२४ असार २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

यार्सा उत्सव

यतिबेला कुनै चाडपर्व छैन, न गाउँमा बिहे, व्रतबन्ध न त पूजाआजाकै मेसो। तर पनि दार्चुलाको धौली ओडार सिंगारिएको छ। पालका रंगीचंगी कटेराले धैरैलाई आकर्षित गरिरहेको छ। क्रिकेट र देउडाका पारखी आआफ्नै तालमा छन्। लाग्छ, गाउँमा ठूलै महोत्सव आयोजना हुँदैछ र यसको पूर्वसन्ध्यामा मानिस हर्षोल्लास मनाइरहेका छन्। तर वास्तविकता भने पृथक छ– धौली ओडारदेखि सुदूरपश्चिमकै सबैभन्दा अग्लो चुचुरो अपी हिमालको आधार शिविरसम्म यार्सागुम्बा टिप्न जानेहरूका कारण यहाँको रौनक ह्वात्तै बढेको हो यसरी।

शिरतिरको अङ्ग झारझैँ र पाउतिरको अङ्ग कीराको झैँ हुने एक हिमाली वा तिब्बती डुलन्ते झार हो यार्सागुम्बा। जसले एकदमै तागत दिने विश्वास गरिन्छ। यो झारको सुकुटी बनाएर लामो समय राख्न सकिने भएकाले सधैँ उत्तिकै माग हुन्छ यसको। अनि निकै महँगो पनि हुने भएकाले यो कमाइको राम्रै स्रोतसमेत हुने गरेको छ। विशेषगरी हिमाली पाटनहरूमा पाइने भएकाले यार्सागुम्बा संकलन गर्न लामै यात्रा तय गर्नुपर्ने मात्र हैन, हिमाली क्षेत्रमा हुने वातावरण र चुनौतीहरू सामना गर्ने क्षमतासमेत चाहिन्छ। अहिले यस्तै समस्या सामना गर्दै यार्सागुम्बाको खोजीमा जानेहरूकै कारण धौली रंगीन बन्न सकेको हो।

यार्सागुम्बा एकदमै थोरै पाइन्छ र यो खोज्न निकै चाहार्नुपर्छ । तर यसको मूल्य निकै आकर्षक भएका कारण थोरै पाउँदा पनि मेहनत र लगानी भने खेर जान पाउँदैन। थोरै मात्र जुक्ति लगाउनेले यो कहाँ र कस्तो ठाउँमा पाइन्छ भन्ने पत्तो लगाउन सक्छ। त्यसैले मेहनत र जुक्ति लगाउने हो भने राम्रै आर्जन गर्ने सम्भावना पनि उत्तिकै रहन्छ। विशेषगरी सुदूर र मध्यपश्चिमका पहाडी क्षेत्रका धेरै बासिन्दाको गतिलो आयस्रोत बन्दै आएको छ यार्सागुम्बा। सुदूरपश्चिमको कञ्चनपुर र कैलालीका ऊर्वर फाँटहरूमा ठडिएका हजारौँ घरमा यिनै यार्सागुम्बाको योगदान छ भन्न हिच्किचाउनु पर्दैन। दार्चुला, बैतडी, डडेलधुरा, बझाङ आदि जिल्लाका बासिन्दा केही वर्षको यार्साको आम्दानीबाट जमिन किन्ने र त्यसपछिका केही वर्षको आम्दानी जोगाड गरेर घर बनाउनु सामान्य जस्तै हो। त्यति मात्र हैन, छोराछोरीको शिक्षादीक्षा, स्वास्थ्योपचार र अन्य दैनिकी चलाउन पनि यार्सा गतिलै माध्यम बन्ने गरेको छ।

