२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सिन्धुलीका १६ विद्यालयको नतिजा शून्य,२९ सय ५ जनाले पुन: परीक्षा दिनुपर्ने

तस्विर: सिन्धुलीको दुधौली नगरपालिकाको एक विद्यालय।

सिन्धुलीमा यस बर्षको एसईई परीक्षामा १६ ओटा विद्यालयको नतिजा शुन्य आएको छ। शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका अनुसार जिल्लाका १६ ओटा सामुदायिक विद्यालयको नतिजा शुन्य आएको हो। दुधौली नगरपालिकामा सबैभन्दा धेरै विद्यालयको नतिजा शुन्य आएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीले जनाएको छ।

सात गाँउपालिका र दुई नगरपालिका रहेको सिन्धुलीमा दुई नगरपालिका सहित ६ ओटा पालिकाकाका विद्यालयको नतिजा शुन्य आएको हो। एसईई परीक्षामा नतिजा शुन्य ल्याउने विद्यालयमा दुधौली नगरपालिकाको सिर्थौली मावि, मैनी टाडी, सुगारे, पोगटी, पंचरुखी, ककुरठाकुर, अरुणठाकुर,रतनपुर र राताटार गरी ९ विद्यालयको नतिजा शुन्य आएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेले जानकारी दिए। 

उनका अनुसार तीनपाटन गाँउपालिकाका तीन विद्यालयको नतिजा शुन्य रहेको छ। तीनपाटन गाँउपालिकाका मावि छरछरे,लङगुर,छविसे मावि र रिठ्ठे माविको नतिजा शुन्य रहेको छ।

यस्तै,हरिहरपुरगढी गाँउपालिकाको क्यानेश्वर माविको नतिजा शुन्य रहेको छ,भने मरिण गाँउपालिकाको  नकली माविको नतिजा शुन्य रहेको छ। यसैगरी कमलामाई नगरपालिका २ मा रहेको पिपलभन्ज्याङ माविको नतिजा र सुनकोसी गाँउपालिकाको कोटगाँउ माविको नतिजा शुन्य रहेको घिमिरेको भनाई छ।

लङगुर छविसे माविका विद्यार्थीहरुलाई कोचिङ शुल्क भन्दै पैसा उठाएर समेत आफ्ना बालबालिका फेल भएको भन्दै त्यहाँका अभिभावक समेत आक्रोशित बनेका छन्। विद्यार्थीलाई एसईई पास गराइदिने भन्दै पाँच सयका दरले प्रति विद्यार्थी पैसा असुलेको आरोप विद्यालयलाई लागेको छ।

तर विद्यालयले एसईई पास गराइदिने भनेर नभएर आफुहरुले कोचिङ शुल्क लिएको बताएको छ । जिल्लाबाट २३ ओटा संस्थागत विद्यालय र १ सय २२ ओटा सामुदायिक विद्यालय यस बर्षको एसईई परीक्षामा सामेल भएका थिए।

तर १६ ओटा विद्यालयको नतिजा शुन्य आएपछि सामुदायिक विद्यालयको नतिजा खस्किदै गएको स्थानिय बताउछन्। जिल्लाबाट ५२ सय ६४ जना सहभागी भएको एसईईको परीक्षामा यस बर्ष २३ सय ३४ जना मात्रै पास भएका छन्। २५ जना परीक्षामा सहभागि नभएको नतिजाले देखाएको छ भने २९ सय ५ जनाले पुन परीक्षा दिनुपर्ने भएको छ।

आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म हुने परीक्षामा २९ सय ५ जना नै सहभागी हुन पाउने भएकाले राम्रोसँग तयारी गरी पुन परीक्षा दिए पास हुने अवसर रहेको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख घिमिरे बताउछन्। केही सञ्चारमाध्यमले समेत एसईई परीक्षा तयारीका लागि पढाउन सुरु गरेकाले विद्यार्थीले पढ्नलाई समय दिनुपर्ने उनको भनाई छ। 

विशेष गरी विद्यार्थीहरुलाई सामाजिक, विज्ञान, गणित र अंग्रजी विषयमा नम्बर कम आएकाले ती विषयलाई थप राम्रोसँग तयारी गरी ग्रेड वृद्धि परीक्षामा सामेल हुनुपर्ने देखिएको शिक्षकहरु बताउछन्। शुन्य नतिजा पाउने विद्यालयहरुमा शिक्षक नेताकै हात रहेको स्थानीयहरुको भनाई छ। 

प्रकाशित: १८ असार २०८१ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App