२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाँच महिनामा पाँच लाख पाहुना

पोखरा भित्रिएका विदेशी पाहुना प्याराग्लाइडिङमा रमाउँदै। तस्बिर: सन्तोष/नागरिक

नेपालमा विदेशी पर्यटक आगमन पाँच महिनामा पाँचलाख नाघेको छ। सन् २०२४ को पाँच महिना (जनवरी–मे) सम्म सबैगरी पाँच लाख ६ हजार दुई सय ८० जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। ती सबै हवाई माध्यमबाट भित्रिएका विदेशी हुन्। स्थलमार्ग हुँदै भित्रिने विदेशीको तथ्यांक छैन।

पर्यटन बोर्डको तथ्यांक अनुसार नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार एक सय विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा ९७ हजार चार सय २६ थियो। मार्चको आगमन संख्या एक लाख २८ हजार एक सय ६७ थियो।

अप्रिलको आगमन भने एक लाख ११ हजार तीन सय ७६ रहेकोमा मे महिनामा ९० हजार दुई सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। सबैगरी पाँच लाख ६ हजार दुई सय ८० जना विदेशी पाहुना नेपाल भित्रिएको बोर्डको भनाइ छ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष २०१९ हो। त्यो वर्ष झन्डै १२ लाख विदेशी पाहुना नेपाल भित्रिएका थिए। ‘पर्यटक आगमनमा सुधार भएकै छ। २०१९ मेको तुलनामा २०२४ मेमा मात्र १५ प्रतिशत बढी विदेशी पाहुना नेपाल भित्रिए,’ लामिछानेले भने, ‘२०१९ को भन्दा बढी आगमन हुने संकेत छ। सरकारले पनि आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य राखेको छ।’

सन् २०१९ पछि कोरोना भाइरस संक्रमणले गर्दा नेपालमा विदेशी पाहुना आगमन ह्वात्तै घटेको थियो। ‘२०२० मे महिनामा जम्मा ३१ जना विदेशी पाहुना आएका थिए। त्यो आगमन अहिले झन्डै एकलाख पुग्न लाग्यो,’ उनले भने, ‘यसलाई सकारात्मक मान्नैपर्छ।’ सन् २०२१ मे मा १५ सय ३१, सन् २०२२ मेमा ५४ हजार ९३ र २०२३ मे महिनामा ७७ हजार ७ सय तीन जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।

‘सन् २०२३ मे मा भन्दा २०२४ मेमा १६ प्रतिशत बढी विदेशी पाहुना नेपाल भित्रिएका छन्,’ लामिछानेले भने, ‘पर्यटन क्षेत्र अब कोरोना अघिको अवस्थामा फर्किन थालेको पुष्टि भएको छ।’

कोरोना भाइरस संक्रमण फैलिरहँदा व्यावसायीले २०२४ पछि मात्र पर्यटन क्षेत्र शतप्रतिशत ‘रिकभर’ हुने अनुमान गर्दै आएका थिए। त्यही पूर्वानुमान अनुसार नै अहिले पाहुना आमगनले गति लिएको उनले बताए।

उनका अनुसार कोरोना संक्रमणपछि ओरालो लागेको विश्वको पर्यटन क्षेत्र २०२४ को अहिलेसम्म ९७ प्रतिशत रिकभर भइसकेको छ। नेपालको पर्यटन क्षेत्र भने ९८ प्रतिशतनै रिकभर भइसकेको छ।

सरकारले पर्यटक आगमन बढेपछि आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा– १६ लाख विदेशी पर्यटक भित्र्याउने गरी पर्यटन प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसमेत सार्वजनिक गरेको छ। त्यसका लागि नयाँ गन्तव्यको पहिचान गर्ने बजेटमा उल्लेख छ।

पर्यटक भित्र्याउन छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख सहरमा पर्यटक लक्षित रोड–सो, मेला, महोत्सव जस्ता पर्यटन प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने पनि बजेटमा छ। बोर्डका अनुसार यो मे महिनामा मात्र सबैभन्दा बढी भारतीय पाहुना नेपाल भित्रिएका छन्।

