२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

युनिग्लोब कलेजमा ‘क्रियटर्स च्याम्पियन’

नेपाल रिपब्लिक मिडियाले ‘क्रियटर्स च्याम्पियन’ कार्यक्रम बिहीबार काठमाडौंको युनिग्लोब कलेजमा आयोजना गरेको छ।

युवाहरूबाट देश बनाउने सोचको विकास गर्ने हेतुले आयोजना गरेको कार्यक्रममा विद्यार्थी तथा शिक्षकको बाक्लो उपस्थिति थियो। मिडियाले विगत केही समययता युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले ‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने नारासहित सुरुवात गरेको क्याम्पेनमा विद्यार्थीहरू निकै प्रफुलिल्त हुँदै सहभागी हुँदै आइरहेका छन्।

नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले आफूले कक्षा तीनदेखि विदेशमा अध्ययन गरे पनि देशको लागि केही नयाँ काम गर्न भन्दै फर्किएको बताइन्।

‘मैले कक्षा तीनदेखि भारत हुँदै अष्ट्रेलिया र बेलायत लगायतका मुलुकमा अध्ययन गर्ने अवसर पाए। उच्च शिक्षा हासिल गरेसँगै विदेशमा विभिन्न राम्रा खालका कामको अवसर पनि पाएकी थिए। तर, मुलुक र देश र जनताका लागि केही नयाँ काम गर्नुपर्छ भन्दै स्वदेशमा फर्किएकी हुँ,’ उनले भनिन्, ‘अहिलेका युवा पुस्ताहरूले पनि देशका लागि केही गर्छु भन्ने सोचसहित सत्कर्ममा लाग्नुपर्ने बेला भइसकेको छ।’

ज्ञवालीले जीवनमा आफ्नो उद्देश्य र लक्ष्यलाई साकार गर्ने गरी अघि बढेको खण्डमा सफलता हात पार्न सकिने बताइन्। ‘सही समयमा आफ्नो जीवनको लक्ष्य र उद्देश्य पहिचान गरेर अघि बढ्नुभयो भने पक्कै पनि लक्ष्य अनुसारको उपलब्धि हात पार्न कुनै समस्या आउँदैन।’

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आफू मिडियाको माध्यमबाट मुलुक बनाउने अभियानमा अग्रसर हुँदै आइरहेको बताइन्।

‘हामीले मिडियाको माध्यमबाट मुलुकलाई सुशासन र दिगो विकासको बाटोमा लैजाने प्रयत्न गर्दै आइरहेका छौं,’ उनले भने, ‘यसले पक्कै पनि भविष्यमा दिगो र विश्वासयोग्य पत्रकारिता क्षेत्रको विकासमा टेवा पुर्‍याउनेछ।’  

‘क्रियटर्स च्याम्पियन’ कार्यक्रममा सम्बोधन गर्दै पूर्वबैंकर अनिलकेशरी शाहले नेपालको इतिहासलाई विश्वभरि चिनाउने सन्ततिहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै आइरहेको बताए।

‘हाम्रो देशको इतिहासलाई विश्वभर चिनाउने सन्तति बढ्दै जानुभएको छ,’ उनले भने, ‘तपाईंहरूमाझ पनि मुलुकलाई विश्वमा चिनाउने खालका खुबी र क्षमता छ। त्यसलाई सही ढंगले उपयोग गरेर अघि बढ्नुहोला।’

युनिग्लोब कलेजका प्रिन्सिपल नरबहादुर विष्टले सबै मिलेर मुलुकको लागि केही सम्झनालायक काम गर्न विद्यार्थीलाई सुझाव दिए। ‘नेपाल रिपब्लिक मिडिया नवीनतम सोच र अभियान लिएर आउनुभएको छ। यो निकै प्रशंसनीय विषय हो,’ उनले भने, ‘तपाईं विद्यार्थीमाझ पनि केही न केही नयाँ सोच र अभिलाषा लिएर अघि बढ्नुभएको छ। त्यसलाई सही ठाउँमा उपयोग गर्ने बेला भइसकेको छ।’

प्रिन्सिपल विष्टले युनिग्लोबमा अध्ययनरत विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगितामा विभिन्न खालका उपलब्धि हासिल गर्दै आइरहेकाले क्रियटर्स च्याम्पियनमा पनि राम्रो गर्ने दाबी गरे। प्राध्यापक राधेश्याम प्रधानले नयाँ सोच र भिजन लिएर अघि बढेको खण्डमा पक्कै पनि सफलता हात पार्न सकिने बताए।

नेपाल रिपब्लिक मिडियाले यसअघि विराटनगर, बुटबल र काठमाडौंको एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र थेम्स कलेजमा क्रियटर्स च्याम्पियन कार्यक्रम सम्पन्न गरिसकेको छ। सो कार्यक्रममा विद्यार्थीहरूको बाक्लो सहभागिता रहँँदै आइरहेको छ।

मिडियाका अनुसार नेपाल बनाउने आफ्नो नवीन सोचमा आधारित उत्कृष्ट भिडियो बनाउनेलाई नगद तीन लाख रूपैयाँसम्मको पुरस्कारको व्यवस्था गरेको जनाएको छ। प्रतियोगितामा १६ देखि २६ वर्ष मुनिका युवा तथा विद्यार्थीहरू सहभागि हुन सक्नेछन्।

प्रकाशित: ६ पुस २०८० ०१:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App