२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सडक पहुँचले दूध बिक्रीमा सजिलो

फाइल तस्बिर

पछिल्लो समय गाउँघरमा सडकको पहुँच पुगेपछि किसानलाई दूधजन्य पदार्थ बिक्री गर्न सहज  भएको छ। विगतमा सडक सुविधाको अभावमा ललितपुर महाङ्काल ३ का किसानले चिस्यान केन्द्रसम्म दूध पुर्याउन पाइप प्रयोग गर्दै आएका थिए।

 किसानले गोटीखेल दूध चिस्यान केन्द्रसम्म पाइपको माध्यमबाट दूध पुर्याउँदै आएका थिए। अहिले गाउँगाउँमा सडक सुविधा पुगेपछि घर–घरमै गाडी लगेर दूध संकलन गर्न थालिएको हो। संकलित दूध पाँच किलो मिटर तल स्थापना गरिएको ठूलो चिस्यान केन्द्रमा पुर्‍याउने गरिएको छ।  

२०५० सालमा स्थापित गोटीखेल दूध चिस्यान तथा सङ्कलन केन्द्रले दैनिक नौ सय लिटर दूध संकलन गर्ने गरेको केन्द्रका सचिव रामहरिप्रसाद तिमिल्सिना बताउँछन्।

उनका अनुसार सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठिनाइ भएपछि पाइप बिछ्याएर सुरु गरिएको दूध ढुवानी सेवा अहिले बन्द भएको हो। घर–घरमै गाडी पुर्‍याउन सकिने भएपछि आँगनबाटै दूध संकलन हुन थालेको उनले बताए।  

दैनिक संकलन हुने दूध गोटीखेलबाट बिहान दश बजेभित्र ललितपुर र काठमाडौंका विभिन्न डेरीमा पुग्ने गरेको छ। गोटीखेलमा पालिएका भैंसीको खानपिन भने सबै प्राकृतिक स्रोतमा आधारित छ।

केही वर्षअघि पाइपबाट दूध आपूर्ति गर्न रिङगिङडाँडाबाट गोटीखेलसम्म र बुखेलमा पनि त्यसैगरी पाइप बिछ्याइएको थियो। पाइपमार्फत आपूर्ति हुनुअघि हरेक घरबाट खेताला लगाइ किसानले दूधको ग्यालिन जर्किनलाई नाम्लोले बोकी दूध चिस्यान केन्द्रसम्म ल्याउने गरेका थिए।

गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएपछि दूध संकलनका लागि जनशक्तिको अभाव हुँदा पाइप प्रविधि प्रयोग गरिएको थियो। अहिले घर–घरमै सडक सुविधा पुगेको सचिव तिमिल्सिनाले बताए। उनका अनुसार गोटीखेलमा संकलन भएको दूध केही वर्षअघिसम्म खुवा बनाएर बिक्री गर्ने गरिएको थियो तर अहिले त्यो कार्य पनि बन्द भएको छ।  

स्थानीयकाअनुसार पाइपमा दूध अड्किने, पाइपमा लेउ लागेपछि दूध बिग्रिने समस्या देखिएको थियो। यसैगरी दूधको पाइप बीच बाटोमा काटने, बर्खामा पहिराले समस्या थपिने र गर्मी याममा पाइप तातिएर दूध फाट्ने जस्ता समस्या सिर्जना भएका थिए। पाइपमा प्रवाह गरिएको दूधको स्वाद पनि फरक परेको स्थानीयले बताए।  

सचिव तिमल्सिना पाइप मार्फत ढुवानी हुँदा समय पनि बच्ने गरेको तर विभिन्न समस्याका कारण पाइप प्रविधि हटेको बताए। दैनिक संकलन भएको गोटीखेलको दूध पहिले दूग्ध विकास संस्थान (डिडिसी) लाई बेच्ने गरिएको थियो भने अहिले चापागाउँ टाहाखेलमा रहेको ललितपुर जिल्ला दूध उत्पादन सहकारी संघमा पु¥याउने गरिएको छ। दूध उत्पादन सहकारी संघमा गोटीखेल, चौघरे र संखुबाट दैनिक तीन हजार लिटर दूध संकलन हुने गरेको ललितपुर जिल्ला दूध उत्पादन सहकारी संघका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए।  

सङ्कलित दूधबाट दही, घिउ, खुवा, पनिर लगायतका विभिन्न परिकार उत्पादन हुने गरेको छ। दूध उत्पादन सहकारी संघमा छ हजारभन्दा बढी किसानको शेयर छ। सहकारी संस्थामा किसानहरूले ५१ लाख रूपैयाँ लगानी गरेको सहकारी संघका अध्यक्ष सापकोटाले बताए।

प्रकाशित: २ भाद्र २०७९ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App