सबैगरी ३८ हजार दुई सय ८८ जना भारतीय पाहुना नेपाल भित्रिएका छन्। दोस्रो नम्बरमा अमेरिकी पाहुनाको संख्या बढी छ। मे महिनामा आठ हजार पाँच सय २७ जना अमेरिकी पाहुना नेपाल भित्रिएका छन्। तेस्रो नम्बरमा चिनियाँ पाहुनाको आगमन छ। चिनियाँ पाहुनाको संख्या आठ हजार तीन सय ८१ रहेको छ। चौथो नम्बरमा बंगलादेशी पाहुनाको संख्या तीन हजार चार सय ५८ रहेको छ।

नेपालको पर्यटन बजारले चिनियाँ र भारतीय पर्यटनसँग बढी नै आशावादी छ। भारतीय पर्यटक आगमनकै कारण पर्यटन क्षेत्र चलायमान बनेको व्यवासायीले बताउँदै पनि आएका छन् तर चिनियाँ पाहुना भने सोचे अनुरूप आगमन हुन नसकेको उनीहरूको भनाइ छ। किनभने कोरोना भाइरस संक्रमणअघिको समयमा नेपालमा भारतीयपछि चिनियाँ पाहुनाको आगमन संख्यात्मक रूपमा बढी हुने गरेको थियो। भारतपछि चीन र तेश्रो नम्बरमा अमेरिकी पाहुनाको संख्या बढी हुनेमा अहिले चिनियाँभन्दा अमेरिकी पाहुना बढी रहेको तथ्यांकले देखाएको छ।

बोर्डका निर्देशक लामिछानेले पनि पर्यटन क्षेत्रले आशा गरे अनुरूप चिनियाँ पाहुनाको आगमन हुन नसकेको बताए। ‘भारतीयपछि चिनियाँको संख्या बढी हुनुपर्ने हो तर चिनियाँको संख्या सोचेजस्तो उकालो लाग्न सकेको छैन,’ लामिछानेले भने, ‘भारतीय बजार त निकै राम्रो छ। त्यसपछिको बजार चिनियाँ हुनुपर्ने हो तर अहिले अमेरिकी बजारले जितेको छ।’ नेपालले चिनियाँ बजारबाट पर्याप्त पाहुना पाउन नसकेको उनले बताए।

‘चिनियाँको आर्थिक अवस्था केही कमजोर भएको सुनिने गरेको छ। त्यसले पनि असर पारेको हुनसक्छ। त्यसबाहेक नेपाली गन्तव्य महँगो परेको पनि चिनियाँको गुनासो सुनेका छौं,’ लामिछानेले भने, ‘कोरोनापछि चीनमा उत्तिसारो प्रचारप्रसार पनि भएको छैन। उचित प्रचारप्रसार नहुँदा पनि पाहुना आगमन कमजोर बनेको आकलन छ।’

प्रचारप्रसार अभावमा चिनियाँ बजारले गति लिन नसक्दा तथ्यांकमा पनि कमजोर देखिएको उनले बताए। ‘लामो समयपछि केही साता अघि बल्ल चीनमा प्रवद्र्धनात्मक अभियान भयो। लामो ग्यापले गर्दा पनि बजार सुस्ताएको अनुभव भएको हो,’ उनले भने, ‘लामो समयसम्म नेपालको प्रवद्र्धनात्मक अभियान चीनमा सुस्तायो। त्यसले असर परेको हो।’

अमेरिकी बजारमा भने निजी क्षेत्रले पनि बारम्बार प्रवद्र्धन गरिरहेको छ। त्यसले गर्दा पनि आगमन बढिरहेको उनले बताए। ‘अमेरिकाको अर्थतन्त्र पनि चलायमान बनिसकेको छ। बजारीकरण पनि भएको छ। निजीक्षेत्रले पनि बजारीकरण गरेको छ,’ उनले भने, ‘अमेरिकी बजारमा नियमित उपस्थितिले गर्दा केही सहज भएको छ।’

प्रकाशित: २७ जेष्ठ २०८१ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App