२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

वन विज्ञान क्याम्पसको अत्याधुनिक भवन तयार

नवनिर्मित क्याम्पस भवन । तस्विरः महेश्वर चाम्लिङ राई/ नागरिक

विगत ६ वर्षदेखि अर्कैको भवनमा पठनपाठन गर्दै आएको प्राकृतिक स्रोत व्यवस्थापन (वन विज्ञान क्याम्पस) कटारीमा निर्मित आफ्नै नयाँ भवनमा सर्ने तयारीमा लागेको छ। भवन अभावमा कटारीस्थित उदय श्री वहुमुखी क्याम्पसको खाली समयमा पठनपाठन गराउँदै आएको वन विज्ञान क्याम्पसको आफ्नै भवन निर्माण सम्पन्न भएको हो।  

भवन तयार भएपछि क्याम्पस आफ्नै वहुकोठे अत्याधुनिक नयाँ भवनमा सर्ने तयारी गरिरहेको छ। क्याम्पसको नयाँ भवन कटारी नगरपालिका ५ बलाहामा निर्माण भएको हो। क्याम्पसले केहीदिनभित्रै आफ्नै भवनबाट पठनपाठन थाल्ने तयारी गरिरहेको व्यवस्थापन समितिका संयोजक केपी बरालले बताए । नयाँ भवन बनेसँगै क्याम्पसका लागि आवश्यक कम्पाउण्ड, छात्रावास निर्माणका लागि पनि पहल भइरहेको उनले बताए।  

कृषि तथा वन विज्ञान विश्व विद्यालय, वन विज्ञान सङ्कायमार्फत ६ करोड ४९ लाख ४ हजार रुपैयाँमा निर्मित भवन २०८० वैशाख २६ गते ठेक्का सम्झौता भएको हो।  

तोकिएको म्याद २ वर्ष भए पनि डेढ वर्षभित्रै निर्माण कार्य सम्पन्न भएको निर्माण कम्पनी कामाख्या कन्ट्रक्सन प्रालिका प्रतिनिधि समुन्द्र लामिछानेले बताए । लामिछानेका अनुसार भवन अभावमा पठनपाठनमा बाधा देखिएकाले छिटोछिटो काम गरेर निर्माण सक्नुपरेको हो।  

क्याम्पसमा निमित्तप्रमुख राजिव जोशीका अनुसार, ३ तले नयाँ भवनमा १२ कोठा छन्।  

क्याम्पसमा २ सय विद्यार्थी वन विज्ञान विषय अध्ययनरत रहेका छन् । सो क्याम्पसको स्वामित्वमा २९ बिघा २ कठ्ठा जमिन रहेको छ। भवन निर्माण सोही जमिनमा निर्माण भएको छ । भवनसँगै उक्त खाली जग्गामा क्याम्पसका अन्य थप संरचनाहरु निर्माण गर्दै जाने व्यवस्थापन समितिले जनाएको छ।  

प्रकाशित: ६ असार २०८१ १६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App