२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनमा धान रोप्न आधुनिक मेसिनको प्रयोग बढ्दो

चितवनको राप्ती नगरपालिका–२ स्थित गँड्यौलीका शेरबहादुर रिजाललाई धान रोप्ने समयमा रोपाहार नपाएर निकै समस्या हुन्थ्यो। गाउँछिमेकमा रोपाहार नपाएपछि रिजालले मधेसबाट ल्याएरसमेत खेत रोपे तर यसवर्ष भने उनलाई रोपाहार चाहिँदैन। रिजालले मेसिनबाट धान रोप्ने तयारी गरेका छन्। ‘मैले दश कट्ठामा धान रोप्ने गरेको भए पनि बेलामा खेताला नपाएर हैरान हुन्थ्यो,’ उनले भने, ‘यतिखेर मेसिनबाट धान रोप्न ट्रेमा बिऊ राखेको छु।’  

गँड्यौलीका लिलाबहादुर रिमालको खेत पनि सोमबार धान रोप्न हिल्याएर ठिक्क थियो। त्यहाँ रोपाहार थिएनन्। हिलो खेतमा चारपांग्रे मेसिन कुदेको देखिन्थ्यो। रिमालको खेतमा यसरी धान रोप्ने मेसिन कुदेको पहिलो पटक हो। ‘अन्यत्र मेसिनबाट धान रोपेको देखेका थियौं तर आज हाम्रै खेतमा घुमीघुमी रोपिरहेको देख्न पाइयो,’ उनले भने, ‘मेसिनबाट धान रोप्न धेरै सस्तो र सजिलो हुँदो रहेछ।’ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाइ चितवनले ५० प्रतिशत अनुदानमा गँड्यौलीको आधुनिक ताजा तरकारी उत्पादक कृषि सहकारी समूहलाई धान रोप्ने मेसिन उपलब्ध गराएपछि त्यहाँका किसान यस प्रविधितर्फ आकर्षित भएका हुन्।  

चितवनमा रोपाईं गर्दा कृषि उपकरणको प्रयोग बढेको छ। जिल्लामा प्रत्येक वर्ष मेसिनबाट धान रोप्ने किसान बढ्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको तथ्यांकमा उल्लेख छ। जिल्लामा गत आर्थिक वर्ष एक सय ३० बिघा क्षेत्रफलमा मेसिनबाट चैते धान रोपिएको थियो। चालु आर्थिक वर्ष २०८०/०८१ मा आइपुग्दा दुई सय ५० बिघा क्षेत्रफलमा चैते धान रोपिएको परियोजना प्रमुख महेश रेग्मीले बताए। ‘असारमा पानी बढी भएर मेलो मिलाउन कठिन हुने भएकाले धेरै किसानले मेसिन प्रयोग गर्दैनन्। असारमा सय बिघा क्षेत्रफलमा मेसिनबाट धान रोपाइँ हुन्छ,’ रेग्मीले भने चैते धान मेसिनले रोप्ने किसान बढिरहेका छन्। हामीले पनि चैते धानलाई प्राथमिकतामा राखेर काम गरिहेका छौं।’ जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ मा ६० बिघामा चैते धान मेसिनले रोपेको थियो।

जिल्लामा धान रोप्ने मेसिनको माग बढ्दै गएपछि परियोजनाले किसानलाई मेसिन खरिद गर्न सहयोग गरिरहेको छ। यस वर्ष मात्रै तीन वटा मेसिन खरिद गर्न किसानलाई ५० प्रतिशत अनुदान दिएको जानकारी कार्यालय प्रमुख रेग्मीले दिए।  

चितवनमा धान रोप्ने मेसिनको प्रयोग केही वर्षदेखि सुरु भएको हो तर यसको प्रयोग बढ्न सकेको थिएन। खेतमा फाट्टफुट्ट यस्ता मेसिन देखिन्थे। तीमध्ये पनि प्रायजसो तीन पांग्रे मेसिन छन्। चारवर्षदेखि अलि फरक खालका धान रोप्ने चार पांग्रे मेसिन किसानको खेतमा कुद्न थालेका छन्। परियोजनाका सूचना अधिकृत इन्द्र शर्मा ढुंगानाका अनुसार हाल जिल्लामा चार पांग्रे मेसिन सात वटा पुगेका छन्। परियोजनाले मात्रै हालसम्म ६ वटा मेसिनमा सहयोग उपलब्ध गराएको छ।  

पूर्वी चितवनको रत्ननगरपालिका ६ स्थित बछुली बहुउद्देश्य कृषक समूहमा २, साना किसान सहकारी संस्था मनहरी, साना किसान सहकारी संस्था कठार, साना किसान सहकारी संस्था कुमरोज र राप्तीको आधुनिक ताजा तरकारी उत्पादक कृषि सहकारीका र पश्चिम चितवनको दिव्यनगरमा एक÷एक वटा मेसिन छन् । चितवनको खैरहनी नगरपालिकाको वडा नं. १० र ११ मा पर्ने साविकको कठार क्षेत्र र कुमरोज क्षेत्रमा पर्ने वडा नं. १२ र १३ मा यसको प्रयोग बढेको छ। यस्तै रत्ननगर नगरपालिकाको वडा नं. ५, ६ र ७ पर्ने झुवानी र बछौली क्षेत्रमा पनि यस वर्ष आधुनिक प्रविधिमार्फत धान रोप्ने किसान बढेका छन्।  

कृषिमा आधुनिकीकरण गराउँदा किसानको लागत मूल्य घट्नुका साथै उत्पादन बढ्ने हुँदा किसानले यसतर्फ विशेष चासो देखाउने क्रम बढ्दै गएको उनको भनाइ छ।

‘मान्छेले एक बिघा क्षेत्रफलमा धान रोप्दा १४ हजार रूपैयाँ खर्च लाग्छ तर मेसिनले रोप्दा पाँच हजार रूपैयाँले पुग्छ’, ढुंगानाले भने, मेसिनबाट धान रोप्दा प्रतिबिघा १४ किलो बिउ भए पुग्छ भने मान्छेले रोप्दा ५० किलो बिउराखेर ब्याड बनाउनुपर्छ।’ मेसिनबाट रोपेको धानको उत्पादन ३० प्रतिशतले बढ्ने पनि उनले बताए।  

‘मेसिनबाट धान रोप्दा एक हारमा रोपाईं हुन्छ। त्यसबाट हावा छिर्न पाउँदा रोग किरा कम लाग्ने हुन्छ,’ उनले भने, ‘गाँजको संख्या पनि बढी हुँदा उत्पादन वृद्धि हुन्छ।’ चितवनको धान जोन क्षेत्रमा उत्पादकत्व चार दशमलव ६७ प्रतिशत रहेको छ।

मेसिनबाट धान रोप्नका लागि ट्रेमा बिउ राख्नुपर्दछ तर अहिले चितवनका किसानले प्लाष्टिकको म्याट बनाएर पनि बिउ राख्दै आएका छन्। ट्रे नभएको अवस्थामा लागत खर्च घटाउन प्लाष्टिकको म्याट उपयुक्त हुने गर्दछ। जिल्लामा वर्षे धान २७ हजार ४४५ हेक्टर हाराहारीमा लगाउने गरिन्छ ।

प्रकाशित: ६ असार २०८१ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App