२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

खस्कँदो विद्यालय शिक्षामा हातेमालो गर्दै त्रिवि

समस्या मात्र होइन इच्छाशक्ति बलियो भए यही प्रणालीबाट समाधानका उपाय पनि निस्कन्छ भन्ने उदाहरण त्रिभुवन विश्वविद्यालयले दिएको छ। हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईमा ५२.१३ प्रतिशत अर्थात् साढे दुई लाख विद्यार्थी असफल नतिजाले सार्वजनिक शिक्षाको शैक्षिक स्तर खस्कँदै गएको अवस्था सार्वजनिक भएसँगै त्रिभुवन विश्वविद्यालयले हातेमालो गरी अघि बढ्ने उपाय खोजेको छ। त्यो उपाय हो– पियर मेन्टरिङ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले असार १३ गते प्रकाशित एसइई नतिजाले परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार तीन सय १३ अर्थात् ५२ प्रतिशत बढी अनुत्तीर्ण हुनुले नेपालको शिक्षा प्रणालीको गुणस्तरमाथि ठूलो प्रश्न उब्जिएकाले त्रिविले आफूसँग भएको जनशक्तिलाई विद्यालय शिक्षाको शिक्षण सिकाइमा प्रयोग गरी जनशक्ति व्यवस्थापन गर्न खोजेको जनाए।

एकातिर देशभरि माध्यमिक तहमा २५ हजार शिक्षक अपुग भएर विद्यार्थीले विषयगत शिक्षकविनै पठनपाठन गरी शैक्षिक सत्र पूरा गर्नुपर्ने बाध्यता छ भने अर्कातिर भएका शिक्षकबाट समेत राज्यले विद्यालय शिक्षाको पठनपाठनमा खासै सुधार ल्याउन सकेको छैन।

असफल हुने विद्यार्थी विषयगत रूपमा गणित, अंग्रेजी, विज्ञान, सामाजिक शिक्षा र नेपालीमा नै भएकाले विश्वविद्यालयले आफ्ना स्नातक र स्नातकोत्तर तहका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई पायक पर्ने विद्यालयमा गएर पठनपाठन गर्ने–गराउने निर्णय आइतबारै विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयले गरेको र सोहीअनुसार आंगिक र सम्बन्धन प्राप्त कलेजहरूलाई समेत परिपत्र गरिसकिएको शिक्षाध्यक्ष केसीले बताए।

‘एसइईमा साढे दुई लाख विद्यार्थी असफल हुँदा नेपालको समग्र विद्यालय शिक्षाको गुणस्तरमा ठूलो प्रश्नचिह्न उठेको छ’, शिक्षाध्यक्ष केसीले नागरिकसँग भने, ‘परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीमध्ये हालको कानुनी व्यवस्थाअनुसार ननग्रेड प्राप्त गर्ने परीक्षार्थीको ग्रेड वृद्धि परीक्षा साउन २३ देखि साउन ३१ सम्म हुने तय गरिएको छ।

सोही सन्दर्भमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीलाई लक्षित गरी त्रिविले आफूअन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा स्नातक र स्नातकोत्तर तहमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने निर्णय गरेको हो।’ 

उनले थपे,‘ शिक्षा मन्त्रालयको अनुरोध र आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रम र विनियोजन ऐन, २०८१ मा समेत समेटिएको साथी सिकाइ अर्थात् पियर मेन्टरिङ कार्यक्रममार्फत त्रिविले तत्कालै लागु गरेको हो।’ शिक्षाध्यक्षले त्रिविमा भएकै जनशक्ति राज्यलाई आवश्यक परेको बखत व्यवस्थापन गर्न खोजिएको बताए। 

‘त्रिविले आफ्ना विद्यार्थी परिचालन गरी सार्वजनिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय तथा निजी विद्यालयमा नेपाली र सामाजिक शिक्षा विषयमा मंगलबारदेखि कक्षाकोठामा शिक्षण सिकाइ गराइने छ’, उनले त्रिविको निर्णय सुनाए, ‘त्रिविका विद्यार्थीले आफ्नो पायक पर्ने स्थान र समयमा शैक्षिक सिकाइ सहयोग कक्षा सञ्चालन गर्ने व्यवस्था त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमार्फत हुने छ।

 निर्देशनालयले सम्बन्धित क्याम्पस प्रमुखलाई संयोजक तोकी त्रिविका सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आवश्यक कार्यान्वयनका लागि पहल गर्ने छ।’ उनले थपे, ‘त्रिविले आफूसँग भएको जनशक्ति राज्यलाई आवश्यक परेको समयमा माग भएअनुसार व्यवस्थापन गरी हातेमालो गरेको हो।’

राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडका अढाइ लाख विद्यार्थीको मौका परीक्षा साउन २३ देखि साउन ३१ सम्म सातै विषयमा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। यसअघि असार १३ को एसइई नतिजा प्रकाशन गर्दा बोर्डका अध्यक्ष शर्माले लेटर ग्रेडिङ निर्देशिका ०७८ अनुसार दुई विषयमा ननग्रेड प्राप्त गर्ने एक लाख १५ हजार आठ सय ३४ विद्यार्थीका लागि साउन १८ र १९ गते दुई दिनभित्र मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। 

तर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षामा सहभागी विद्यार्थीमध्ये अढाई लाख विद्यार्थी ननग्रेडमा पर्नु भनेको विद्यार्थीको दोष नभएर सम्पूर्ण शिक्षा प्रणालीकै दोष भएको निष्कर्ष निकाल्दै शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी लेटर ग्रेडिङ निर्देशिकासमेत संशोधन गरी विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिन ननग्रेडका सबै विद्यार्थी सहभागी गराउने निर्णय लिएर अभिभावकत्व भूमिका निर्वाह गरेको प्रस्ट भएको छ।

