२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

दाङ औद्योगिक क्षेत्र घोषणा : नीजि क्षेत्र हर्षित

झण्डै आधा दशक सम्मको नीजि क्षेत्रको प्रयास पछि सरकारले दाङमा औद्योगिक क्षेत्र घोषणा गरेको छ । सरकारले जिल्लामा औद्योगिक क्षेत्र घोषणा गरेपछि नीजि क्षेत्र उत्साहित बनेको छ । ११ माघमा बसेको मन्त्री परिषद बैठकले जिल्लाको घोराही उपमहानगरपालिका क्षेत्रमा दाङ औद्योगिक क्षेत्रको घोषणा गर्ने निर्णय भएको हो । उक्त निर्णय सरकारले केहि दिन अघिमात्रै सार्वजनिक गरेको हो ।  

जिल्लाको घोराही उपमहानगरपालिकाका दुईवटा वडा ३ र ५ मा रहेको ५ सय ४९ बिघा क्षेत्रफललाई सरकारले औद्योगिक क्षेत्र घोषणा गरेको हो । सरकारले तोकेको क्षेत्र अनुसार पूर्व तर्फ घोाराही लमही सडक खण्ड, उत्तर तर्फ बबई नदी, पश्चिम तर्फ पाण्डवेश्वर धामको जंगल र दक्षिण तर्फको जंगल क्षेत्र औद्योगिक क्षेत्रमा समावेश हुने छ ।  

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रले ब्यवहारतः औपचारिकता पाए जिल्लामा छरिएर रहेका उद्योगहरु एकै थलोबाट सञ्चालनमा आउने छन् । जिल्लाको साबिक धर्ना गाबिसमा औद्योगिक क्षेत्र घोषणाका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघले झण्डै सात बर्ष देखि प्रयास थालेको थियो । सरकार समक्ष औद्योगिक क्षेत्र घोषणाका लागि पेश भएका फाईलहरुलाई सरकारले गत ११ माघमा सदर गरेको हो ।  

‘दाङमा रहेका उद्योगहरुको उचित व्यवस्थापनका लागि औद्योगिक क्षेत्र घोषणा गरिनु पर्छ भनेर दाङ जिल्ला उद्योग वाणिज्य संघले लामो समय देखि सरकार समक्ष अनुरोध गर्दै आएको थियो,’ दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले भने ‘लामो समय पछि नीजि क्षेत्रको मागलाई सरकारले सुनेको छ, अहिले औद्योगिक क्षेत्र घोषणा गरेको छ, यो सिंगो नीजि क्षेत्रका लागि खुशीको कुरा हो ।’  

उनका अनुसार औद्योगिक क्षेत्र स्थापना भए साना उद्योगी व्यवसायिहरुलाई उद्योग सञ्चालनका लागि आर्थिक भार निकै कम पर्ने छ । कुनै पनि उद्योगीले अहिले व्यवसाय सञ्चालन गर्दा जग्गा खरिद गर्नु पर्ने हुँदा आर्थिक भार बढि हुने गरेको छ । तर सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र स्थापना भए व्यवसायिहरुले न्यूनतम भाडामा उद्योग सञ्चालन गर्न पाउने छन् । ‘उद्योग स्थापना गरेर सञ्चालन गर्दाको अहिलेको आर्थिक भार औद्योगिक क्षेत्र स्थापना भए निकै कम बन्ने छ,’ उनले भने ‘साना एादेगी व्यवसायिहरुले पनि न्यूनतम भाडामा व्यवसाय सञ्चालन गर्न पाउने छन् ।’

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि स्थानीय तह घोराही उपमहानगरपालिकाले स्थानीय तवरमा प्रकृया थाल्ने छ । यसका लागि नीजि क्षेत्र दाङ जिल्ला उद्योग वाणिज्य संघले आवश्यक समन्वयको गर्नेछ । उक्त क्षेत्रमा बसोबास गरेका नागरिकहरुको उचित ब्यवस्थापनका लागि स्थानीय सरकार संग समन्वय गरिने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले जानकारी दिए । ‘सरकारले औद्योगिक क्षेत्र घोषणा गरेपछि त्यहाँ बसोबास गरेका स्थानीयहरु उद्योग वाणिज्य संघमै आउनु भएको थियो,’ अध्यक्ष बुढाथोकीले भने ‘उनिहरुको व्यवस्थापनको काम थाल्नु पर्ने हुन्छ, यसका लागि स्थानीय सरकार संगै केन्द्रीय सरकार संग हामीहरुले समन्वयकारी भुमिका निर्वाह गर्ने छौँ ।’  

तर सरकारले केहि दिन अघिमात्रै औद्योगिक क्षेत्र घोषणा गरेकाले यसको कार्यान्वयनको प्रकृया थालनी भने भैसकेको छैन । घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि बजेटको व्यवस्थापन पहिलो कार्य भएको भन्दै अहिलेनै यसको प्रकृया थालनी नहुने अध्यक्ष बुढाथोकी वताउँछन् । ‘सरकारले भर्खर त औद्योगिक क्षेत्र घोषणा गरेको , यसको कार्यान्वयको काम सुरु गर्दा सरकारले बजेट विनियोजन गर्नु पर्यो,’ उनले भने ‘त्यसपछि यसको कामले गती लिने छ ।’

 

यो पनि पढ्नुहोस्

मुलुकका ३२ ठाउँमा औद्योगिक ग्राम घोषणा

 

प्रकाशित: २० माघ २०७७ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App