सुदूरपश्चिममा धेरै यस्ता गाउँ छन् जुन यार्सागुम्बा पाइने मौसममा रित्तिन्छन्। सबैजना घरमा भोटेताला ठोकेर उतै हानिन्छन्। विद्यार्थी मात्र हैन, शिक्षकसमेत उतै लागेपछि विद्यालयमा पनि ताला लाग्ने गरेका दृश्य सामान्य मानिन्छन्। तराईमा ‘मानो रोपेर मुरी उब्जाउने’ समय भनेझैँ हिमाली क्षेत्रका पठारहरू वैशाखदेखि असारसम्म ‘कमाउने’ समय र थलोका रूपमा गणना हुने गरेको छ। त्यही कारण जुम्ला, डोटी जस्ता पहाडी क्षेत्रबाट मात्र हैन, कैलाली र कञ्चनपुर जस्ता समथर क्षेत्रकै बासिन्दा पनि त्यहाँ पुग्ने गर्छन्। धादिङ, मकवानपुर, चितवन आदि ठाउँबाट समेत यार्सागुम्बा टिप्न जानेहरू रमाइलो गरिरहेका हुन्छन्।

एकातिर औषधिजन्य गुण अर्कोतिर तागत पनि उस्तै। तुरुन्तै अर्थात् टिप्ने थलोमै पनि बिक्री गर्न सकिने। नभए घरमा ल्याएर सुकाएर पछि आफूलाई पैसा चाहिएका बेला पनि बिक्री गर्न सकिने जस्ता बहुआयामिक गुणले भरिपूर्ण छ यो झारकीरा। त्यसैले यार्सागुम्बा संकलन गर्नेहरू मात्र नभई किन्ने व्यापारीसमेत त्यहीँ पुगेका हुन्छन्। कम्तीमा एकजनाले  २५–३० हजारदेखि डेढ, दुई लाख रुपियाँसम्म कमाउने भएपछि धौली ओडारहरूको रौनक बढ्ने नै भयो।

पानी धेरै नपर्दा यार्सागुम्बा कम पाइने प्रक्षेपण संकलकहरूले पहिले नै गरिसकेका छन्। त्यसैले पोहोर/परार जस्तो आम्दानी हुन्न कि भन्ने शंकाले धेरैको मनमा बास गरेको छ। अर्कोतर्फ हिउँ परेका बेला न त्यहाँ जान सकिन्छ न त यार्सा नै देखिन्छ। यस्तो बेला पाले कटारोमा आएर मीठो मीठो खाने, गफ गर्ने, खेल्ने जस्ता क्रियाकलाप हुने गर्छन्। धेरै जिल्लाबाट आएका मानिसबीच हुने विविधताले सबैलाई जिज्ञासु बनाइरहेको हुन्छ। महिलाहरू भने बुनाइ, पकाइतुल्याइ जस्ता कार्य गरिरहेका हुन्छन्। आफन्त र चिनेजानेकाहरूको चुलोमा पाक्ने फरक स्वादको मज्जा पनि सम्भव हुनेले लिइरहेका हुन्छन्। यसरी यार्सा टिप्ने मौसम आर्जनको समय मात्र नभएर देशकै विविधताकै स्वाद चाख्ने अवसरसमेत बन्न पुगेको छ। समग्रमा यो जीवनबुटी खोज्ने जीवनचक्रजस्तो लाग्छ।

समुद्र सतहबाट करिब ३५ सयदेखि ५५ सय मिटरसम्मको उचाइमा पाइने यार्सागुम्बा उच्च पहाडी र हिमाली क्षेत्रको हिउँ पर्ने घाँसे मैदानमा पाइन्छ। त्यसैले सोचे जस्तो यो जहाँतहीँ पाइने र निकै पाइने अनि बेचेर धेरै पैसा कमाइहाल्ने चिज पनि हैन। यार्सा संकलकबाट कतिपय पालिकालगायत सरकारी निकायले निश्चित करसमेत लिने गरेका छन्। तर कर लिएपछि संकलकका लागि स्वास्थ्योपचार, बसोबासको व्यवस्था तथा सुरक्षा प्रबन्ध जस्ता कुरामा भने ध्यान दिइएको पाइन्न। मुख्य कुरा निकै ठूलो आम्दानीको स्रोत हुन सक्ने भएकाले यार्सागुम्बाको व्यावसायिक खेतीबारे सोच्न सके त्यसले आर्थिक पक्षमा राम्रै योगदान गर्नेमा शंका छैन किनकि यार्साका लागि ऊर्वर मानिने सयौँ चौँरीखर्कमा हाम्रा दिदीबहिनी÷दाजुभाइ यसै पनि बसिरहेकै छन्। 

प्रकाशित: ८ जेष्ठ २०८१ ०५:३५ मंगलबार

Download Nagarik App
Download Nagarik App