२४ असार २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

सराहनीय सुर्ती निषेध

ऐन/नियम लागु गराउन बनाइन्छन्। थन्काउन बनाइनेलाई ऐन भनिँदैन। तर नेपालको सन्दर्भमा भने ऐन बनाउने तर लागु नगरिने प्रचलनलाई सामान्य मानिन्छ। खासमा ऐन आवश्यक परेर बनाइने हो। जब आवश्यक पर्छ र बनाइन्छ भने त्यसको प्रयोग नगर्नु स्रोतसाधनको सत्यानाश मात्र हैन, कानुन पालना गराउने र अनुगमन गर्ने नियामक निकायहरूको समेत लापरबाही हो।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन यस्तै एउटा कानुन हो जुन बनेको १२ वर्षसम्म पनि कार्यान्वयनमा आएको छैन। जसका कारण सार्वजनिक स्थानमा धूमपान गर्न नपाउने तथा सुर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाउने नियम बेवारिसे बनेको छ। एकातिर मुलुकमा योसम्बन्धी ऐन छ अर्कोतर्फ ऐनले निषेध गरेका कामकारबाही पनि निर्वाध भइरहेका छन्। यस्तो अवस्थामा ऐनमा भएका व्यवस्था भुत्ते सावित भएका छन्।

यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले आउँदो मंसिर २७ गतेदेखि महानगरभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग मात्र हैन, बिक्रीमा समेत रोक लगाउने निर्णय गरेको छ। महानगरपालिकाको जनस्वास्थ्य ऐन २०८० र सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ मा उल्लिखित प्रावधानहरूका आधारमा महानगर नेतृत्व यो कार्यमा अघि सरेको हो।

जसअनुसार रेस्टुरेन्ट, बार, चमेनागृह, भोजनालय, छात्राबास, कभर्ड हल, लज, अतिथिगृह, पुल हाउस, रंगशाला, शारीरिक सुगठन व्यायाम केन्द्र, सरकारी कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बालआश्रम, वृद्धाश्रम, सार्वजनिक शौचालय आदिमा न सुर्तीजन्य पदार्थ सेवन गर्न पाइन्छ न त बिक्रीवितरण नै। अनाथाश्रम, बाल उद्यान, उद्योग तथा कलकारखानाका कार्यस्थल, चलचित्र घर, नाट्यशाला, सांस्कृतिक केन्द्र, होटेल, मोटेल, रिसोर्ट, धर्मशाला, बसपार्क, टिकट काउन्टर, एयरपोर्ट जस्ता स्थलमा पनि यो नियम लागु हुनेछ।

सरकार मुलुकका सम्पूर्ण बासिन्दाको अभिभावक हो। एउटा बुझ्झकी अभिभावकले आफ्ना सन्तानको स्वास्थ्य स्वस्थ रहन हरसम्भव उपाय अपनाउनु उसको कर्तव्य नै हो। मुख्य अभिभावकले यो कर्तव्य पालना नगरेको अवस्थामा महानगर अभिभावकले आफ्नो  क्षेत्रका बासिन्दाको स्वास्थ्यप्रति ख्याल गर्दै कानुन कार्यान्वयनमा ध्यान दिनु पक्कै पनि सकारात्मक पक्ष हो।

जनस्वास्थ्यप्रति सचेत मुलुकहरूमा धूमपान र मद्यपानसम्बन्धी चिजबिज प्रयोगका लागि विशेष ठाउँहरू तोकिएका हुन्छन्। त्यसैले यस्ता सामग्री बेचबिखनका लागि सरकारी निकायबाट अनुमति अनिवार्यरूपमा लिनुपर्छ। तर हामीकहाँ भने जहाँ जसले पनि र जहिले पनि बेच्न पाउँछ। सार्वजनिक बस होस् या सभास्थलहरू, खुलेयाम सेवन गर्न पाउँछ। यसबाट अरूलाई पर्ने असुविधा कसैले ख्याल गरेको पाइन्न। यस्तो अवस्थामा महानगर नेतृत्वले चाल्न लागेको यो कदम सराहनीय मान्नुपर्छ।

महानगरपालिकाले अरूलाई असर नपर्ने गरी केही स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न पाउने गरी व्यवस्था मिलाइने जनाएको छ। त्यसैगरी महानगरको यो निर्णय सुर्तीजन्य पदार्थका डिलर र उत्पादक कम्पनीलाई १५ दिनको म्याद राखेर जानकारी गराइएको पनि छ। यो नियम लागु भएपछि कसैले सार्वजनिक स्थलमा बिक्री गरे प्रहरीले जफल गर्ने र प्रयोग गरे जरिवाना लाग्ने जानकारीसमेत गराएको छ। जसअनुसार सार्वजनिक स्थलमा कसैले सुर्तीजन्य पदार्थ प्रयोग गरे काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐनअनुसार २५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ।

धूमपान स्वास्थ्यका लागि हानिकारक रहेकामा कसैको विमति छैन। यसबारे पर्याप्त जानकारी गराइँदै आएको पनि छ। त्यसैगरी सुर्तीजन्य पदार्थका पकेटमै डरलाग्दा चित्र पनि राखिएका छन्। तर पनि धूमपान गर्ने÷गराउने क्रम रोकिएको छैन। यस्तो अवस्थामा महानगरपालिका नेतृत्वले गरेको यो निर्णय सम्पूर्ण महानगरबासीको हितमा छ। जसलाई अन्य पालिकाले पनि अनुशरण गर्न आवश्यक छ। संघीय सरकारले बाटो बिराएका बेला आफूलाई प्राप्त अधिकार प्रयोग गरेर अघि बढ्न कसैले छेक्न सक्दैन भन्ने उदाहरणसमेत हो यो। 

प्रकाशित: १९ मंसिर २०८० ००:१९ मंगलबार

Download Nagarik App
Download Nagarik App