अध्यक्ष शर्माले मन्त्रालयको निर्णयअनुसार बोर्डले समेत ननग्रेडमा परेका सम्पूर्ण विद्यार्थीका लागि नौ दिनसम्म पुनः एसइई परीक्षा नै सञ्चालन गर्ने तयारी गरेको बताए। ‘बोर्डले प्रदेश परीक्षा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिको सहकार्यमा केन्द्र तोक्ने तयारी भइरहेको छ भने पुनः परीक्षाका लागि प्रश्नपत्र छपाइ अन्तिम तयारीमा छ’, अध्यक्ष शर्माले नागरिकसँग भने, ‘एसइई नतिजा प्रकाशन भएसँगै बोर्डमा रिटोटलिङ, ग्रेडसिट प्रिन्टको कामसँगै कक्षा १२ को नतिजा प्रकाशनको तयारीलगायत कामको चाप बढेकै बखत अब नौ दिनसम्म अढाइ लाख विद्यार्थीको पुनः एसइई सञ्चालन गर्नुपर्ने थप जिम्मेवारी आयो।’ उनले थपे, ‘बोर्ड आफ्नो जिम्मेवारी पूरा गर्ने तयारीमा जुटिसकेको छ।’

एकातिर साउन १५ देखि कक्षा ११ का विद्यार्थीको पठनपाठन सुरु हुने तय भएको छ भने अर्कातिर साउन २३ देखि मौका परीक्षामा सहभागिता जनाउने अढाई लाख विद्यार्थीको परीक्षा साउन ३१ मा सकिन्छ। अब नतिजाका लागि यी विद्यार्थीले फेरि तीन महिना कुर्नुपर्ने अवस्था छ। तर पनि एक शैक्षिक सत्र खेर जानुभन्दा तीन महिना ढिला भए पनि विद्यार्थीको शैक्षिक सत्र जोगिएकोमा विद्यार्थी खुसी बनेका छन्।

‘मौका परीक्षामा समेत ननग्रेड प्राप्त भए त्यस्ता विद्यार्थीले अर्को वर्ष मात्र ननग्रेड विषयको परीक्षा दिन पाउने छन्’, अध्यक्ष शर्माले सुझाए, ‘मन्त्रालयले विद्यार्थीलाई एकपटक अवसर दिएको हो। विद्यार्थीले अवसरको भरपूर उपयोग गरी अब मेहनत गरी परीक्षामा सहभागिता जनाउनु पर्छ।’

यसपटकको एसइईमा गणितमा सबैभन्दा एक लाख ७७ हजार नौ सय ८५ ननग्रेड अर्थात् असफल भएका छन्। यसैगरी अंग्रेजीमा एक लाख एक हजार तीन सय ८३, विज्ञानमा एक लाख २६ हजार नौ सय ३३, नेपालीमा ६९ हजार पाँच सय ३२ र सामाजिक शिक्षामा ७३ हजार आठ सय ७७ विद्यार्थी असफल भएका छन्। 

यसपटकको एसइईमा सामुदायिक विद्यालयतर्फका कुल तीन लाख ३१ हजार आठ सय ६७ सहभागी परीक्षार्थीमध्ये दुई लाख १३ हजार पाँच सय ३४ ननग्रेडमा परेका छन्। प्रतिशतमा हेर्दा ६४.३४ प्रतिशत सामुदायिकतर्फ ननग्रेड छन्। यसैगरी कुल परीक्षार्थीमध्ये निजी विद्यालयतर्फ कुल एक लाख ३२ हजार नौ सय १८ सहभागीमध्ये २८ हजार सात सय ७९ जनाले ननग्रेड प्राप्त गरेका छन्। प्रतिशतमा २१.६५ प्रतिशत हो।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा पशुपति अधिकारीले निर्देशनालयले सबै आंगिक र सम्बन्धन प्राप्त कलेजलाई परिपत्र गरिसकेको र सोहीअनुसार उत्कृष्ट विद्यार्थी छनोटका लागि कलेजले फाराम पनि वितरण सुरु गरेको जनाए। ‘विश्वविद्यालयले परिपत्र गरेअनुसार कलेजहरूले स्वयंसेवा गर्ने स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई फाराम भराएर शिक्षण सिकाइ सहयोग कक्षामा परिचालन गर्ने छ’, निर्देशक अधिकारीले भने, ‘युवा जमातमा स्वयंसेवक भावना र कक्षामा पढेको विषय व्यवहारमा उतार्न पाउने अवसर पनि हो।’

उनले थपे, ‘कलेजहरूले प्रगति विवरण मन्त्रालयले तोकेको ढाँचामा प्रविष्ट गरी साप्ताहिक रूपमा निर्देशनालयको वेबसाइटमा इमेल गर्नुपर्छ। निर्देशनालयले मन्त्रालयलाई बुझाउँछ। खासमा प्रश्नपत्रको कठिनाइ स्तरबारे अध्ययन विश्लेषण नगरी एसइई नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन गर्नु गलत हो। यो विद्यार्थी असफल होइन शिक्षा प्रणाली असफल हो ।’ त्रिविका अनुसार करिब १० हजार विद्यार्थी पियर मेन्टरिङमा सहभागी हुने विश्वास छ ।

प्रकाशित: १९ असार २०८१ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App