२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्रका बाह्य सूचक मजबुत

मुलुकको अर्थतन्त्रका आन्तरिक सूचक कमजोर देखिए पनि बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत भएका छन्। आन्तरिक अर्थतन्त्र शिथिल रहेको अवस्थामा बाह्य सूचकमा आएको सुधारले आशा जगाएको जानकार बताउँछन्।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आव २०८०÷८१ को नौ महिना (चैतसम्म) को तथ्यांकअनुसार विदेशी विनिमय सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रूपैयाँ पुगेको छ। यसले १५ महिनाको आयात धान्छ।

नौ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रूपैयाँ रेमिटेन्स आप्रवाह भएको छ। शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोड रूपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशतमा सीमित छ। यो अर्थतन्त्रका लागि सकारात्मक संकेत हो।

विदेशी विनिमय सञ्चिति, रेमिटेन्स आप्रवाह, शोधनान्तर स्थितिलगायत बाह्य सूचक मजबुत देखिनु अर्थतन्त्रका लागि सुखद भएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए। ‘पछिल्लो तथ्यांकअनुसार बाह्य सूचक मजबुत देखिएका छन्,’ उनले भने, ‘यसलाई सदुपयोग गर्नुपर्‍यो।’

बाह्य सूचकले आन्तरिक वातावरण सुधारमा सघाउ पुर्‍याउने भएकाले निजी क्षेत्र, सरकारलगायतका निकायले ‘प्रोएक्टिभ’ भएर काम गर्नुपर्ने थापाले बताए। कतिपय अर्थशास्त्री बाह्य सूचकमा सुधार हुँदैमा सन्तोष मान्न नसकिने बताउँछन्। आयात घटेकाले विदेशी विनिमय सञ्चिति बढेको हो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड रूपैयाँ पुगेको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको हो। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।

चालु आवको नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार हाराहारी पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ थियो।

रेमिटेन्स आप्रवाह मात्र नभएर विदेशी विनिमय सञ्चिति पनि उल्लेख्य वृद्धि भएको छ। आयात घटेकाले सञ्चिति बढेको हो। विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले बढेर चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

गत असार मसान्तमा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ बराबर थियो। त्यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा चैत मसान्तसम्म आउँदा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ।

आर्थिक वर्ष २०८०-८१ को ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।  

उपभोक्ताले अनुभूति गर्न नसके पनि महँगी घट्दै गएको राष्ट्र बैंकले जनाएको छ। चालु आवको ९ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ७.७६ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१४ प्रतिशत छ। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २२.६४, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ र गैरमदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले बढेको छ।

घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १०.१० प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८१, मनोरञ्जन तथा संस्कृतिको १२.६१ र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ। यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ।

त्यसैगरी चैत मसान्तसम्म शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा थियो। समीक्षा अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोड रूपैयाँले बचतमा छ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६० अर्ब ४३ करोड रूपैयाँले घाटामा थियो। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा भने कमी आएको छ। पुँजीगत ट्रान्सफर १९.२ प्रतिशतले कमी आई ४ अर्ब ७८ करोड रूपैयाँ कायम भएको छ। खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ४८ करोडले धनात्मक छ।

सरकारी खर्च भने बढ्न सकेको छैन। ९ महिनामा सरकारको ९ खर्ब ९ अर्ब ३९ करोड रूपैयाँ खर्च भएको छ। सरकारी खर्च गत आर्थिक वर्षको नौ महिनामा १८.७ प्रतिशतले वृद्दि भएकोमा अहिले समीक्षा अवधिमा ३.६ प्रतिशतले ह्रास आएको छ। समीक्षा अवधिमा चालु खर्च ६ खर्ब ४४ अर्ब ३ करोड, पुँजीगत खर्च ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ६७ अर्ब ९९ करोड छ।

प्रकाशित: ३१ वैशाख २०८१ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App