२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

जुम्लाको सिंजा पूर्ण खोप सुनिश्चित घोषित

जुम्लाको सिंजा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।

पालिकाभित्रका ६ वटै वडाका खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप लगाएपछि सिंजालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

पूर्ण खोप जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिना भित्रका बालबालिका पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्नका लागि हरेक वर्ष खोप सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए।

उनका अनुसार खोपबाट धेरै किसिमका रोगबाट बच्ने भएकाले हरेक बालबालिका नछुटाएर खोप लगाउनु पर्ने हुन्छ। खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ।

स्वास्थ्य शाखा प्रमुख रोकायाले अहिले बालबालिका खोज र खोप भन्ने नीति रहेको सुनाए। कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु हुँदैन भन्ने मान्यता गाउँपालिकाको रहेको छ।

गाउँपालिकाको-१ धाँपा स्वास्थ्य चौकीमा शून्यदेखि १५ वर्षसम्मका ४१ जना र १६ देखि २३ महिनासम्म ४६ जनालाई पूर्ण खोप लगाएका छन्। वडा-२ आधारभुत स्वास्थ्य केन्द्र विष्टवाडामा शून्यदेखि १५ महिनासम्मका २९ जना र १६ देखि २३ महिनासम्मका ३१ जनालाई पूर्ण खोप लगाइएको छ। वडा नम्बर ३ नरोकोट स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ४३ जना र १६ देखि २३ महिनासम्मका ४५ जनालाई खोप लगाइएको छ। पालिकाको आधारभूत स्वास्थ्य केन्द्र देविडाडामा शून्यदेखि १५ महिनासम्मका १४ जना र १६ देखि १६ महिनासम्मका २६ जना र १६ देखि २३ महिनासम्मका ३३ जना बालबालिकालाई पूर्ण खोप लगाएको छ।

शनि गाउँ स्वास्थ्य चौकीमा शून्यदेखि १५ महिनासम्मका ३५ जना र १६ देखि २३ महिनासम्मका ४१ जना बालबालिकालाई खोप लगाएको हो। आधारभूत स्वास्थ्य केन्द्र दातमा शून्यदेखि १५ महिनासम्मका ३८ जना र १६ देखि २३ महिनासम्मका ४० जनाले खोप लगाएका छन्। शून्यदेखि १५ महिनाका २ सय १२ जना र १६ देखि २३ महिनासम्मका २ सय ३७ जना गरी ४ सय ४९ जनालाई पूर्ण खोप लगाएर पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको रोकायाले बताए।

सबै वडाका खोप उमेर समूहका बालबालिकाले पूर्ण खोप लगाएको हुनु पर्नेछ। खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएका कारणले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप नछुटाई लगाउनु पर्दछ।

स्वास्थ्य र शिक्षा क्षेत्रमा स्थानीय सरकार संवेदनशील भएको सिंजा गाउँपालिकाले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८० १४:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App