२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मोरङमा फागुन ११ गते देखि हात्तीपाइले विरुद्धको अभियान

मोरङमा फागुन ११ गते देखि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान सञ्चालन गरिने भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलन गरी मोरङमा १२ औं पटक हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियान फागुन ११ गते देखि सञ्चालन गर्न लागिएको जानकारी दिएको हो। 

हरेक वर्ष हात्तीपाइले विरुद्धको अभियान चलाईएपनि अहिलेसम्म औषधि प्रयोगको अवस्था कमजोर देखिएको र हात्ती पाईले रोगका संक्रमितहरू पनि फेला परिरहेकाले १२ औं पटक अभियान सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहेताले बताए। मेहेताका अनुसार मोरङमा नियमित रुपमा औषधि सेवन गर्नेको संख्या निक्कै थोरै रहेको जनस्वास्थ्य कार्यालय मोरङले गरेको अध्ययनले देखाएको छ। मोरङमा १० पटकसम्मको औषधि सेवन अभियान चलाइँदा नियमित ५ पटक औषधि सेवन गर्ने १६ दशमलव ७८ प्रतिशत रहेका छन्। यो नियमित ५ पटक औषधि सेवन गर्नेको तथ्याङ्क हो। दैनिक ज्यालादारी, मौसमी कामदारले औषधि सेवन नगरेका  मेहताले बताए। 

विगतमा हात्ती पाइले विरुद्धको २ वटा औषधि खुवाइँदै आएकोमा हाल तीन प्रकारका औषधि खुवाउन थालिएको मेहेताले जानकारी दिए। मेहताले भने‘यो औषधि दुई वर्ष लगातार खाएमा हात्तीपाइलेबाट बच्न सकिन्छ।’  औईभरम्याक्टिन, डाई–ईथाईलकारबामाजिन र अल्बेन्डाजोल हात्तीपाइले विरुद्धको औषधि हुन्। यी औषधिले मानव स्वास्थ्यमा  कुनै हानी नगर्ने डा मेहताले बताए। हात्तीपाइले विरुद्धको औषधिले अहिलेसम्म  कसैलाई कुनै हानि नगरेकोले निर्बाध औषधि सेवन गर्न डा मेहेताले आग्रह गरे।

मोरङ जिल्लाका ८ लाख नागरिकलाई औषधि खुवाउने कार्यालयको लक्ष्य छ।  मोरङमा ११ लाख २८ हजार ९ सय ५७ जना औषधि खान मिल्ने जनसंख्या छ।  दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरू, सिकिस्त बिरामीहरू, ओछ्यानबाट उठ्न कठिन वा कमजोर बनाउने शीघ्र वा दीर्घ रोग भएका बिरामीहरू, अस्पतालमा भर्ना भएका डायलाइसिस जस्ता चिकित्सा विधिहरूमा जीवन निर्भर हुने बिरामीहरूले हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न नहुने डा मेहेताले जानकारी दिए। 

मोरङमा एक सय १२ जना हात्तीपाइले रोगका बिरामी जनस्वास्थ्य कार्यालयको सम्पर्कमा छन्। यस्ता बिरामीहरू अझै धेरै भएकाले हात्ती पाइले रोग लागेका बिरामी खोज्ने अभियान पनि जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्न लागेको डा मेहेताले बताए। हात्तीपाइलेका संक्रमित खोज्ने अभियान सम्पन्न भएपनि मोरङमा कति बिरामी छन् भन्ने यकिन तथ्याङ्क आउने डा मेहेताले जानकारी दिए। 

प्रकाशित: २ फाल्गुन २०७९ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App