२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

लुम्बिनीमा किन अडिंदैनन् पर्यटक?

सन्दर्भ: बुद्ध जयन्ती

अघिल्ला वर्षहरूमा कोरोनाले थलिएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै बौरिन थालेको छ। पर्यटक आगमन पोहोर–परारकोभन्दा बढेको छ। यो वर्ष लुम्बिनीमा भएका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरूका कारण पनि भारतीय तथा विदेशी मुलुकका पर्यटकको चाहलपहल बढ्दो छ। पर्यटकको बसाइ निकै छोटो छ। जसका कारण यहाँको पर्यटन क्षेत्र उत्साहित हुन सकेको छैन।

सन् २०२३ मा ६ लाख ५६ हजार आन्तरिक, दुई लाख ६६ हजार भारतीय र ७६ हजार तेस्रो मुलुकका पर्यटक आएका थिए। माघ यता अर्थात् सन् २०२४ को जनवरीदेखि अप्रिलसम्मका चार महिनामा मात्रै दुई लाख ३६ हजार नेपाली, ८७ हजार भारतीय र ४८ हजार विदेशी पर्यटक लुम्बिनी घुम्न आएका छन्।

यो तथ्यांकले यहाँको पर्यटन क्षेत्रलाई उत्साही बनाउँदैन। त्यसको एउटै कारण हो पर्यटकको बसाइ अवधि छोटो हुनु। लुम्बिनी घुम्न आएका पर्यटक धेरै समय लुम्बिनीमा अडिँदैनन्। तिलौराकोट, रामग्राम जस्ता बुद्धस्थलसम्म पुग्नेको संख्या त झन् निकै कम छ। तथ्यांकमा पर्यटक आगमन बढे पनि तिनको बसाइ अवधि छोटो हुँदा त्यसबाट पर्यटन क्षेत्रमा फाइदा हुन नसकेको लुम्बिनी विकास कोषकै अधिकारीहरू बताउँछन्।

अध्यागमन कार्यालय बेलहियाका अनुसार लुम्बिनी आउने कुनै एक विदेशी पर्यटकको बसाइ मुस्किलले सरदर डेढ दिनको हुन्छ। लुम्बिनी आउनेमध्ये ९० प्रतिशत पर्यटक आएकै दिन फकर्ने गरेको तथ्यांकबाट देखिन्छ।

लुम्बिनीमै बास बस्नेहरू पनि आधाभन्दा धेरै आफ्नै देशका बौद्धगुम्बा वा बिहारमा बस्छन्। लुम्बिनी आएका पर्यटकमध्ये करिब १० प्रतिशतलाई मात्रै यहाँको पर्यटन क्षेत्रले सेवा गर्ने मौका पाएको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले बताए।

पर्यटन व्यवसायीका अनुसार लुम्बिनी आउनेमध्ये अधिकांश विदेशी रूपन्देहीको बेलहिया नाका हुँदै भारत फर्किन्छन्। बाँकी काठमाडौं, चितवन वा पोखरासम्म पुग्छन्। स्थलमार्ग हुँदै भारतीय टुर प्याकेजमा नेपाल आएका विदेशी पर्यटकको बसाइ निकै छोटो भएको पर्यटन व्यवसायी ज्ञवालीले बताए।

‘बरु आन्तरिक र भारतीय पर्यटक लुम्बिनीमा एक रात अडिन्छन्। विदेशीहरू एक छाक खानासमेत आफ्नै देशका बिहार र गुम्बामा खाएर फर्किन्छन्’ लुम्बिनी होटल संघ अध्यक्ष ज्ञवालीले भने।

खासगरी स्थलमार्ग हुँदै आउने विदेशीहरूमा लुम्बिनी बाहेकका बुद्धस्थलहरू भारतमै रहेको बुझाइ पाइन्छ। बेलहिया नाका हुँदै आउने पर्यटकलाई भारतीय टुर प्याकेजमा दुई–चार घण्टाका लागि लुुम्बिनी ल्याउने र अन्य बुद्धस्थलहरू भारतमै रहेको गलत जानकारी दिने गरिएको नेपाल एसोसिएसन ट्राभल एजेन्सी नाटा लुम्बिी प्रदेशका संस्थापक अध्यक्ष विष्णु शर्माले बताए। ‘लुम्बिनी र बुद्धस्थलबारे जानकारी दिने व्यवस्था हामी कहाँ नभएपछि विदेशीहरूले भारतीय गाइडले जे भन्यो त्यही पत्याउने नै भए’, अध्यक्ष शर्माले भने।

