२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

२०२५ मा ‘पोखरा भ्रमण वर्ष’ १५ लाख पर्यटक लक्ष्य

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गरेर कम्तिमा १५ लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य सार्वजनिक गरे।  

केही महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेका छन। पर्यटनको राजधानी बनेको पोखरामा थप पाहुना भित्र्याउन महानगरले गण्डकी प्रदेश र निजी क्षेत्रसँग सहकार्य गर्ने बताएको छ।  

महानगरले नेपालमा आउने बाह्य पर्यटकमध्ये मध्ये कम्तिमा ६० प्रतिशतलाई पोखरा आउने वातावरण बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। महानगरको लक्ष्य पुरा गर्न महानगरले टुरिजम प्रोडक्ट प्रोफाइल निर्माण गर्ने तथा त्यसको प्रर्वद्धन गर्ने नीति तथा कार्यक्रममा समेटेको छ।  

१५ लाख पर्यटक आगमनको लक्ष्य पुरा गर्ने भनिएपनि त्यो संख्यामा आन्तरिक र बाह्य भनेर छुट्याइएको छैन। तर १५ लाखको लक्ष्य पुरा गर्न महानगरले नगरभित्रका प्रमुख पर्यटकीय गन्तव्य, साइकल मार्ग र पदमार्गको अभिलेख तयार गरी नक्सांकन गर्ने जनाएको छ।  

रोयल ट्रेकलाई पुनः रेखांकन गरी विकास तथा प्रर्वद्धन गर्नुका साथै ‘लेक टु लेक’, ‘केभ टु केभ’  तथा ‘कोट टु कोट’ पदमार्ग निर्माणका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने उल्लेख छ। महानगरका ३३ वटै वडामा कम्तीमा एक पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा प्रवद्र्धन गर्ने नीति पनि महानगरको छ।

महानगरले २०२५ मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरिरहँदा पर्यटन व्यावसायी भने महानगरको लक्ष्य भन्दा पनि बढी पर्यटक भित्र्याउन सकिने बताउँछन। तर, त्यसका लागि प्रर्वद्धनमा चाँसो दिनुपर्ने उनीहरुको सुझाव छ। अहिले पनि आन्तरिक, भारतीय र तेश्रो मुलुकका गरेर त्यत्ति हाराहारीमा पाहुना आईरहको उनीहरुको भनाई छ।  

‘आधिकारिक रेकर्ड कतै नभएर मात्र हो, नत्र वर्षमा आन्तरिक, भारतीय र तेश्रो मुलुकका गरेर वर्षमा १५ लाख पर्यटक पोखरा आईरहेका छन। बरु यो संख्यालाई आधिकारिकता दिन जरुरी छ,’ पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन, ‘महानगरको लक्ष्य नराम्रो होईन। तर आधिकारिक तथ्यांक कतै नहुँदा हामीले अनुमानका भरमा बोल्नुपरेको हो।’

पोखरामा अहिले वर्षमा कति पर्यटक आउँछन भन्ने यकिन तथ्यांक कसैसँग छैन। प्रदेश सरकार, महानगर, पर्यटन बोर्ड, निजी क्षेत्रले बारम्बार आधिकारिक तथ्यांकको कुरा उठाएपनि पाहुना आगमनको तथ्यांक कतै भेटिदैन। अनुमानको भरमा मात्र व्यावसायीले आगमन संख्या बताउने गरेका छन। प्रर्वद्धनमा मेहनत गर्ने हो भने १५ लाख भन्दा बढेर २० लाखसम्म पाहुना भित्र्याउन सकिने उनले बताए।

