२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इलन मस्कको एक्स-एआई अन्य एआई कम्पनीभन्दा धेरै पछाडि

कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रति लगानीकर्तामा यति बढी आशा बढिरहेको छ कि नयाँ नयाँ कम्पनीमा ठूलो लगानी गर्नेहरू बढिरहेका छन्। पछिल्लो पंक्तिमा आकर्षणको केन्द्र इलन मस्कको एआई कम्पनी एक्स-एआई परेको छ।

यसले अमेरिकाको सिलिकन भ्यालीका ठूला भेन्चर क्यापिटल कम्पनीले लगानी गर्ने भएका छन्। तिनमा लाइटस्पिड भेन्चर पार्टनर्स, एन्ड्रिसेन होरोवित्ज, सिकोइया क्यापिटल र ट्राइब क्यापिटलजस्ता कम्पनीले लगानी गर्ने भएका छन्। यी सबै कम्पनीले मस्कको कम्पनी एक्स एआई जस्तो नयाँ स्टार्टअपलाई १८ अर्ब डलर बराबरको मूल्यांकन गरेका छन्। यसअघि मस्कले आफ्नो नयाँ कम्पनी एक्स एआईका लागि ६ अर्ब डलर उठाउने घोषणा गरेका थिए।

यो मूल्यांकनपछि उठाइएको रकममा उनको लक्ष्यभन्दा केही लाख डलरभन्दा कम लगानी कबुलिएको एक लगानीकर्ताले बताएका छन्।

अहिलेको एआई बजारमा ओपन एआई सबैभन्दा अगाडि छ। माइक्रोसफ्टको बिङ र को-पाइलट, एन्थ्रोपिक र गुगल पनि दौडमा छन्। यता एक्स एआई भने ती सबैभन्दा कमजोर स्टार्टअप देखिएको छ।

मस्कले अन्य कम्पनी गज्जबकै बनाएको हुनाले त्यसैका आधारमा यो लगानी जुटेको हो। मस्कले यसको ग्रोक च्याटबट बजारमा ल्याउने तयारी गरेका छन्।

सन् २०१८ सम्म मस्क ओपन एआईको सहसंस्थापक थिए। हालका प्रमुख कार्यकारी साम अल्टम्यानसँगको विवादपछि उनले यो कम्पनीसँगको सम्बन्ध तोडेका थिए। त्यसपछि मस्कले ओपन एआई र अल्टम्यानलाई विभिन्न कारण देखाएर मुद्दा हालेका थिए।

एआई प्रणाली बनाइँदा ‘सर्वजन हिताय, सर्वजन सुखाय’को सिद्धान्त अपनाइएको भए पनि पछि नाफाखोर बाटो रोजेको भन्दै मस्कले आलोचना गरेका थिए। मस्कको सो मुद्दा र उनको भनाइलाई पछि ओपन एआईले गलत रहेको र स्वयं मस्क नाफाको बाटो खोजेर ओपन एआईमा गाँसिएको प्रमाण पेश गरेको थियो। सोही आधारमा उक्त मुद्दा यत्तिकै सेलाएको थियो।

त्यसयता मस्कले आफ्नो नयाँ कम्पनीले आर्टिफिसियल जेनरल इन्टेलिजेन्सको पारदर्शितालाई जोड दिने बताएका छन्। उनको कम्पनीले मानिसभन्दा उच्च संज्ञानात्मक क्षमता प्रदर्शन गर्ने र त्यसले सिधासिधा ओपन एआईलाई टक्कर दिने बताएका छन्।

उनले आफ्नो कम्पनी उच्च गुणस्तरको सत्यमा आधारित आर्टिफिसियल इन्टेलिजेन्स हुनेमा प्रतिबद्ध भएको बताएका छन्। पछिल्ला एआईहरू ‘पोलिटिकल्ली करेक्ट’ भएकाले आफूले त्यस्ता कुरालाई सच्याएर एक्स एआई तयार पार्ने बताएका छन्।

त्यसो त मस्कले आफ्नो नयाँ कम्पनीबारे जे भने पनि एक्स एआई अन्य कम्पनीको तुलनामा निकै कमजोर र धेरै पछाडि परिसकेको केही विश्लेषकको धारणा छ। तिनलाई पछ्याउन र सँगसँगै अघि बढ्न मस्कले आधारभूत चिप्सहरूमा अर्बौं डलर लगानी गर्नुपर्ने देखिन्छ। त्यसका लागि हाल उठेको रकम निकै न्यून हुने केहीको धारणा छ।

-विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित: १५ जेष्ठ २०८१ ०९:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App