२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङः ‘सोलो’ उडानलाई ठाउँ नै भेटिएन

पोखराको आकाशमा उडिरहेको प्याराग्लाइडिङ । फाइल तस्बिरः नागरिक

झन्डै तीनमहिनादेखि बन्द रहेको प्याराग्लाइडिङको एकल (सोलो) उडान अझै सुचारु हुन सकेको छैन। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको सोलो उडानमा प्रतिबन्ध लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताएपनि अझै सुचारु भएको छैन।  

सोलो उडान बन्द हुँदा प्याराग्लाइडिङ पाइलटले अभ्यास गर्न पाएका छैनन्। त्यसबाहेक सोलो उडानकै लागि भनेर आएका विदेशी पाइलट पनि उड्न नपाएको व्यवसायीको गुनासो छ। प्याराग्लाइडिङ क्षेत्रमा प्रवेश गरेका पाइलटले थप अनुभव बटुल्नका लागि सोलो उडान गर्नुपर्छ। तर, प्राधिकरणले अहिले सोलो उडानका लागि ठाउँ तोकिदिएको छैन। गत असोज ३० गते मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएपछि प्याराग्लाइडिङका सबैखाले उडानमा रोक लगाएकोमा पछि व्यवसायिक (टेण्डम) उडान भने खुलाइएको थियो। तर, सोलोका लागि भने ठाउँ नभएको भन्दै उडान सुरु हुन सकेको छैन।  

प्राधिकरणले मात्र नभई स्वयं प्याराग्लाइडिङ व्यवसायीले पनि सोलो उडानका लागि उपयुक्त भनेर निश्चित ठाउँ तोक्न सकेका छैनन। प्राधिकरणले सोलो उडानका लागि उपयुक्त हुने ठाउँ तोक्ने जिम्मा प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)लाई दिएको थियो। ना ले पूर्व अध्यक्ष राजेश बमजनको अध्यक्षतामा अध्ययन टिम तयार पारेर सोलो उडानका लागि उपयुक्त ठाउँ शिफारिस गर्न लगाएको थियो। तर, त्यो टिमले पनि उपयुक्त ठाउँ पहिचान गर्न सकेको छैन।  

सोलो उडान बन्द हुँदा कतिपय विदेशी पाइलटले उड्न पाएका छैनन भने प्याराग्लाइडिङ उडान क्षेत्रमा प्रवेश गर्ने नयाँ पाइलट उत्पादनमा पनि असर पर्ने व्यवसायीको गुनासो छ। प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीका अनुसार सोलो फ्लाइटका लागि अहिले कतै पनि उड्ने ठाउँ छैन। उनका अनुसार यसअघि पोखराको सराङकोट आकाशमा प्याराग्लाइडिङको सोलो र टेण्डम (व्यवसायिक) उडान हुँदै आएको थियो। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि जनवरी १ देखि प्याराग्लाइडिङको व्यवसायिक उडान भने सराङकोटबाट हटेर मान्द्रेढुंगा सरेको छ। तर, सोलो उडानको लागि भने अझै ठाउँ यकिन नभएको उनले बताए।  

‘सोलो उडानको ठाउँ पहिचान गरेर शिफारिस गर्न प्राधिकरणले ना लाई भनेको हो। हामीले पनि त्यही अनुुसार अध्ययन टिम बनाएका हौ, तर, अहिलेसम्म ठाउँ यकिन हुन सकेको छैन। कुन ठाउँ उपयुक्त हुन्छ भनेर भन्न सकिएको छैन,’ भण्डारीले भने, ‘पोखरामै प्याराग्लाइडिङ उडान रहने वा नरहने भन्ने अन्योल रहिरहँदा पनि यो कामले गति लिएन। त्यसबाहेक उपयुक्त ठाउँ पहिचान गर्न पनि सकिएको छैन।’