‘यो सिजनमा पनि भारतीय पाहुनाको आगमन निकै भयो। स्थलमार्ग हुँदै आएका ती भारतीयको तथ्यांक कतै छैन। कम्तिमा तथ्यांक राख्न पहल गर्नुपर्छ,’ उनले भने, ‘पर्यटकीय राजधानी घोषणा गरेपछि पनि हामीले अनुमानका भरमा पर्यटक आगमनमा अनुमान गरिरहनु परेको छ।’ पोखरामा कुनै न कुनै निहुँमा आन्तरिक पाहुना आउने गर्छन। अंग्रेजी नयाँवर्ष, दसै–तिहारको लामो बिदा लगायतमा यहाँ आन्तरिक पाहुनाको घुँइचो लाग्ने गरेको छ। ती पाहुनाको पनि तथ्यांक कतै छैन।

‘१५ लाख आगमनको तथ्यांक आधिकारिक रुपमा समेट्न सकियो भने त्यसले राम्रो सन्देश दिन्छ,’ उनले भने। अहिले हवाई जहाज चढेर आएका विदेशी बाहेक अन्य पाहुनाको तथ्यांक नहुँदा पोखराले वर्षमा कति पाहुना पाउँछ भन्ने अनुमान लगाउन सक्दैन। ‘महानगरले राखेको लक्ष्य नराम्रो होईन, बरु त्यो भन्दा बढी पाहुना आउँछन। तर, अब आधिकारिकता दिनुपर्छ,’ उनले भने।  

आन्तरिक र भारतीय पाहुनाकै कारण यहाँको पर्यटन क्षेत्र धान्न सकिएको व्यावसायीले बताउँदै आएका छन। पोखराका होटलको अकुपेन्सीमा आन्तरिक पाहुनाको मात्र हिस्सा करिब ४० प्रतिशत रहेको उनीहरुले बताउँदै आएका छन। 

‘आन्तरिक र भारतीय पाहुना नहुने हो भने त पर्यटन क्षेत्र डामाडोल नै हुन्छ। त्यसैले अबको जोड पनि आन्तरिक र भारतीयका लागि अझ बढी हुनुपर्छ,’ उनले भने, ‘तेश्रो मुलुकका पर्यटकका लागि पनि पहल भईरहनुपर्छ।’

नेपालसँग जोडिएका सिमावर्ति भारतीय सहरमा प्रवद्र्धन गर्ने र आन्तरिक पाहुनाका लागि पनि स्वदेशभित्र प्रर्वद्धनात्मक गतिविधि संचालन गर्ने हो भने पाहुना आगमन अहिले भन्दा पनि बढाउन सकिने उनको भनाई छ। ‘प्रदेश सरकारले पनि योजना बनाएको छ महानगरले पनि लक्ष्य सार्वजनिक गरेको छ। अझ २०२५ लाई पोखरा भ्रमण वर्ष भनेर मनाउँदा पाहुना आगमन पक्कै बढनेछ,’ उनले भने, ‘तेश्रो मुलुकका पर्यटक भित्र्याउन अलि ठूलै मेहनत जरुरी छ। तर, भारतीय र आन्तरिकका लागि केही कदम चाल्ने हो भने अहिले भन्दा पनि बढी पाहुना आउँछन।’  

त्यस्तै महानगरले नेपाल भित्रिएका विदेशी मध्ये ६० प्रतिशतलाई पोखरा आउने गरि वातावरण तयार पार्ने पनि बताएको छ। व्यावसायीका अनुसार अहिलेसम्म अनुमानका आधारमा नेपाल भित्रिएका मध्ये ४० प्रतिशत विदेशी मात्र पोखरा आउने गरेका। तर, यो आकार बढाउन सके पर्यटनबाट लाभ पाइने उनीहरुको भनाई छ।  

‘अहिलेसम्म नेपाल भित्रिएका मध्ये ४० प्रतिशत हाराहारीमा विदेशी पाहुना मात्र पोखरा आउने अनुमान हो। त्यो आकारलाई बढाउन सके त्यसले पर्यटन क्षेत्रमा लाभ दिनेछ,’ परिषद् अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमै आगमन बढाउने हो भने पोखरामा पनि पाहुना थपिन्छन। कोरोनापछि आगमनले बल्ल गति लिँदै गर्दा पोखरा भित्रिने पाहुना पनि थपिने विश्वास हो।’

प्रकाशित: १० असार २०८१ १८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App