२३ असार २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

सुर्तीको फुर्ती

सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा कर बढाउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रीद्वारा दिइएको यो जानकारी सकारात्मक छ। एकातिर उनले विगत वर्षका तुलनामा स्वास्थ्य क्षेत्रको बजेट ४० प्रतिशतले घट्ने बताएका छन् भने अर्कोतर्फ यसरी सुर्तीजन्य पदार्थमा बढाइने करले त्यसमा केही थप गर्न सकिने सम्भावना पनि व्यक्त गरेका छन्।

खासमा सुर्ती र सुर्तीजन्य पदार्थले मानव शरीरलाई हानिसिवाय केही गर्दैन तर पनि अशिक्षा, चेतना तथा ज्ञान अभावले आफ्नै स्वास्थ्यलाई हानि पुर्‍याउने यस्ता पदार्थ पनि हामीले प्रिय मानेर सेवन गरिरहेका छौँ। सुर्तीजन्य पदार्थले लत वा नशा लगाउँछ। त्यसैले यो एकप्रकारका लागु पदार्थ नै हो भन्न सकिन्छ। यस्तो पदार्थ सेवनकर्तामध्ये धेरैलाई यो जानकारी पनि छ तर पनि लत लागेकै कारण उनीहरू यसबाट मुक्ति पाउन सकिरहेका छैनन्।

सरकारले प्रत्येक वर्षको बजेट भाषणमा सुर्तीजन्य पदार्थको कर केही न केही बढाएकै हुन्छ। यसो गर्दा नागरिकले यस्ता पदार्थ कम प्रयोग गर्छन् भन्ने सोचिन्छ। तर विडम्बना, यसरी बर्सेनि कर बढाइँदा पनि उपयोग भने दिनानुदिन वृद्धि भइरहेको छ। विकसित मुलुकले यस्ता पदार्थमा ७० प्रतिशतसम्म कर लगाइरहेका सन्दर्भमा नेपालले लगाएको कर निकै कम मानिन्छ। यसरी हेर्दा सुर्तीजन्य पदार्थमा कर बढाउनु उपयुक्त नै हुन्छ। तर यसरी कर बढाइँदा पनि उपभोग भने नघट्नुको कारणबारे चाहिँ सोच्न आवश्यक छ।

नेपालको स्वास्थ्य क्षेत्रमा अहिले केही भए पनि प्रगति देखिएको छ। खासगरी नसर्ने रोगहरूको उपचारमा देखिएको स्तरीयता र प्रगतिका कारण मानिस बढी बाँच्ने भएका छन्। सर्ने रोगमा पनि विगतको तुलनमा केही प्रगति अवश्य भएको छ। तर एकातिर यसरी रोग नियन्त्रण र उपचारमा भएको प्रगतिका कारण केही मानिसले दीर्घ जीवन प्राप्त गर्ने अर्कोतिर सुर्तीजन्य पदार्थहरू सेवनका कारण आयु छोट्टिनुले ‘माथिबाट जति हाले पनि तलबाट चुहिरहने’ जस्तो अवस्था सिर्जना हुन पुगेको छ। त्यसैले यस्ता पदार्थको प्रयोग निमिट्यान्न नपारेसम्म स्वास्थ्य क्षेत्रको बजेट जति बढाए पनि केही हुनेवाला छैन। यस अर्थमा अहिले स्वास्थ्य मन्त्रीले दिएका जानकारी केही हदसम्म भए पनि राम्रो मान्नुपर्छ।

सुर्तीजन्य पदार्थका कारण लाग्ने रोगको उपचारसमेत केही पहिलेसम्म सम्भव थिएन नेपालमा। राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई नै टिबी लागेपछि उनकै पहलमा खोलिएका टोखा सेनिटोरियम, वैद्य खाना, सेन्टर चेस्ट क्लिनिक जस्ता स्वास्थ्य संस्थापछि नेपालीले थोरै भए पनि उपचार पाउन थालेका हुन। तर पनि विश्वले स्वास्थ्य क्षेत्रमा चामत्कारिक फड्को मार्दासमेत हामी भने सुर्तीजन्य पदार्थकै कारण लाग्ने रोगबाटै बर्सेनि लाखौँले जीवन त्याग्नु परिरहेको छ।

