२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

धमाधम सडक आरसिसी

आरसिसी नहुँदा भत्किँदै सडकको पर्खाल।

चार वर्षयता कालिकोटको सदरमुकाम मान्म बजारभित्र र आसपासका सडक आरसिसी गर्ने काम जारी छ। मूल बजार आरसिसीपछि बजारछेउका सडकलाई पनि आरसिसी गर्ने योजनाअनुसार ठेक्का लगाउने काम भएको थियो।

तर, मान्म बजारका सडकको आरसिसी प्राविधिक चन्द्र खड्काको निर्देशन अनुसार भइरहेको छ। पटकपटक ठेक्का खोलेको सहरी तथा भवन निर्माण आयोजना जुम्लाले कामको गुणस्तर मापनदेखि कति काम भयो? त्यो सबै आफैं दररेट निर्धारण गर्ने गरेको छ। साइटमा रहेका प्राविधिकलाई कति काम भयो? कुन ठाउँको कति छ? कति दररेट हाल्ने? भन्ने अधिकार छैन।

कामको दररेट चन्द्र खड्काले जुम्लामै बसेर हाल्ने गरेको स्वयं प्राविधिकले बताएका छन्। केही दिनअगाडि जिल्ला प्रशासन कार्यालयमा एक जना प्राविधिकले नाम गोप्य राख्न भन्दै आफूलाई नाप्ने मात्र अधिकार भएको र कामको दररेट हाल्ने अधिकार खड्काले आफूलाई नदिएको बताए। उनले ठेकेदारसँगको सल्लाहमा दररेट निर्धारण हुने गरेको आफूले सुनेको बताए।

मूल सडकमा धेरै लगानी लाग्ने भएकाले छेउछाउका सडक आरसिसी गर्ने काम खड्काकै निर्देशनमा हुने गरेको छ। मान्मका जयचन्द अधिकारीले जहाँ नक्सामा सडक छ, त्यही ठाउँमा आरसिसी गर्न र अरूका घडेरी नमास्न भनेकै कारण उनको घर भएको ठाउँदेखि दुई सय मिटर सडक आरसिसी नगरी बीचमै जीर्ण सडक छोडेर अन्यत्र आरसिसी गरिएको बताए।

कार्यालयको तालु निकाय सहरी विकास मन्त्रालयका सूचना अधिकारी राजेन्द्र खतिवडाले पहिला फिल्ड कार्यालय जुम्लाले यस विषयमा चासो लिनु पर्ने बताए। प्राविधिक खड्काले स्थानीय जयचन्द्र अधिकारीलगायतले प्रशासनमा निवेदन दिएकाले त्यहाँ काम नगरेको जिकिर गरे। अहिले आरसिसी नहुँदा मूलसडक जीर्ण हुँदै गएको छ।

प्रकाशित: २२ असार २०७९ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App