२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

प्याराग्लाइडिङ पोखरामै रहिरहने, तर सराङकोटमा उड्न नपाउने

प्राधिकरणले भन्योः मान्द्रेढुंगा वा अझ पश्चिम जाउ

पोखराको सराङकोटबाट उडिरहेको प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक

आगामी जनवरी १ (सन् २०२३) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको आकाशमा उडान भइरहेको प्याराग्लाइडिङको भविष्य के हुने भन्नेमा सर्वत्र चिन्ता थियो। तर, हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले केही सर्त सहित पोखरा क्षेत्रमै प्याराग्लाइडिङ उड्न दिने निर्णय गरेको छ। 

पोखरा आसपासको आकाशमा उड्न पाउने भएपनि हालसम्म उडान भइरहेको सराङकोट, तोरीपानीको आकाशमा भने प्याराग्लाइडिङलाई उड्न प्राधिकरणले रोक लगाएको छ। प्याराग्लाइडिङ उडानको सुरुवात नै झन्डै अढाईदशक अघि सराङकोटबाट भएको हो। त्यसपछि नजिकैको तोरी पानी र मान्द्रेढुंगा क्षेत्रको आकाश पनि प्याराग्लाइडिङका लागि खुला भएका थिए। तर, अब सराङकोट र तोरीपानीबाट भने उडान गर्न नमिल्ने प्राधिकरणले बताएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको प्याराग्लाइडिङ सधैँका लागि विस्थापित हुने चिन्ता पर्यटन व्यवसायीमा थियो। व्यवसायीले कुनैपनि हालतमा प्याराग्लाइडिङलाई पोखराबाट विस्थापित गर्न नहुने बताइरहेका थिए। पर्यटन व्यवसायीले प्याराग्लाइडिङ विस्थापित हुँदा पोखराको पर्यटन क्षेत्रमा ठुलो धक्का लाग्ने गुनासो गरिरहेका थिए। व्यवसायीको चिन्तापछि प्राधिकरणले पोखराको प्याराग्लाइडिङलाई निश्चित क्षेत्र तोकेर उडान भर्न दिने निर्णय गरेको हो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई क्षेत्रको सुरक्षाको दृष्टिकोणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सेन्टरबाट १० नटिकल माइल (१८.५२ किमी) भित्र प्याराग्लाइडिङ, बेलुन लगायत उडान गर्न नपाइने बताए। त्यस्तै हवाई रुटको दायाँबायाँ ५–५ नटिकल माइल (९.२६ किमी) भित्र पनि प्याराग्लाइडिङ र बेलुन उडान गर्न नमिल्ने भुलले जानकारी दिए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १० नटिकल माइलभित्र पर्ने भएकोले सराङकोटको आकाशमा प्याराग्लाइडिङ गर्न मिल्दैन,’ भुलले भने, ‘पोखराको आकाशको प्याराग्लाइडिङ सकेसम्म जोगाउनुपर्छ भन्ने प्रयास गरेका हौ। तर, हवाई उडानलाई नै जोखिम मोल्नु भएन।’ सराङकोट र तोरीपानीको आकाशमा प्याराग्लाइडिङ उडान गर्न नमिल्ने भएपछि मान्द्रेढुंगा वा सोभन्दा पश्चिमको कुनै एयर स्पेसमा उडान गर्नेगरि सिफारिस गर्न प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) लाई प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार पोखरा उपत्यकाभित्र झन्डै ६ किलोमिटर चौडाइ र २६ किलोमिटर लम्बाईको एयर स्पेस छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिम बिन्दुबाट हाल चालु विमानस्थलसम्मको दूरी २.५ किलोमिटर, फेवातालसम्म ५ किलोमिटर र प्याराग्लाइडिङ उडान हुने क्षेत्रसम्म ६ किलोमिटरको दूरी पर्छ । अहिले पोखराको आकाशमा उडान गर्ने प्याराग्लाइडिङले सराङकोट र तोरीपानीको आकाशमा ७ हजार र मान्द्रेढुंगाको आकाशमा ६ हजार फिट उचाइसम्म मात्र उड्न पाउँछन्। 

डिपार्चर (पश्चिम हुँदै उड्ने) र मिस एप्रोच (पूर्वबाट अवतरण गर्ने क्रममा समस्या भएमा) मा समस्या आउन सक्ने भन्दै प्याराग्लाइडिङलाई हाल उडिरहेको आकाशमा उड्न दिन नमिल्ने प्राधिकरणले बताएको हो। भुलले विमानस्थलको केन्द्रबाट १० र हवाई रुटको ५ नटिकल माइल बाहिर गएर मात्र प्याराग्लाइडिङले उडान गर्नुपर्ने भएकोले नयाँ ठाउँ खोज्न ना लाई भनिएको भुलले जानकारी दिए।

उनका अनुसार जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपनि तत्कालका लागि भिजुअल फ्लाइट रुल्स (भिएफआर) अनुसार नै उडान र अवतरण हुनेछ इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर)का लागि भने एक महिना जति लाग्नेछ । पोखराको हालको चालु विमानस्थलबाट पनि भिएफआर प्रविधिमा उडान र अवतरण हुन्छ । भिएफआरमा ५ किलोमिटर दुरीको ग्राउन्ड भिजिबिलिटी हुनुपर्छ। सामान्य अवस्थामा भीएफआरबाट उडान–अवतरण गराइन्छ। यस नियम अनुसार भिजिबिलिटी ५ किलोमिटर आवश्यक पर्छ। आएएफआरबाट उडान र अवतरण गर्दा प्रविधिको उपयोग हुन्छ।