शर्माले भने जस्तै लुम्बिनी र अन्य बुद्ध स्थलहरूबारे पर्यटकलाई जानकारी दिने व्यवस्था कहीँ कतै छैन। पर्यटकले चाहेर पनि लुम्बिनीमा दक्ष गाइड फेला पार्न सक्दैनन्।

पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ, अधुरो लुम्बिनी गुरुयोजना, बुद्धस्थलहरूको कनेक्टिभिटी र सहज यातायात सेवाको अभाव तथा लुम्बिनीबाहेकका बुद्धस्थलहरूको प्रचार प्रसार हुन नसक्नु पर्यटकको बसाइ लम्बिन नसक्नुका मुख्य कारण हुन्।

कपिलवस्तुमा बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, ज्ञान पाएपछि पहिलो पटक आएर बसेको कुदान, क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, प्राचीन स्तुप जस्ता महत्त्वपूर्ण बुद्धस्थलहरू छन्। नवलपरासीमा बुद्धको अस्तु धातु रहेको रामग्राम र रूपन्देहीमै बुद्ध मावली देवदह मुख्य बुद्धस्थलहरू हुन्। जसको पर्याप्त प्रचार प्रसार, संरक्षण र सौन्दर्यीकरणमा ध्यान दिइएको छैन। ती स्थलसम्म पुग्ने सहज सडक र सुविधा सम्पन्न यातायात छैन। जसका कारण चाहेर पनि पर्यटक ती स्थलसम्म पुग्न सकिरहेका छैनन्। केही बौद्धमार्गीहरू तिलौराकोट, रामग्राम पुगिहाले पनि ती स्थानमा धेरै बेर अडिँदैनन्।

लुम्बिनी आउनेमध्ये करिब १० प्रतिशत पर्यटक मात्रै तिलौराकोट पुगेको तथ्यांक छ। पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र बेलायतको दुरहाम विश्वविद्यालयले संयुक्त रूपमा गरेको सर्वेक्षण अनुसार तिलौराकोट पुग्ने पर्यटकको बसाइ सरदर आधा घण्टा मात्रै छ।

श्रीलंका, थाइल्यान्ड म्यानमार जस्ता देशबाट आएका बौद्धमार्गीहरू भारतीय गाडीमा तिलौराकोट पुगेर पश्चिमी गेटबाट सामान्य अवलोकन गरेपछि एकै छिनमा फर्किने गरेको तितो यथार्थ सुनाउँछन्, लुम्बिनी विकास कोषको कपिलवस्तु सम्र्पक कार्यालयका प्रमुख माधवप्रसाद आचार्य। रामग्रामको अवस्था झन् दयनीय छ। रामग्राममा पर्यटक पुगिहाले भने पनि खानेपानी, शौचालय जस्ता न्यूनतम सेवा सुविधासमेत उपलब्ध छैनन्।

बृहत्तर लुम्बिनी क्षेत्रका बुद्ध स्थलहरूको व्यवस्थित विकास र संरक्षण नहुँदा त्यहाँ पुगिसकेका पर्यटकलाई ती सम्पदाले लोभ्याउन नसकेको तितो अनुभव पर्यटन व्यवसायीसँग छ। लुम्बिनीका पर्यटन व्यवसायी ज्ञवाली भन्छन्, ‘पर्यटनबाट समृद्धि हासिल गर्ने हो भने बुद्धस्थलहरूमा पूर्वाधार विकास हुनुपर्छ। लुम्बिनीसँगै जोडेर बुद्धस्थलहरूको प्रचार पसार गरिनु पर्छ।’

बुद्ध परिपथ निर्माणको काम छिटो सम्पन्न गरी पर्यटक बस सञ्चालन गर्न पनि उनले माग गरे। राज्यले लुम्बिनीलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्नुपर्ने र बृहत्तर लुम्बिनीको विकासमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

लुम्बिनीभित्रै पनि पर्यटकलाई भुल्याई राख्न बुद्ध जिवनी, कला संस्कृति, ध्यान, दर्शन, बौद्ध पूजा तथा शान्ति प्रार्थनाले गुन्जायमान गराउनु पर्नेमा जोड दिन्छन्। नाटा लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष शर्मा। बौद्ध सम्पदाको संरक्षण गर्दै पार्क, मनोरञ्जन स्थल, भ्यु टावर जस्ता पूर्वाधारको खाँचो रहेको उनले बताए।

