२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

इलाममा हात्तीपाइले रोगको अवस्था अध्ययन गरिने

हात्तीपाइलेबारे जानकारी गराइँदै। तस्बिर: भीम/नागरिक<br>

देशका विभिन्न जिल्लामा हात्तीपाइले रोगको अवस्था अध्ययन गरिने भएको छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले इलामसहित विभिन्न जिल्लामा यसको अध्ययन गर्ने भएको हो।

देशका ६४ जिल्ला हात्तीपाइलेको जोखिममा रहेको पछिल्लो तथ्यांक भएपनि अहिलेको अवस्था के छ भन्नेबारे विवरण संकलन गर्न लागिएको हो। केन्द्रका अनुसार हात्तीपाइलेको जीवाणु शरीरमा प्रवेश गरेको १० वर्षसम्ममा पनि लक्षण देखिनसक्ने भएकाले पुनः अध्ययन गर्न लागिएको हो। केन्द्रका रामबालक यादवले क्युलेक्स जातको लामखुट्टेका कारण सर्ने हात्तीपाइले नियन्त्रणका लागि विभिन्न चरणमा औषधिसमेत खुवाइसकिएको जानकारी दिए।

अझै पनि देशको १ करोड जनसंख्या हात्तीपाइलेको जोखिममा रहेको र ३० हजार जनामा हात्तीपाइलेकै कारण अपांगतासमेत भएको उनले बताए। हात्तीपाइलेकै असरले हाइड्रोसिलको समस्या देखिनेगरेको तर धेरैलाई यसबारे थाहा नभएको उनको भनाइ छ। ‘हात्तीपाइले नियन्त्रणका लागि ६ पटक (६ डोज) सम्म औषधि खुवाइसकिएको छ,’ उनले भने, ‘एउटै डोजले यसको जीवाणु नष्ट हुने ९० प्रतिशत सम्भावना हुन्छ तर अझै यसको पूर्ण नियन्त्रण भइसकेको छैन।’

नेपालले सन् २०३० सम्ममा यो रोगलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिन रणनीति लिएको छ। संसारभर करिब अढाई करोड पुरुषमा हात्तीपाइलेकै कारण अन्डकोष तथा डेढ करोडमा हात–खुट्टा सुन्निने समस्या देखिएको तथ्यांक छ। यो रोगले मानवशरीरको लिम्फ्याटिक प्रणालीलाई असर गर्ने र शरीरका अंग अस्वभाविक वृद्घि गराउने चिकित्सक बताउँछन्। रोग लागेपछि दुखाइ बढी हुने र अपाङ्गतासमेत निम्त्याउन सक्ने स्वास्थ्यकर्मीले बताएका छन्।

इलाममा हात्तीपाइलेका बिरामी अहिले छैनन्। केही वर्षअघिसम्म रहेका बिरामी निको भइसकेको तथ्यांक छ। तर, इलाममा आउँदो २७ र २८ गते केन्द्रको टोली इलाम आउने र हात्तीपाइलेका बिरामीको अवस्थाबारे तथ्यांक संकलन सुरु गर्ने भएको छ। ‘इलाममा पहिलो चरणको अध्ययन र २ पटक औषधि दिने काम यसअघि नै भइसकेको छ,’ यादवले भने, ‘अब दोस्रो चरणको हुँदैछ।’ जिल्लामा हात्तीपाइलेको जाँच गर्न विभिन्न विद्यालय छानिएका छन्।  

हात्तीपाइलेको अवस्था जाँच गर्न जिल्लाका ६३ विद्यालय छानिएका छन्। यादवले छानिएका विद्यालयमा बैठक गर्ने, शिक्षक–अभिभावकसँग सुसूचित मञ्जुरीनामा लिने, कक्षा १ र २ का विद्यार्थीको रक्त नमुना विद्यालयमै जाँच गर्ने बताए। उनले जाँचको परिणाम १० मिनेटमा उपलब्ध गराउने र जाँचिएका विद्यार्थीलाई १÷१ थान सिसाकलम र इरेजरसमेत दिइने, सबै गतिविधिको अभिलेख राख्ने, रक्त नमुना पोजिटिभ देखिए तत्काल उपचारका लागि स्वास्थ्य कार्यालयमा तथ्याङ्क उपलब्ध गराइ उपचारको व्यवस्था मिलाउने उनको भनाइ छ।

सन् २०१९ सम्ममा इलाममा ६० प्रतिशतले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालयका विमल बरालले बताए। उनका अनुसार केही वर्षअघिको तथ्यांकमा इलाममा प्रतिलाख १ जनामा हात्तीपाइलेको समस्या देखिएको थियो।

प्रकाशित: २४ माघ २०७९ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App