सूचना अधिकारी भुलका अनुसार आइएफआरबाट उडान सुरु भएपछि प्याराग्लाइडिङ, बेलुन जस्ता गतिविधिले अप्ठेरो पारेको कुनै उजुरी हवाई जहाजले गरेमा प्याराग्लाइडिङलाई के गर्ने भनेर सोच्नुपर्ने हुन्छ।

‘हालका लागि भिएफआर उडान हो। तर, आइएफआरबाट उडान गर्दा प्याराग्लाइडिङका कारण अप्ठेरो परेको उजुरी परेमा भने प्याराग्लाइडिङ उडानलाई सधैका लागि समस्या पर्छ,’ उनले भने, ‘प्याराग्लाइडिङले हवाई उडानमा अप्ठेरो पारेको गुनासो आयो भने त्यसपछि भने सोच्नुपर्ने हुन्छ। अहिलेका लागि प्याराग्लाइडिङलाई पोखराभित्रै जोगाउने प्रयास भएको छ। यो अभ्यास हो, यसमा तलमाथि भए प्राधिकरणले फरक रुपमा सोच्नेछ।’

प्याराग्लाइडिङ उडान पोखराको पर्यटनको गहना भएकोले जोगाउने प्रयासमा प्राधिकरण लागिपरेको उनले बताए।  तर, आइएफआर उडान गर्दा कुनै समस्या ल्याइदिएमा त्यसपछि भने प्याराग्लाइडिङ उडानमा अप्ठेरो पर्ने उनले बताए। उनका अनुसार अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटको विस्तृत रिपोर्ट आइसकेको छैन। क्यालिब्रेसनको विस्तृत रिपोर्ट आएपछि फेब्रुअरी मध्यदेखि बल्ल आएएफआरमा आधारित रहेर पूर्णरुपमा उडान सुरु हुनेछ। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था थाहा पाउन बुद्ध एयरले आगामी बिहीबार प्रुभिङ फ्लाइट पनि गर्दैछ।

प्राधिकरणले प्याराग्लाइडिङ व्यवसायीलाई नयाँ एयरस्पेश सिफारिस गर्न भनेसँगै अरु सर्त पनि राखेको छ। प्याराग्लाइडिङका हरेक ग्लाइडरलाई प्रविधिमैत्री बनाउनुपर्ने, कम्पनीको कार्यालयबाटै ग्लाइडर नियन्त्रणका लागि रेडियो, जिपिएस र फ्लाई मास्टर लगायतका प्रविधि पनि जडान गर्न प्राधिकरणले व्यवसायीलाई भनेको छ। त्यस्तै तोकिएको क्षेत्रबाहिर उडान गर्ने ग्लाइडरलाई तत्काल नियन्त्रणमा लिने भरपर्दो संरचना तयार पारि उक्त ग्लाइडर संचालन गर्ने कम्पनीको इजाजत पत्ररद्ध गर्ने जस्ता स्पष्ट कारवाहिको व्यवस्था गर्न पनि प्राधिकरणले ना लाई भनेको छ।

प्याराग्लाइडिङ व्यवसायीले पनि अहिलेका लागि सराङकोट र तोरीपानीबाट उडान गर्न नमिल्ने हुँदा व्यवसायमा धक्का लाग्ने भन्दै चिन्ता जनाएका छन्। नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले भने, ‘सराङकोटको आकाशमा उडिरहेको प्याराग्लाइडिङलाई अन्यत्र जानुपर्दा व्यवसाय कस्तो होला भन्ने चिन्ता पलाएको छ। तर, सधैँका लागि पोखराबाटै प्याराग्लाइडिङ विस्थापित हुनुभन्दा केही टाढा गएर भएपनि रहिरहनु सकारात्मक हो।’ पोखराबाट सधैका लागि प्याराग्लाइडिङ हट्ने चिन्ता पलाइरहँदा अब पोखरामै रहने आशा पलाएको उनले बताए। ‘सबैतिर असन्तुष्टि जनाउन पनि मिल्दैन, तर व्यवसाय कस्तो होला भन्ने चिन्ता भने थपिएकै हो,’ उनले भने। 

भण्डारीका अनुसार प्राधिकरणले प्रस्ताव गर्ने भनेको मान्द्रेढुंगा सराङकोटबाट पनि थप ५ किलोमिटर पश्चिम पर्छ। तर, मान्द्रेढुंंगामाथिको आकाशको मौसम बेलामा नखुल्ने र हुस्सुले ढाक्ने भएकोले बाह्रै महिना उडान गर्न  नमिल्ने उनले बताए। ‘प्राधिकरणले नै मान्द्रेढुंगालाई विकल्प दिएको छ। तर, त्यहाँबाट व्यवसाय गर्न गाह्रो छ। बाहै्रमहिना खुल्दैन, अहिलेको जस्तो बिहानै उडान गर्न मिल्दैन,’ उनले भने, ‘अबेरसम्म हुस्सुले ढाकेपछि उडान नै अनिश्चित हुन्छ।’ भण्डारीले यसअघि प्याराग्लाइडिङ उडानमा पर्याप्त लापरबाही हुने गरेकोमा अब त्यो गल्तीको परिकल्पना समेत गर्न नहुने पनि बताए।

प्रकाशित: ५ पुस २०७९ ०९:११ मंगलबार

प्याराग्लाइडिङ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सराङकोट