२१ असार २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

माइक्रोप्लास्टिक आतंक

गत साता एक वैज्ञानिक जर्नलमा प्रकाशित समाचारले प्लास्टिक प्रदूषणको भयावह प्रभाव उजागर गरेको छ। प्लास्टिकका अत्यन्त स–साना कण अर्थात् माइक्रोप्लास्टिक पहिलोपटक पुरुषको गुप्ताङ्गमा पनि देखिएको छ। जनेन्द्रियको तन्तुमा पहिलो पटक भेटिएका यी विषाक्त कणको कहरबाट मानिसको शरीरको कुनै पनि भाग अछूतो नभएको देखिएको छ। मानिसको प्रजनन शक्तिसँग जोडिएको अंगमा यो तहको प्रदूषण हुनु पक्कै पनि चिन्ताको विषय हो। पछिल्लो अध्ययनले यी विषाक्त कणहरूले पुरुष अंगको उत्तेजनात्मक क्षमतादेखि यौन स्वास्थ्यलाई समेत गम्भीर असर गर्ने वैज्ञानिक तर्क छ। यसअघि अण्डाशय, विर्य, रगतलगायत शरीरका अन्य भागमा देखिएका यी कण जनेन्द्रियका तन्तुमा समेत देखिएको हो।

समयमै सचेत हुन नसकेमा यसले आगामी पिढीको भविष्यमा समेत प्रश्न चिह्न उठाएको छ। पाँच मिलिमिटरभन्दा कम व्यासका यी कण पृथ्वीको विविध पारिस्थितिक प्रणालीमा फैलिएका हुँदा यसले समग्र पर्यावरण र मानव स्वास्थ्यमा गम्भीर असर पारेको वैज्ञानिक मत छ। प्लास्टिकजन्य पदार्थहरू जैविक तथा रासायानिक प्रक्रिया (बायोकेमिकल प्रोसेस) मार्फत स–साना टुक्रामा टुक्रिएपछि खाद्यशृंखला (फुड चेन) मार्फत प्राणी जगत्मा पुग्छन्। विशेषगरी हावा, पानी र अन्य खाद्यवस्तुमार्फत मानिसले माइक्रोप्लास्टिक निल्छन्। कतिपय अध्ययनले मानिसको पाचन प्रक्रियाले यस्ता कणलाई शरीरबाट बाहिर निष्काशन गर्न नसक्दा यी विषाक्त कणहरू रगत र जीवकोषभित्र छिर्ने देखाएका छन्।

मानिसको विर्य र अण्डकोषमा माइक्रोप्लास्टिकको उपस्थिति हँुदा विर्यको संख्या र गुणस्तर लगातार घट्दै गएको विभिन्न अध्ययनले यसअघि नै देखाएका थिए। यसैगरी रगत प्रवाह गर्ने नली धमनीमा हुने माइक्रोप्लास्टिक प्रदूषणले मस्तिष्क घात (स्ट्रोक) र हृदयाघातको जोखिम बढेको पाइएको छ। त्यति मात्र होइन, यो खतरनाक पदार्थले मानिसको प्रतिरक्षात्मक क्षमतालाई नकारात्मक प्रभाव पार्ने र विभिन्नखाले क्यान्सरको संक्रमणसमेत हुने देखिएको छ। अमेरिकामा गरिएको अध्ययन नतिजाले मानिसले गरेको प्रदूषणले मानव प्रजनन क्षमतालाई कसरी प्रभाव पार्छ भन्ने विषयमा नयाँ आयाम थपेको छ। अध्ययनको आकारका हिसाबले यो सानो देखिए पनि यसले संकेत गरेको विषय भने अत्यन्त गम्भीर छ। अध्ययनका क्रममा लिंगमा हलुका पेय पदार्थ (सफ्ट ड्रिंक्स) र जुसको प्याकेजमा प्रयोग गरिने प्लास्टिक, प्लास्टिकको बोतलमा पिइटी र पोलीप्रोपाइलेन जस्ता माइक्रोप्लास्टिकसमेत गरी सात थरीको माइक्रोप्लास्टिक भेटिएको थियो। यसले हामीले दैनिक जीवनमा प्रयोग गर्ने वस्तु कति घातक छन् भन्ने प्रष्ट हुन्छ। दैनिक प्रयोगमा आउने प्लास्टिक, समुन्द्री माछा, सडकमा निस्कने टायरको धुलो, रंगरोगन, बोतलका पेय पदार्थ, जुस तथा अन्य सौन्दर्य प्रशाधन सामग्री, फेसवास, नङ पालिस, टुथपेस्टलगायत अन्य वस्तु माइक्रोप्लास्टिकका स्रोत हुन्।

यो समग्र पृष्ठभूमिमा विश्व समुदाय भयावह बन्दै गएको प्लास्टिक प्रदूषणको नियन्त्रणमा गभीर हुनुपर्ने देखिएको छ। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (युएनइपी) का अनुसार पृथ्वीको समुन्द्र, नदी र तालमा हरेक वर्ष एक करोड ९० लाखदेखि दुई करोड ३० लाख टन प्लास्टिकजन्य फोहोर थन्क्याइन्छ। प्लास्टिक प्रदूषणले जीवजन्तुको बासस्थान र प्राकृतिक प्रक्रियालाई बिथोल्ने हुँदा यसले जलवायु परिवर्तनसँग जुध्न सक्ने पारिस्थितिकीय प्रणालीको क्षमतामा पनि ह्रास ल्याउँछ। यसैगरी विश्वका करोडौँ सर्वसाधारणको जीवनयापन, खाद्य उत्पादन क्षमता तथा सामाजिक कल्याणलाई समेत यसले नराम्ररी बिथोलेको मानिएको छ।

नेपालले पनि ४० माइक्रोनभन्दा साना प्लास्टिकका झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ। तर नियमनकारी निकायको कमजोर भूमिकाका कारण यस प्रकारका झोला बेरोकतोक बजारमा भेटिन्छन्। प्रकृति र जोखिमका आधारमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध, नियमन तथा सही व्यवस्थापन नगरेसम्म प्लास्टिक प्रदूषणको गंभीर समस्याले नेपाल पनि प्रभावित भैरहेको र भविष्यमा झन् हुने प्रष्टै छ। नेपालले विशेषगरी माइक्रोप्लास्टिकका स्रोत मानिने तथा बजारमा पाइने कस्मेटिक सामग्री, टुथपेस्ट, फेसवास, नेल पोलिसलगायत जस्ता दैनिक उपभोग्य सामग्रीको परीक्षण गरी यसबाट माइक्रोप्लास्टिकको जोखिम रहे/नरहेको सुनिश्चित गर्नुपर्छ। आफैँले अथवा अन्तर्राष्ट्रिय निकायसम्म समन्वय र सहकार्य गरेर नेपालले पनि यस प्रकारको अध्ययन/अनुसन्धान गर्न आवश्यक देखिन्छ। जनस्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउने यो विषयलाई राज्यले नजरअन्दाज गर्न मिल्दैन।

प्रकाशित: ११ असार २०८१ ०६:०३ मंगलबार

Download Nagarik App
Download Nagarik App