प्युठानस्थित स्वर्गद्वारी आश्रमका मोही किसानहरूले गुठी जग्गामा आफूहरूको एकल स्वामित्व कायम हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।
गुठी जग्गामा एकल स्वामित्व खोजिरहेका उनीहरूले आश्रमलाई तिर्नुपर्ने कुत तिर्न भने अटेर गर्दै आइरहेका छन्। आश्रमका अनुसार केही किसानले कुत बुझाएको भए पनि अधिकांश किसानले बर्सौंदेखि कुत बुझाएका छैनन्। उनीहरूले गुठी जग्गा आफूहरूलाई नदिइएको भन्दै कुत नतिर्ने अडान लिँदै आएका छन्।
आश्रमका अनुसार झन्डै १० वर्ष अघिसम्म गुठी किसानहरूले नियमित कुत बुझाउँदै आएका थिए । त्यसयता भने नियमित कुत उठ्न छाडेको आश्रम प्रशासनले जनाएको छ। ‘झन्डै १० वर्षदेखि कुत नियमित उठेको छैन,’ आश्रम प्रशासन स्रोतले भन्यो, ‘केहीले मात्रै बुझाएका छन्, अधिकांशले बुझाएका छैनन्, गुठी जग्गा नदिएको भनेर उनीहरूले कुत नबुझाउने अडान सुनाउँछन्।’
आश्रम प्रशासनका अनुसार आश्रमले गुठी जग्गामा भएको उब्जनी पाउनुपर्ने हुन्छ। भूमिसुधार कार्यालयले कुतको मापदण्ड बनाएको छ। यही मापदण्ड अनुसार गुठी किसानहरूले आश्रमलाई कुत बुझाउनु पर्छ। आश्रमले धान र तोरी कुत पाउँछ।
लामो समयदेखि किसानहरूले कुत नबुझाएका कारण आश्रमले पाउनु पर्ने कुत बक्यौता १७ हजार सात सय ७३ क्विन्टल धान र तोरी चार हजार तीन सय ४६ क्विन्टल छ। ‘
आर्थिक वर्ष २०७९-०८० सम्मको तथ्यांकलाई हेर्ने हो भने आश्रमले कुत बापत पाउनु पर्ने बक्यौता १७ हजार सात सय ४३ क्विन्टल धान र चार हजार तीन सय ४६ क्विन्टल तोरी छ,’ आश्रम प्रशासन स्रोतले भन्यो ‘बर्सौँदेखि यसको परिमाण बढ्दै गइरहेको छ।’
यो वर्ष नौ सय ४० क्विन्टल धान कुत पाएको आश्रमले तोरी पाएन। जबकि आश्रम प्रशासनका अनुसार आश्रमले बर्सेनि १८ सय १५ क्विन्टल धान र चार सय १८ क्विन्टल तोरी कुतबापत पाउनु पर्छ।
स्वर्गद्वारी आश्रमको जग्गा दाङमा एक हजार ३४ बिघा बढी छ। योमध्ये सात सय बिघा जमिन मोही कायम भएको छ। मोही कायम भएको यो जग्गाबाट आश्रमले कुत पाउनु पर्छ। बाँकी जग्गा भने अतिक्रमणमा परेको छ। भूमि सुधार कार्यालयले आश्रमले पाउने कुतको विवरण जग्गाको कित्ता अनुसार निर्धारण गरिदिएको छ।
जसअन्तर्गत साविक टरिगाउँ गाविसमा रहेको मोही कायम जग्गाबाट बर्सेनि प्रतिकट्ठा १३ क्विन्टल धान र सात क्विन्टल तोरी, साविक सौँडियार गाविसबाट प्रतिकट्ठा ६ क्विन्टल धान र तीन क्विन्टल तोरी, साविक रामपुर गाविसबाट प्रतिकट्ठा १४ क्विन्टल धान र नौ क्विन्टल तोरी, साविक चैलाही गाविसका मोही जग्गाबाट प्रतिकट्ठा २६ क्विन्टल धान र ११ क्विन्टल तोरी, साविक सतवरिया गाविसबाट २० क्विन्टल धान र १० क्विन्टल तोरी र साविक घोराही नगरपालिकामा रहेको मोही जग्गाबाट प्रतिकट्ठा १३ क्विन्टल धान र नौ क्विन्टल तोरी पाउनु पर्ने नियमअन्तर्गत आश्रमले बर्सेनि कुल १८ सय १५ क्विन्टल धान र चार सय १८ क्विन्टल तोरी कुत पाउनु पर्छ।
आश्रमका अनुसार साविक चैलाही र घोराही क्षेत्रबाट मात्रै अहिले आंशिक रूपमा कुत उठ्छ तर अन्य क्षेत्रबाट कुत उठ्नै छाडेको छ। ‘घोराही क्षेत्र र चैलाही क्षेत्रबाट मात्रै आंशिक रूपमा कुत उठ्छ,’ आश्रम स्रोतले भन्यो, ‘बाँकी क्षेत्रबाट धेरै लामो समयदेखि कुत उठ्न सकेको छैन।’
हजारौँ क्विन्टल कुत पाउनबाट बञ्चित आश्रमले जग्गाको मालपोत भने आफैं तिर्दै आएको छ। किसानहरूले कुत नबुझाउँदा आश्रमको आयस्रोत घटेको र जग्गाको मालपोत भने आफैं तिरिरहनु पर्दा आश्रमलाई थप आर्थिक व्यवभार बढेको आश्रमले जनाएको छ।
‘जग्गाबाट आउनु पर्ने आम्दानी घटिरहेको छ, किसानहरूले दिन मान्दैनन्,’ आश्रम स्रोतले भन्यो, ‘यता जग्गाको मालपोत भने आश्रमले नै तिरिरहनु पर्छ, यसले आश्रमलाई ठूलो व्ययभार भएको छ।’ आश्रमको गुठी जग्गा उपभोग गर्दै आएका तीन हजार पाँच परिवार मोही किसान छन्। उनीहरूले जग्गामा कायम आश्रम र किसानको द्वैध स्वामित्व अन्त्य गरी आफूहरूको मात्रै एकल स्वामित्व कायम हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।
आश्रमको जग्गा निजी गुठी भएको भन्दै यसमा मोही कायम गर्न नहुने र जग्गा खण्डीकरण गर्न पनि नहुने कानुनी जटिलता छ। सर्वोच्चले २०६२ मा जग्गा खण्डीकरण गर्न नहुने भन्दै दिएको परमादेशले किसानहरूलाई जग्गा पाउन बन्देज गरिदिएको छ।
प्रकाशित: १० माघ २०८० ०१:५९ बुधबार