२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

तीव्र कटानमा खेतीयोग्य जमिन

फाइल तस्बिर।

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरले खोलाको प्राकृतिक निकास थुन्दा बाँकेको ढकेरीमा खेतीयोग्य जमिनको तीव्र रूपले कटान भएको छ। स्थानीय भक्ता खोलाले धनबहादुर ओलीको ४ कट्ठा, वीरबहादुर डाँगीको ६ कट्ठा र लालबहादुर खत्रीको ४ कट्ठा जमिन कटान गरिसकेको छ।

अझै करिब ४ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ। ‘सिक्टा सिँचाइ आयोजनाको नहर बन्नुभन्दा पहिले यो खोला प्राकृतिक रूपले बग्थ्यो। नहर बनेपछि खोला राम्रोसँग बग्न पाएन। यसले गर्दा खेतीयोग्य जमिन तीव्र रूपमा कटान गरिरहेको छ,’ स्थानीय झग्गुप्रसाद डाँगीले भने।

प्राकृतिक रूपमा बगिरहेको खोलालाई पूर्वपश्चिममा फैलिएको नहरले थुनेपछि सामान्य कल्भर्ट राखिएको छ। तर, खोलामा बग्ने पानीभन्दा कल्भर्ट सानो भएको र चारैतिर फैलिएर बग्ने पानी एकै ठाउँबाट बग्दा खेतीयोग्य जमिनमा नोक्सानी पुर्‍याएको पीडित धनबहादुरले बताए।

‘नहर नबन्दासम्म पानी चारैतिरबाट फैलिएर बग्ने गरेको थियो। जब नहर बन्यो, त्यसपछि संकलन भएको पानी एकै ठाउँबाट बग्न थालेपछि कटान गर्दै जान थालेको हो,’ उनले भने। उक्त समस्यालाई समयमै समाधान नगरेको खण्डमा गाउँ नै विस्थापित हुने खतरा देखिएको धनबहादुरले सुनाए।

खेतीयोग्य जमिनमा पुगेको क्षति न्यूनीकरण गर्न भक्ता खोलालाई नजिकै रहेको रिम्ना खोलामा डाइभर्सन गर्नुपर्ने स्थानीय बताउँछन्। भक्ता खोला डाईभर्सन गरिदिन सिक्टा सिँचाइ आयोजना कार्यालयलाई पटकपटक अनुरोध गर्दै आए पनि बेवास्ता भइरहेको उनीहरूको गुनासो छ।

आयोजना निर्देशक डा. सन्तोष कैनीले भक्ता खोलाले गरेको क्षति रोक्ने प्रयास भइरहेको बताएका छन्। ‘खोलाले क्षति गरेको विषयमा जानकारी दिन स्थानीय बासिन्दा कार्यालयमा आउनुभएको थियो, मेसिन लगाएर खोलाको साइफन सफाइ पनि गरियो,’ उनले भने, ‘कटान भएको ठाउँमा बोरा र बाँसको तटबन्ध बनाउने कुरा भएको छ।’

प्रकाशित: ३१ असार २०७९ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App