लुम्बिनी प्रवेश स्थलहरूमा लुम्बिनी र बुद्धस्थलहरूका बारेमा पर्याप्त जानकारी, दक्ष गाइड र सुविधा सम्पन्न यातायातको व्यवस्था गर्नुपर्नेमा शर्माले जोड दिए। नेपालले दिँदै आएको ‘भिसा फ्रि सिष्टम’ हटाउनुपर्ने र बौद्ध गुम्बा, बिहारहरूलाई गेष्ट हाउस सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव लुम्बिनी होटल संघका अध्यक्ष ज्ञवालीको छ। सरकारले निजीक्षेत्रसँगको सहकार्यमा पर्यटकको बसाइ अवधि बढाउन दीर्घकालीन योजना ल्याउनुपर्ने माग यहाँका पर्यटन व्यवसायीले विगतदेखि गर्दै आएका छन्।

लुम्बिनीसँगै तिलौराकोट, रामग्राम, देवदह जस्ता बुद्धस्थललाई जोडेर बृहत् शान्ति शहरको अवधारणा अनुरूप विकास गर्नुपर्ने सुझाव छ, पुरातत्वविद वसन्त बिडारीको। निजी क्षेत्रले पनि बृहत्तर लुम्बिनीको अवधारणा अनुरूप लुम्बिनीलाई अन्य बुद्धस्थलहरूसँग जोडेर टुर प्याकेज तयार गरी पर्यटकलाई आकर्षित गर्नेलगायतका योजना ल्याउनुपर्नेमा उनले जोड दिए।

पछिल्लो समय भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि बाह्य मुलुकसँग लुम्बिनी सिधा जोडिने र पर्यटन आगमन बढ्ने अपेक्षा गरिएको थियो। गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ठप्प छ। अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पर्यटक बढ्ने आशमा होटलमा अर्बौं लगानी गरेका व्यवसायी निराश छन्। लगानी जोखिममा छ। अर्बौंको लगानीमा खुलेका तारेदेखि साना ठूला होटलहरू कतिपय त बन्द हुने अवस्थामा पुगेका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट होस् वा बेलहिया नाकाबाट लुम्बिनी पुग्न सुविधा सम्पन्न यातायातको व्यवस्था छैन। ट्याक्सीवालाहरूको भाडादर मनपरी छ।

बुटवल लगायतका नजिकका मुख्य सहरहरूबाटै लुम्बिनी पुग्न सिधा बस सेवा सञ्चालन गरिएको छैन। लुम्बिनी घुमेर कपिलवस्तुको तिलौराकोट वा नवलपरासीको रामग्राम जान चाहने पर्यटकहरू पनि सुविधा सम्पन्न यातायातको अभावमा ती स्थलहरूसम्म पुग्न सकिरहेका छैनन्।

लुम्बिनीका लागि भनेर ल्याइएका करोडौंका सुविधा सम्पन्न विद्युतीय गाडीहरू पाँच वर्षदेखि त्यसै थन्किएका छन्। राज्यका नियामक निकाय एकले अर्कोलाई दोष देखाएर बिजुली गाडी सञ्चालनमा अवरोध खडा गरिरहेका छन्। जसको असर लुम्बिनीको पर्यटन विकासमा परिरहेको छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले आफू कोषमा नियुक्त भएलगत्तै गुरुयोजनाको कामलाई तीब्रता दिएको, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरेको, तिलौराकोट, रामग्राम, देवदह लगायतका बौद्ध सम्पदाहरूको संरक्षण, सम्बद्र्धनका लागि अभियान चलाएको बताए। ‘बृहत्तर लुम्बिनीको विकास र यहाँको पर्यटन प्रबद्र्धनका लागि लुम्बिनीलाई बुद्धमय बनाउने अभियानमा लागेका छौं, अन्तर्राष्ट्रिय सभा सम्मेलन, त्रिपिटक पाठलगायतका कार्यक्रमहरू निरन्तर गरिरहेका छौं’, लामाले भने।

लुम्बिनीलाई विश्व शान्तिको शहरको रूपमा विकास गर्न यहाँका सम्पदाहरूको संरक्षण गर्दै विकासका कामलाई पनि अगाडि बढाउनुपर्ने खाँचो औंल्याए । ‘लुम्बिनीलाई बुद्धमय बनाउने, बौद्ध सम्पदाहरूको संरक्षण र विकास गरी विश्वभरि नै विश्व शान्ति शहरको रूपमा चिनाउने अभियानमा सबैको साथ सहयोगको खाँचो छ’, उपाध्यक्ष लामाले भने।

प्रकाशित: १० जेष्ठ २०८१ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App