२१ असार २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

सर्वसत्तामा रोक

छिमेकी भारतमा झन्डै डेढ महिना लगाएर सम्पन्न लोकसभा निर्वाचन परिणामले फेरि सार्वभौम जनताले विवेकपूर्ण निर्णय गरेका छन्। गत अप्रिल १७ देखि जुन १ सम्म सात चरणमा भएको निर्वाचन परिणाम मंगलबार सार्वजनिक भएसँगै आगामी सरकारको स्वरूपबारे चर्चा हुन थालिसकेको छ। यस निर्वाचनले फेरि अर्को एक पटक भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई प्रधानमन्त्री बन्ने ढोका खुलेको छ। तर, यसपटकको उनको कार्यकाल भने विगतको जस्तो बलियो हुने छैन। एउटै दलले सुविधाजनक मत नपाई त्रिशंकु संसद् बनेपछि स्वाभाविक रूपमा मोदी आफैंले नेतृत्व गरेको नेसनल डेमोक्रेटिक अलायन्स (एनडिए) को साथ लिएर सरकार बनाउनुपर्ने भएको छ । ‘अब की बार चार सौ पार’ अर्थात् अब चार सयभन्दा बढी स्थानमा विजय हासिल गर्ने उद्देश्य उनले राखे पनि त्यो अपेक्षा पूरा भएन। भाजपाले भनेझैं मत पाएको हुँदो हो त शक्तिशाली मोदीले आक्रामक ढंगले शासन गर्नु अन्यथा हुने थिएन। यस हिसाबले पनि मोदीको आक्रामकतामा रोक लगाएको रूपमा बुझिएको छ।

व्यक्तिमा शक्तिको अभ्यासले घमन्ड पैदा हुन्छ। शक्तिशाली हुँदै गएपछि आफैंलाई सर्वेसर्वा ठान्ने प्रवृत्तिको विकास हुन्छ। सन् २०१९ को आमनिर्वाचनभन्दा यसपटक ६४ स्थान कममा भाजपा विजयी भएको छ। कुल पाँच सय ४३ सदस्यीय सभामा भाजपाका दुई सय ४० सिटमा विजयी भएका छन्। सन् २०१९ मा भाजपा एक्लैले तीन सय तीन स्थानमा विजय प्राप्त गरेको थियो। यसपटक एनडिएका दुई सय ८६ जनाले जितेका हुनाले भाजपाकै नेतृत्वमा सरकार बन्नेमा अन्यथा हुने छैन। तर, गठबन्धन सरकार चलाउन एकलौटी बहुमत जस्तो सजिलो हुने छैन। भारतमा सरकार बनाउन दुई सय ७२ स्थानमा विजयी हुनुपर्छ। यसपटक विपक्षी इन्डिया गठबन्धनलाई दुई सय ३४ स्थान प्राप्त भएको छ। कंग्रेस आई नेता राहुल गान्धीले यसपटक आफूलाई सशक्त प्रतिपक्षी नेताका रूपमा स्थापित गर्न सक्ने गरी मत प्राप्त गरेका छन्। भारतमा बिस्तारै उनको वैकल्पिक राजनीति सशक्त हुँदै गएको यो निर्वाचनले देखाएको छ। उनीमाथि जस्तासुकै आक्रमण भए पनि डगमग नगरी सबै जातजाति, धर्म, सम्प्रदायका निम्ति आवाज उठाउँदै आएका हुन्।

मोदीलाई अहिले सरकार बनाउन जेडियु अध्यक्ष तथा विहार मुख्यमन्त्री नीतीशकुमार र आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुको साथ चाहिन्छ। इन्डिया गडबन्धनका सूत्रधार नीतीश गत जनवरीमा भाजपा समर्पित गठबन्धनमा प्रवेश गरेका थिए। लोकसभा निर्वाचनमा पनि गठबन्धनबाटै सहभागी भएका हुन् र अहिले उनको दलले १२ स्थानमा विजय हासिल गरेको छ। यहाँ भाजपा पनि १२ स्थानमै विजय भएको छ। नायडुको तेलगु देशम पार्टीले १६ स्थान पाएको छ। उनले पनि विगतमा मोदीविरुद्ध मोर्चा खडा गरेका थिए। अब एनडिए गठबन्धनमा नीतीश र नायडु दुवै किंगमेकरको भूमिकामा हुने छन्। कतिपय आलोचकले उनीहरू कतै पनि पल्टिनसक्ने पात्र भएका कारणले मोदीका निम्ति सहज हुन नसक्ने ठान्छन्। यी दुवैको वैशाखीमा चल्नुपर्ने मोदीका निम्ति यसअघिको कार्यकालजस्तो सहज हुने छैन।

