२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

मनहरीको नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष, साथमा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत ।

मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य र पूर्वाधारलाई जोड दिएको छ। 

बुधबार गाउँपालिकाको १५ औं अधिवेशनमा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई विशेष प्राथमिकता दिएको पाइएको हो।

प्रदेश राजधानी हेटौँडासँग जोडिएको र गाउँपालिकाको ९ मध्ये ४ वटा वडाहरू राजमार्गसँग जोडिएको अवस्थामा पनि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पछाडि रहेको भन्दै शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए।

पालिकाकै गौरवको योजनाको रुपमा साबिक हाँडी खोला क्षेत्रमा अघि बढाएको ५ वटा आयोजना  मध्ये ३ वटा उद्घाटन भैसकेको र एउटा चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने भएकोले चकरी–लामिटार सडक पूर्ण कालोपत्रेसहित निर्माण र स्तरीकरण गर्न प्राथमिकता दिइने भएको छ। कृषिमा किसानलाई आवश्यक यन्त्र उपकरण आफैं रोजेर किन्न पाउने सुविधा प्रदान गरिने भएको छ।

कृषि उत्पादनको बजार सुनिश्चितताका लागि सरोकारवाला निकायहरूसँग प्रत्यक्ष समन्वय गर्ने र मुख्य बालीको न्यूनतम समर्थन मूल्य तोकिने नीति कार्यक्रममा उल्लेख छ।

संघ तथा प्रदेश सरकारको सहकार्यमा गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाको पहल गरिने, गाउँपालिकाभित्र सञ्चालन हुने ठुला विकास निर्माणका आयोजनामा कम्तीमा २० प्रतिशत जनशक्ति अनिवार्य पालिकामा बसोबास गर्ने स्थायी बासिन्दाबाट  लगाउनुपर्ने व्यवस्था गरिने भएको छ ।

नेपाल सरकारबाट मनहरि ९ स्थित हरियाली सामुदायिक वन क्षेत्रभित्रको जग्गा पालिकाको केन्द्रीय प्रशासनिक भवन बनाउन भोगाधिकार प्राप्त भइसकेकोले तत्काल ठेक्का बन्दो बस्ती मिलाएर भवन निर्माण कार्य थालनी गरिने पालिका अध्यक्ष कालाखेतीले बताए । 

यस्तै ४ नम्बर वडाको भवन निर्माण प्रक्रिया सुरु गर्नुका साथै जीर्ण अवस्थामा रहेको ३ नम्बर वडाको भवन निर्माणको लागि समेत बजेटको व्यवस्था गरिने भएको छ।

शिक्षा क्षेत्रमा कार्यरत शिक्षक तथा कर्मचारीको पेसागत र व्यक्तिगत क्षमता अभिवृद्धि, पुरस्कार तथा प्रोत्साहन कार्यक्रम सञ्चालन, विद्यार्थीको सहजताका लागि प्राथमिकताको आधारमा क्रमशः विद्यालय बसको प्रबन्ध, विद्यार्थी लक्षित गरिबसँग विश्वेश्वर छात्रवृत्ति र दश जोड दुईसम्म निःशुल्क शिक्षा कार्यान्वयनका लागि सबै विद्यालयमा दिगो आम्दानीको स्रोत खोजिने भएको छ।

स्वास्थ्यतर्फ जेष्ठ नागरिक तथा असहाय वर्गको स्वास्थ्य जाँच तथा उपचारका लागि घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन, मनहरि अस्पतालमा ओपिडी सेवा विस्तारलाई निरन्तरता दिई सेवामा वृद्धि, हाँडी खोला स्वास्थ चौकीमा छुट्टै बर्थिङ सेन्टर निर्माण गर्नुका साथै मेडिकल अफिसर डाक्टरको व्यवस्थापन मिलाइने भएको छ।

बजेट तथा नीति कार्यक्रमले नसमेटिएका योजनालाई सम्बोधन गर्नका लागि अध्यक्ष, उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । नीति तथा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन्।

फुटबल एकेडेमी सञ्चालन गरिने

मकवानपुरको मनहरि गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । युवाहरू माझ लोकप्रिय खेलको रुपमा रहेको फुटबलको एकेडेमी सञ्चालन गर्ने तयारी गरेको हो।आगामी आर्थिक वर्षको लागि प्रस्तुत नीति तथा कार्यक्रममा फुटबल एकेडेमी सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ।

\यसका लागि आगामी १० गते बजेट समेत विनियोजन गरिने भएको छ। यसबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ । मनहरिले गाउँपालिका अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबललाई निरन्तरता दिनुका साथै क्रिकेट, ब्याड्मिन्टन, टेबल टेनिस लगायतका खेलमा रुचि भएका युवाहरूलाई खेलको पालिका, जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहयोग समेत गर्ने भएको छ। 

यस्तै राष्ट्रिय स्तरको जुनसुकै खेलकुदमा ख्याति कमाउन सफल हुने मनहरिका खेलाडीलाई उचित सम्मान तथा पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बता । खेलकुद विकास समितिलाई सक्रिय बनाएर खेलकुदका विभिन्न गतिविधि सञ्चालन गरिनेछ।

 ‘मनहरिको ७ नम्बर वडामा रहेको मदन भण्डारी क्षेत्रीय रङ्गशाला निर्माणका लागि केन्द्र तथा प्रदेश सरकारसँग सहयोग जुटाउनेछौँ’, गाउँपालिका अध्यक्ष कालाखेतीले भने, ‘अन्य वडामा भएका विभिन्न खेल मैदानको स्तरोन्नति गरी एक वडा एक खेल मैदानको अवधारणा बमोजिम विकास गरिनेछ।’ यसअघि मनहरिले फुटबल र भलिबल प्रतियोगिताको लागि मात्रै बजेट विनियोजन गर्दै आएको थियो।

प्रकाशित: ५ असार २०८१ १८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App