ट गर्न सकिने वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख तथा रेडियोलोजिस्ट डा. विवेक आचार्यले बताए।  

सुरक्षित भण्डारण हुन नसकेर खिया लागेपछि जडान गर्न नमिल्ने भन्दै इन्जिनियरको टोली फिर्ता गएका थिए। पुरानो कोभाल्ट रेडियोथेरापीमा जस्तो विकिरण फैलिने खतरा नभएकाले यो खिया लागेको टोमोथेरापी नेपालमै नष्ट गरिने आयातकर्ता कम्पनीका सञ्चालक सुरेन्द्र नायरले बताए।

६ वर्षअघि वीर अस्पतालका लागि भनेर लिइएको टोमाथेरापी मेसिन लिएको सो मेसिनको मूल्य ४० करोड रूपैयाँ थियो। सट्टामा लिँदा भने नेपाल सरकारले कुनै पनि भार वहन गर्नुनपरेको नायरले बताए। ‘सट्टामा लिँदा उत्पादक कम्पनी र आयात कम्पनीको खर्च भएको छ, सरकारलाई कुनै आर्थिक भार परेको छैन,’उनले भने। नयाँ टोमोथेरापीको मूल्य भने ४२ करोड ७ लाख ६३ हजार नेपाली रूपैयाँ अर्थात् ३२ लाख अमेरिकी डलर परेको कम्पनीले जनाएको छ। वीर अस्पतालका लागि भनेर लिए पनि जडान नगरी नै खिया लागेको हुनाले मेसिन बिग्रनुमा वीर अस्पताल र नेपाल सरकारको कुनै भूमिका नरहेकाले आयातकर्ता कम्पनीले नै बेहोरेको अस्पतालका उपसचिव सागर मिश्रले बताए। टोमोथेरापी अमेरिकन उत्पादक कम्पनी एकुरम इन्टरनेसनलले निर्माण गरेको थियो।  

अस्पतालमा रहेको पुरानो रेडियोथेरापी कोभाल्टको विकिरण निष्क्रिय गर्न र बंकर बनाउने प्रक्रियामा लामो समय बितेकाले टोमोथेरापी समयमै जडान हुन सकेको थिएन। यो उपकरण पुरानो रेडियोथेरापी कोभाल्ट राखेकै ठाउँमा राख्नुपर्ने भएकाले नयाँ बंकर निर्माण र पुरानो कोभाल्ट निष्क्रिय पार्ने प्रक्रियामै दुई वर्ष बितेपछि टोमोथेरापी भनेको समयमा जडान हुन सकेको थिएन। वीर अस्पतालमा भण्डारण गर्ने ठाउँको अभावमा कम्पनीले सशस्त्र प्रहरी बलको अस्पताल हाताभित्र राखेको थियो। त्यसपछि कोभिड १९ को महामारीका कारण पनि समयमै टोमोथेरापी जडान हुन सकेको थिएन।  

टोमोथेरापी क्यान्सरका बिरामीका लागि उपचार रेडियोथेरापी दिने प्रविधि हो। यो उपकरणले क्यान्सर भएको ठाउँमा मात्र केन्द्रित भएर रेडियसन दिन्छ। यो प्रविधिबाट रेडियसन दिँदा क्यान्सरग्रसित कोष र ट्युमरमा पनि विकिरण दिने भएकाले राम्रो कोषलाई असर गर्दैैन। सिटी गर्दै क्यान्सरग्रस्त ससाना क्यान्सरग्रस्त कोष खोजी विकिरण दिइने भएकाले यो प्रविधिको उपचार परम्परागत रेडियोथेरापीको तुलनामा आधुनिक र लाभदायक मानिन्छ।  

वीरगन्ज सुक्खा बन्दरगाहवाट उपकरण आएपछि छिटोभन्दा छिटो जडान भई सञ्चालनमा आउने सम्भावना रहेको अस्पतालका सहसचिव मिश्रले बताए। ‘तीन महिना पहिल्यै पनि सञ्चालनमा आउन सक्छ,’उनले भने। यो उपकरणले दैनिक ६० जनाभन्दा बढी बिरामीलाई सेवा दिन सकिने अन्कोलोजी विभागका प्रमुख आचार्यले बताए। तर यसको क्षमताअनुसार सेवा दिन थप चार जना रेडियोटेक्नोलोजिस्ट आवश्यक पर्ने हुनाले अस्पतालले थप जनशक्ति व्यवस्थापन गर्नुपर्ने विभागका प्रमुख डा. आचार्य बताउँछन्। कम शुल्कमा सेवा दिने भएकाले विपन्न बिरामी र सबै क्यान्सरका बिरामीको लागि सहज पहुँच हुने अस्पतालले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८० ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App