२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

भक्तपुरको बजेट २ अर्ब ६६ करोड, सबैभन्दा बढी शिक्षामा

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि दुई अर्ब ६६ करोड ४३ लाखको बजेट प्रस्तुत गरेको छ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार बसेको सोर्‍हौं नगर सभाको बैठकमा उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी थिइन्। नगरपालिकाको आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटीसमेत गरी उक्त बजेट प्रस्तुत गरिएको हो।

विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ५७ करोड ३ लाख १० हजार रुपैयाँ अर्थात् ५८.९३ प्रतिशत र  पुँजीगत खर्चतर्फ ९९ करोड ४० लाख रुपैयाँ अर्थात् ३७.३० प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० करोड ५० लाख अर्थात् ३.७५ प्रतिशत विनियोजन भएकाे छ।

बजेट वक्तव्यमा शिक्षा क्षेत्रका लागि ५४ करोड, स्वास्थ्य क्षेत्रका लागि १३ करोड ३० लाख, सम्पदा पुनः निर्माण र सांस्कृतिक संरक्षणका लागि १० करोड ७९ लाख, कृषि क्षेत्रका लागि ५ करोड २० लाख, वातावरण तथा सरसफाइको क्षेत्रमा १९ करोड ६५ लाख, पर्यटन प्रवर्द्धन मा ६ करोड ९५ लाख, भौतिक पूर्वाधारतर्फ ५७ करोड २१ लाख, खेलकुदतर्फ ४ करोड ५५ लाख, युवा तथा महिला लक्षित कार्यक्रमका लागि ४ करोड ३० लाख, सामाजिक सुरक्षातर्फ ४० करोड ५० लाख र विविध योजना तथा कार्यक्रमहरुका लागि ५ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ।

शिक्षातर्फ ख्वप विश्वविद्यालय तयारी समितिका लागि विज्ञहरुको टोली गठन गरी प्रक्रिया अघि बढाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ। ख्वप इन्जिनियरिङ कलेजको बी ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष ५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुदान प्रदान गर्न २ करोड व्यवस्था गरिएको छ।

शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन २ करोड रुपैयाँ विनियोजन भएकाे छ। नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि निजहरुले पाउँदै आएको तलबमा भक्तपुर नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरिएकाे छ।

स्वास्थ्यतर्फ ख्वप अस्पताललाई थप सुविधा सम्पन्न बनाउन सीटी स्क्यान खरिदको लागि चालु आ.व.मा विनियोजित रकममा अतिरिक्त ५ करोड बजेट व्यवस्था गरिएकाे छ।

भक्तपुर नगरपालिका वडा नं-१० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र र भक्तपुर नगरपालिका वडा नं-७ स्थित खचा पोखरी स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी संचालनमा ल्याउन १ करोड ५० लाख रकम विनियोजन भएकाे छ। यसैगरी १३ वर्ष मुनिका बालिकाहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप वितरण गर्न आवश्यक बजेट छुट्याइएको छ।

सम्पदा र संस्कृति संरक्षणतर्फ भक्तपुर नगरपालिका वडा नं-३ स्थित र लाय्कु पाहा छे मौलिक शैलीमा पुनः निर्माणका लागि ३ करोड ९० लाख, इन्द्रायणी द्यो छेको लागि ८० लाख, वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिरका लागि ८० लाख, हाडा छेको लागि ६० लाख र वडा नं-६ मा रहेको छुमा गणेश द्यो छेको लागि ५० लाख बजेट विनियोजन गरिएको छ।

कृषि क्षेत्रतर्फ कृषि उत्पादनहरुको भण्डारण एवं बजारीकरणका लागि वडा नं. ८ लिवालीमा शीत भण्डारका लागि ३ करोड १० लाख, वडा नं-५ मा तरकारी बजार निर्माण सम्पन्न गर्नको लागि ३० लाख, किसान, मजदुर, डकर्मी, सिकर्मीलगायतका पेशाकर्मीहरुको सूचीकरण गरी परिचय पत्र वितरणको व्यवस्था गर्ने तथा कृषि ऋणको लागि १ करोड बजेट विनियोजन गरिएको छ।

पर्यटन प्रवर्द्धनतर्फ आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय सांस्कृतिक अग्रजहरु, पर्यटन व्यवसायीहरु, स्थानीय उत्पादनकर्ताहरि तथा सरोकारवालाहरुको उपस्थितिमा सन्ध्याकालीन सांस्कृतिक पदयात्रा सञ्चालन गर्न तथा निश्चित ठाउँमा नियमित सांस्कृतिक प्रदर्शनी गर्ने व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

वातावरण सुधार तथा फोहोर मैला व्यवस्थापनतर्फ १ करोड ३५ लाख र हनुमन्ते खोला तथा खासाङखुसुङ खोला सुधार तथा खोलामा रिटेनिङ वाल निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।

भौतिक पूर्वाधार निर्माणतर्फ नगरको गौरवको योजनाको रुपमा रहेको भक्तपुर नगरपालिका वडा नं-६ स्थित देकोचामा निर्माणाधीन अरनिको सभा भवन निर्माणको लागि आगामी आ.व.को लागि १८ करोड, वडा नं-७ मा रहेको महेश्वरी खेल मैदानलाई स्तरिकृत गर्न तथा वडा नं-२ मा रहेको  सहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।

त्यसैगरी वडा नं-५ मा व्यवस्थित पार्किङ निर्माण गरी सञ्चालनमा ल्याउन र नगरका विभिन्न ठाउँमा पार्किङको व्यवस्था गर्न १ करोड, नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाको बाँकी भौतिक संरचना निर्माणलाई तीव्रता दिन तथा जग्गा धनी र मोहीहरूको जग्गा फिर्ता लगायतका जग्गा प्रशासनका कार्यहरू अघि बढाउन १८ करोड र ख्वप टेलिभिजन सञ्चालनका लागि आवश्यक जनशक्ति तथा पूर्वाधार निर्माणका लागि १ करोड बजेट विनियोजन भएकाे छ।

ज्येष्ठ नागरिकहरुको सेवाको निम्ति वडा नं-६ मा निर्मित आदर निकेतन दिवा सेवा सञ्चालन गर्न आवश्यक जनशक्तिसहितका लागि ५० लाख विनियोजन गरिएको छ।

विविध योजना तथा कार्यक्रमहरु अन्तर्गत पर्ति तथा सार्वजनिक जग्गा संरक्षणका लागि ३० लाख र नगरपालिकालाई आवश्यक जग्गा खरिदका लागि ५ करोड तथा जग्गा तथा घर भाडाका लागि ५५ लाख बजेट विनियोजन भएकाे छ।

नगर सभाको सोही बैठकमा उपप्रमुख जोशीले “भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८१”, “भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०८१” सभासमक्ष प्रस्तुत गरेकी थिइन्।

सभाले उक्त दुवै विधेयकहरू छलफलको लागि सर्वसम्मतिले स्वीकृत गरेको छ। नगर सभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्ने जनाइएको छ।

प्रकाशित: १० असार २०८१ १८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App