२१ असार २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

‘गुरुदेव’ वकालत गन्तव्य

एउटा मानिसले कति वर्षसम्म सक्रियरूपले पेसागत धर्म निर्वाह गर्न सक्ला, त्यो पनि वकालत जस्तो गहन अध्ययन र मेहनत गर्नुपर्ने क्षेत्रमा ? यसको उत्तर यही हुनुपर्छ भन्ने छैन तर पनि ‘३०, ३५, ३७... यस्तै वर्ष हुन सक्छ सामान्यतया। तर वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको हकमा भने यो अनुमान फेल खान्छ। उनले वकालत गरेकै ७० वर्ष बितेको छ। अझ अचम्म त के भने अहिले ९८ वर्षको उमेरमा पनि उनी आफ्नो ल फर्ममा सक्रिय छन्। अदालतमा बहस गर्छन्, अन्य कानुनी मामिलामा उत्तिकै दख्खल राख्छन्।

वकालत मात्र गर्नु एउटा पक्ष भयो तर भण्डारीको वकालत पृथक् छ। उनी घुसको थैली बोकेर न्यायाधीशको दैलो चाहर्नेलाई कानुन व्यवसायी मान्दैनन्। उनी कस्ता वकिल हुन् भन्ने थाहा पाउन यही वाक्य काफी छ। कानुनी पेसालाई इमानका साथ अपनाउने मात्र हैन, अरूलाई समेत यसका लागि हौस्याउने उनको शैली सबैले स्वीकार गरेका पक्ष हो। राम्रोसँग काम गर्न सक्यो भने यही पेसामा पनि पैसा कमाउन सकिने उनको धारणाले कानुनी क्षेत्रमा प्रवेश गर्न चाहनेलाई त उत्साही तुल्याउँछ नै, साथै अवैध बाटोबाट चाँडै धनी बन्न चाहने वकिललाई पनि सोच्न बाध्य गराउँछ।

भण्डारीले स्थापना गरेका नेपाल ल फर्म अहिलेका धेरै न्यायाधीश, कानुन व्यवसायी मात्र हैन, राजनीतिकर्मी र निजामती सेवाकर्मीका लागि पनि सुरुवाती पाठशाला हो। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्याय, लोक सेवा आयोगका पूर्वआयुक्त लवदेव भट्ट, वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठलगायत दर्जनौँ व्यक्तित्व यो ल फर्मका उपज हुन्। त्यसैले पनि नेपाल ल फर्म र कृष्णप्रसाद भण्डारी पर्यायवाची शब्द बन्न पुगेका छ । त्यति मात्र हैन, धेरै आदरणीयहरूका पनि आदरणीय बन्न सकेकै कारण भण्डारी नेपालको न्यायिक क्षेत्रमा विशेष गरेर वकालत क्षेत्रमा ‘गुरुदेव’ को हैसियत बनाउन सक्षम भएका हुन्।

न्यायिक क्षेत्रप्रति मात्र चिन्तित छैनन् उनी। केपी शर्मा ओलीले संसद् विघटन गरेका बेला होस् या अन्य महत्त्वपूर्ण राजनीतिक घटनामा पनि तिखो र सटिक टिप्पणी गर्दै आएका भण्डारी यो उमेरमा पनि मुलुकको दयनीय गतिप्रति चिन्तित छन्। ठूला र धनी देशसँग दरिलो कूटनीतिक सम्बन्ध बनाउनुपर्छ भन्ने धारणाका हिमायती उनी मुलुक यसमा चुकेको बताउँछन्। उनी आफ्नो पेसाप्रति यति प्रतिबद्ध छन् कि राजा महेन्द्रले आफूलाई मन्त्री बन्न गरेका आग्रहसमेत लत्याइदिए। पञ्चायत व्यवस्था स्विकारेर मन्त्री बन्नु आफ्नो वाम विचारधाराप्रति धोका दिनु हो भन्ने बुझाइले यसमा काम गरेको थियो। त्यसैले उनका चेला प्रधानमन्त्री, प्रधानन्यायाधीशदेखि अन्य ठूला पदमा पुग्दा पनि उनी वरिष्ठ अधिवक्तामै चित्त बुझाइरहे। तर पनि उनलाई किञ्चित् गुनासो छैन। र त उनी सबैका आदरणीय अर्थात् गुरुदेव बन्न सके।

इमानजमानका मात्र हैन, सादगीपनका पनि पर्याय हुन् भण्डारी। उनी अर्बौँका मालिक हुन् तर उनमा कहिल्यै गाडीमा हुइँकिने रहर जागेन। बानेश्वरस्थित थापागाउँबाट पुतलीसडकस्थित ल फर्मसम्म हिँडेर आउने अनि सर्वोच्च अदालत हुँदै वकालत सकेर पुनः हिँडेरै फर्कने उनको जीवनशैली अहिलेको जन्मँदै मधुमेह र उच्च रक्तचाप लिएर आउने पुस्ताका लागि ठूलो पाठ हुन सक्छ। यो उमेरमा पनि सक्रिय बुढ्यौली जीवन निर्वाह गर्न सक्नुका अनेकौँ रहस्यमध्ये यो पनि एउटा भएकामा शंका छैन।

यतिबेला नेपालको न्यायिक संयन्त्र विवादित छ। न्यायमूर्तिहरूप्रति आमसेवाग्राही शंकित छन्। आफ्नो भागमा न्याय पर्ने वा नपर्नेबारे यकिन हुने अवस्था छैन। न्यायालय बिचौलियाले घेरिएको छ। वकालत गर्नेहरू नै बिचौलियाको भूमिकामा रमाइरहेका छन्। यस्तो अवस्थामा कालो कोट लगाएर दलाली गर्नेहरूलाई तिरस्कार गर्ने, कानुनी पेसालाई मर्यादित तुल्याउन घच्घच्याइरहने, न्यायिक विचलन नहोस् भनेर खबरदारी गरिरहने र राजनीतिका विकृतिसमेत बढार्न हरदम आफ्नो तर्फबाट आवाज बुलन्द गरिरहने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबाट धेरै सिक्न आवश्यक छ। न्यायालय स्वच्छ हुनुपर्छ भन्ने उनको महान् चाहना पूरा होस्।

बहुआयामिक भण्डारीप्रति हाम्रो पनि ‘ह्याप्पी बर्थ डे!’ 

प्रकाशित: ३० जेष्ठ २०८१ ०६:०२ बुधबार

Download Nagarik App
Download Nagarik App