भण्डारीका अनुसार स्याङजाको पुतलीबजार र स्वरेक मैदानमा उपयुक्त हुन सक्ने भनेर प्रस्ताव गरिएको पनि हो। त्यस्तै कास्कीको माछापुच्छ«े गाउँपालिकाको घाचोक पनि सम्भावित ठाउँको रुपमा रहेको भनेर स्थानीयस्तरबाट शिफारिस भएपनि त्यसबारे टुंगो लागिनसकेको उनले बताए। ‘हवाई सुरक्षाका दृष्टिले पनि जहाँ पायो त्यहाँ उडान हुने कुरा रहेन,’ उनले भने। ना ले गठन गरेको टिमले अध्ययन गरेर प्रतिवेदन दिने र त्यही प्रतिवेदन प्राधिकरणमा पेश गर्ने भनेपनि अझै टुंगो नलागेको उनले बताए। ‘सोलो पाइलट ठाँउ नपाउँदा उड्न पाएका छैनन। त्यसबाहेक सोलो उडान गरेर अवधि बढाउने पाइलट पनि बञ्चित भएका छन्। तरपनि सोलो उडानका लागि यही ठाउँ पक्का भनेर भन्न सकिएको छैन,’ उनले भने।  

ना को तर्फबाट गठिन अध्ययन समितिका संयोजक राजेश बमजनले पनि प्याराग्लाइडिङ नै पोखरामा रहने वा नरहने भन्ने व्यवसायिक अन्योलले गर्दा अघि बढ्न नसकेको बताए। ‘प्याराग्लाइडिङमा पोखरामै रहने त भयो, तर, सराङकोट र तोरीपानीबाट हटेपछि सोलोका लागि नयाँ ठाउँ तोक्नेबारे ‘वर्कआउट’ हुनसकेको छैन,’ बमजनले भने। बमजनका अनुसार प्राधिकरणले प्याराग्लाइडिङ उडानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १० नटिकल माइल बाहिर मात्र उड्न पाउने भनेकोले पनि उपयुक्त ठाउँ पाउन सकस भएको उनले बताए।

‘१० नटिकल माइल भन्दा बाहिर जाँदा पहुँचयुक्त ठाउँ देखिएको छैन। तरपनि खोजी गरिरहेका छौ। पोखराभित्र सम्भव देखिएको छैन,’ उनले भने, ‘आउजाउका लागि सहज र खानपिन तथा बसोबासका लागि पनि उपयुक्त ठाउँ हुनुपर्छ। तर, टाढा जानुपर्दा सहज छैन।’ १० नटिकल माइल भन्दा बाहिर खोज्नुपर्ने भएपछि बढी अन्योल भएको उनले बताए।  

‘हामीले नै उपयुक्त ठाउँ शिफारिस गर्न सकेका छैनौ। अध्ययन नै नगरि प्रस्ताव मात्र गरेर भएन। कहाँ कसरी गर्ने भनेर टुंगो लगाउन सकिएन,’ उनले भने, ‘कतिपय उपयुक्त भनिएका ठाउँले पहिले नै कुनै रुपमा अनुमति पाइसकेका छैन। स्याङजाको स्वरेक मैदान प्याराग्लाइडिङ स्कुलका लागि हो। त्यस्तै अरु ठाउँले व्यवसायिक रुपमा उडानका लागि अनुमति पाएका छन।’ सोलो उडानका लागि भनेर अहिलेसम्म कतैपनि अनुमति नपाएको र ठाउँ नतोकिएको उनले बताए।  

अहिले सोलो उडान गर्न नपाउँदा प्राधिकरणलाई पनि राजस्व घाटा उनले बताए। उनका अनुसार एकल  उडानका लागि आउने विदेशी पाइलट पोखरामा २ सातासम्म बसेर उडान गर्दथे। तर, अब भने उनीहरुले उडान गर्न नपाएको उनले बताए। ती विदेशीले शुल्क तिरेर उड्ने गर्दथे। त्यसबाहेक टेण्डम उडान गर्ने पाइलटले पनि अनुभव बढाउनका लागि फुर्सदको समयमा एक्लै गएर उड्ने गरेकोमा अहिले त्यो अवसर पनि गुमेको उनले बताए।  

प्रकाशित: २६ पुस २०७९ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App