हुन त नेपालमा राष्ट्रिय स्वास्थ्य नीति २०४८, पहिलो दीर्घकालीन स्वास्थ्य योजना (२०३२–२०४७), दोस्रो दीर्घकालीन स्वास्थ्य योजना (१९९७–२०१७), नेपाल स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन योजना दोस्रो (२०१०–२०१५) पनि लागु भए जनताको जीवनस्तर सुधारका लागि भनेर। त्यसैगरी २०६७–७० को तीनवर्षीय योजना, सहस्राब्दी विकास लक्ष्य, स्वास्थ्य क्षेत्रको मानव संसाधन रणनीतिक योजना (२०६८/२०६९–२०७१/२०७२), बाह्र बुँदे राहत कार्यक्रम आदि पनि लागु भएकै हुन। तर पनि यी विविध कार्यक्रमले सुर्तीजन्य पदार्थमा कर बढाउन सफल भए पनि त्यसको उपयोगमा भने चाहे जति न्यूनीकरण गर्न सकेनन्। त्यसैले जति बजेट खन्याए पनि त्यो बालुवामा पानी हुन पुगेको हो।

सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले सार्वजनिकस्थलमा धूमपान तथा सुर्ती सेवन गर्न पाइन्न भनेको छ। तर जताततै सूर्तीजन्य पदार्थ सेवन भइरहेको देखिन्छ। यसले एकातिर जनचेतना अभाव देखाउँछ भने अर्कोतिर कानुनी प्रावधान कार्यान्वयनमा पनि फितलोपन देखिन्छ। कानुन बनाइरहने, कर बढाइरहने तर रोगको स्रोत हो भनेर थाहा पाइसकेपछि पनि त्यस्ता पदार्थको खुलेयाम सेवन गर्न दिइरहने हो भने नियन्त्रण र रोकथामका प्रयास सयौँ वर्ष जारी राखे पनि सफल हुने छैन। त्यसैले कर बढाउने कुरा एकातिर छँदैछ अर्कोतर्फ कानुनको कडा कार्यान्वयनमार्फत पनि रोगलाई डाँडो कटाउने प्रयास सशक्त तुल्याउनु आवश्यक छ।

भनिन्छ-उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु अति उत्तम हो। यो भनाइलाई सार्थक तुल्याउने हो भने सरकार, जनता, स्वास्थ्यकर्मी सबै जागरुक हुनैपर्छ। समाजका प्रतिष्ठित व्यक्तिहरूले नमुनालायक रूपमा अभियान चलाउने, स्वास्थ्यकर्मीले त्यसलाई आफ्नातर्फबाट साथ दिने र सरकारले आर्थिकलगायतका उपयुक्त वातावरण बनाइदिएर सघाउने हो भने मात्र सुर्तीजन्य पदार्थका कारण सिर्जना हुने घातक रोगहरूबाट मुलुकले उन्मुक्ति पाउँछ। हैन भने सरकार बजेट खन्याइरहने, सर्वसाधारण यस्तै पदार्थको लतमा डुबिरहने अवस्था कायमै रहन्छ। जसका कारण न राष्ट्रिय ढुकुटी बच्छ न त सेवनकर्ताको ज्यान नै। त्यसैले यस्तो अवस्था सिर्जना नहोस् भन्नका लागि सबैले आआफ्नो ठाउँबाट हातेमालो गर्नु आवश्यक छ। सुर्ती खाएर फुर्ती लाउने परिस्थितिको अन्त्य हुनै पर्छ।

प्रकाशित: २८ वैशाख २०८० २३:४८ बिहीबार

Download Nagarik App
Download Nagarik App