२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

दिलौरीमा बन्ने भो बहुप्राविधिक शिक्षालय

जुम्लाको सिंजा गाउँपालिका ६ अवस्थित भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ। स्थानीयले जग्गा पास गरेपछि बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको हो। सिटिइभिटीले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय बन्ने पक्का भएको हो।

जग्गा प्राप्तिपछि बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको सिंजा गाउँपालिका ६ का वडाध्यक्ष लालबहादुर बुढाले बताए। गाउँपालिकाले समन्वय गर्ने र भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्ने गरी आंगिक शिक्षालयकै रूपमा सिंजाको भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि स्वीकृत प्रदान भएको बुढाले बताए ।

हालसम्म १७ हजार १ सय ६५ वर्ग मिटर जग्गा प्राप्त भएको छ । बाँकी जग्गाका लागि पहल भइरहेको वडाध्यक्षले बताए। त्यसका लागि भाडगाउँका स्थानीयले झन्डै एक लाख वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउने छन्।

यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी सानोठिमी भक्तपुरले सिंजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटिइभिटी पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले बताए। उनले भने, ‘सोहीअनुसार प्राविधिक शिक्षालयको जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको हो।’

उनका अनुसार प्राविधिक शिक्षाले मान्छेलाई काम गरी खाने बनाउँछ। रोजगारीसमेत सिर्जना गर्ने प्राविधिक शिक्षा उत्पादनमुलकसमेत हुन्छ। भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्ने गरी आङ्गिक शिक्षालयका लागि बुधबार औपचारिक रूपमा जग्गा पास भएको सिंजा गाउँपालिकाकी उपाध्यक्ष शीतली रोकायाले बताइन्। ‘हामी बहुप्राविधिक शिक्षालयका नाममा जग्गा लिन सफल भएका छौं। अब चाँडै भर्ना लिने तयारी गरिरहेका छौं’, उनले भनिन्।

भौगोलिक रूपले विकट बस्ती भाडगाउँमा स्थापना सरकारले आफ्नै लगानीमा शिक्षालय स्थापना गर्ने भएपछि विपन्नका छोराछोरीका लागि प्राविधिक शिक्षा अध्ययन गर्न सहज हुने उपाध्यक्ष शीतली रोकायाले बताइन्।

‘लामो प्रयासपछि सिंजा गाउँपालिकामा स्थापना हुने बहुप्राविधिक शिक्षालयका निम्ति जग्गा पास गराउन हामी सफल भएका छौं’, उपाध्यक्ष रोकायाले भनिन्, ‘यसअघि पनि आङ्गिक शिक्षालय स्थापनाका लागि जग्गा पास गर्न पनि हामी सफल भएका थियौं।’

यसअघि बहुप्राविधिक शिक्षालय स्वीकृत गराउन जग्गा निःशुल्क प्रदान हुने व्यवस्था मिलाइएको थियो। समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्ने भएकाले यसतर्फ पहल गरिएको गाउँपालिकाले जनाएको छ। गाउँमै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने भरपर्दो शिक्षालय स्थापना हुने भएपछि यतिखेर सिंजाका बासिन्दा खुसी छन्।

प्रकाशित: १८ माघ २०८० ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App