तैपनि मोदीका लागि तेस्रो कार्यकालका निम्ति पनि प्रधानमन्त्रीको द्वार खुल्नु आफैंमा महत्त्वपूर्ण उपलब्धि हो। भारतीय स्वतन्त्रता संग्रामपछि सत्तामा आएका जवाहरलाल नेहरूपछि कुनै पनि व्यक्ति भारतमा तीनपटक प्रधानमन्त्री भएका छैनन्। ‘चायवाला’ परिवारबाट आएका एक व्यक्ति तीनतीन पटक प्रधानमन्त्री बन्ने अवस्थामा पुग्नुलाई विगतमा उनले गरेका कामहरूलाई पनि कारक मानिएको छ। मोदीले विकास निर्माणमा विशेष जोड दिएका छन्। भारतलाई अन्तर्राष्ट्रिय मञ्चमा देखिने र सुनिने दुवै बनाएका छन्। स्वतन्त्र प्रेस र बौद्धिक जगत्माथि भएको आक्रमणले भने उनी आलोचित छन्। संसारको ‘सबैभन्दा ठुलो लोकतन्त्र’ भारतमा मोदी शासनकालमा देखिएको भयलाग्दो अवस्थाले ‘निर्वाचित तानाशाही’ झल्को दिएको आरोप पनि लाग्ने गरेको थियो । निर्वाचनको मुखमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी, राहुल गान्धीलाई संसद्बाट निलम्बन गर्ने र विपक्षीमाथि भएका आक्रमणले भने भारतीय प्रजातन्त्रकै उपहास भएको टिप्पणी नभएको होइन।

मोदीको शासनकालमा नोटबन्दी, जम्मु तथा कश्मीरलाई संविधानको धारा ३७० को विशेष व्यवस्था खारेजी, राममन्दिर निर्माणलगायतका काम भएका छन्। आममतदाताले मोदीका यी कामलाई कुनै न कुनै रूपमा निर्वाचन परिणाममार्फत् समर्थन गरेका छन्। तर, कतिपय अवस्थामा मोदीले आफूलाई बढ्ता ध्यान दिएको र अरूलाई दिनुपर्ने स्थान नदिएको ठान्ने गरिन्छ। राममन्दिरको प्राणप्रतिष्ठाका क्रममा शंकराचार्यहरूलाई समेत बेवास्ता गरी आफैं सर्वेसर्वा भएको छनक उनका गतिविधिले नदिएका होइनन्।

मोदीले फलामे मुट्ठी कसेर शासन गरेका कारण पनि भारतजस्तो मुलुकको उदारवादी लोकतन्त्र धराशायी भएको ठानिएको हो। संसारभरि लोकरिझ्याइँको सत्ता चलिरहेका बेला भारतमा पनि त्यस्तै हुँदा त्यो प्रक्रियाले अझ तीव्रता पाएको हो। यसपटकको निर्वाचन परिणामले कसैले पनि आफूलाई मात्र केन्द्रमा राखिराख्दा जनतालाई मन पर्दैन भन्ने महत्त्वपूर्ण पाठ दिएको छ। सत्ता शिखरमा चढेपछि मात चढ्न सक्छ। त्यसलाई ध्यानमा राखेर आफूलाई समाल्नुपर्छ भन्ने स्पष्ट सन्देश पनि यो मत परिणामको हो। 

प्रकाशित: २४ जेष्ठ २०८१ ०५:५६ बिहीबार

Download Nagarik App
Download Nagarik App