२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराको प्याराग्लाइडिङ : दिनमा तीनघण्टा मात्रै उड्न पाउने

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ। तस्बिरः नागरिक

आगामी जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान के हुने भन्ने बारेमा अझै यकिन त भईसकेको छैन। तर, पोखराको आकाशमै प्याराग्लाइडिङ रहिरहेमा दिनमा जम्मा तीनघन्टा मात्र उड्न पाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले समय छुटाइदिने भएको छ।

अहिले बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म यहाँको आकाशमा प्याराग्लाइडिङ उडान संचालन हुन्छ। तर, अब भने अन्तर्राष्ट्रिय विमानस्थलका कारण दिनभरि उड्न नपाउने गरी प्राधिकरणले समय छुटाइदिन थालेको हो। प्याराग्लाइडिङलाई अहिले जस्तो दिनभर उड्न दिनका लागि समय नपुग्ने प्राधिकरणले बताएको छ।

प्याराग्लाइडिङ व्यवसायीका अनुसार प्राधिकरणले ३ घण्टा को समय मात्र प्याराग्लाइडिङ उडानका लागि दिन सकिने भनेर व्यवसायीलाई अनौपचारिक जानकारी दिलाएको छ। ‘प्राधिकरणले दिनमा तीन घण्टा दिन सकिने भनेको छ। हामीले भने बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय मागेका छौं,’ प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)का एक जना पदाधिकारीले भने, ‘प्राधिकरणले तीन घण्टा मात्र दिने भनेपछि हामीले उपयुक्त समय बिहान ११ देखि दिउँसो २ बजेसम्म भनेका हौ।’

व्यवसायीका अनुसार अहिले बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म प्याराग्लाइडिङ उडान हुन्छ। बिहान १० बजेभन्दा अगाडि सम्भव हुँदैन भने दिउँसो साढे तीन बजेपछि पनि उडान हुँदैन। ‘उडानका लागि उपयुक्त समय नै दिनमा हो। हामीले त्यही अनुसार मागेका हौ,’ ती पदाधिकारीले भने, ‘सकेसम्म त बढी समय दिए राम्रो हुन्थ्यो, नत्र उपयुक्त समय बिहान ११ देखि दिउँसो २ बजेसम्म मात्र हो।’ हावाको चापको आधारमा उडान हुने भएकोले त्यही अनुसार समय आवश्यक पर्ने ती पदाधिकारीले बताए।

पोखराकै आकाशमा प्याराग्लाइडिङ उडान रहिरहने वा  विस्थापित हुने भन्ने यकिन भईसकेको छैन। तर, प्राधिकरणले पोखराको आकाशमा प्याराग्लाइडिङ उडानलाई यथावत् राख्न प्रयास गरिरहेको छ। पोखरेली व्यवसायीले प्याराग्लाइडिङलाई पोखराकै आकाशमा टिकाइरहनुपर्छ भन्ने माग गरेपछि प्राधिकरणले फ्लाइट प्रोस्युडर डिजाइन फेरेर भएपनि बचाउने प्रयास गरिरहेको छ। 

प्राधिकरणका अनुसार अहिलेसम्मको फ्लाइट प्रोस्युडर डिजाइनमा विमानस्थलमा पूर्वबाट अवतरण गर्ने जहाजले ‘एप्रोच’ गर्न नसकेमा वा पश्चिम हुँदै उडान हुँदाको अवस्थामा फेवातालमाथिको आकाशमा पुगेपछि जहाजले सराङकोटलाई बायाँ पार्दै दायाँ मोडिनेगरि डिजाइन गरिएको थियो। त्यसले गर्दा सराङकोटको आकाशको प्याराग्लाइडिङ हट्नुपर्ने बाध्यकारी हुन्थ्यो।

तर, पोखराको व्यापक गुनासोपछि जहाजले सराङकोटलाई दायाँ छाडेर बायाँतर्फ मोडेर फ्लाइट प्रोस्युडर डिजाइन बनाउन सकिनेबारे अध्ययन भइरहेको छ। यदि पछिल्लो फ्लाइट प्रोस्युडर डिजाइन पास भएमा ‘मिसएप्रोच’ भएको जहाज फेवातालमाथिबाट बायाँ (पुम्दिभुम्दी)तर्फ मोडिनेछ। त्यस्तो अवस्थामा पोखराको आकाशमा हुने प्याराग्लाइडिङ उडान सुरक्षित रहनसक्ने प्राधिकरणको भनाई छ।

पोखराको आकाशमा प्याराग्लाइडिङ रहिरहे पनि अहिले उडान भइरहेको सबै ठाउँमा भने सम्भव नहुने प्राधिकरणले बताएको छ। अहिले पोखराको सराङकोट, तोरी पानी, मान्द्रेढुंगा र तामागि माथिको आकाशमा प्याराग्लाइडिङ उड्न पाउने गरी प्राधिकरणले ‘एयर बक्स’ तोकिदिएको छ। तर, अब ती चारै वटा बक्समा भने उड्न नपाउने पनि प्राधिकरणले बताएको छ। ‘चारै वटा ठाउँमा उडान सम्भव हुँदैन  अब नयाँ ठाउँ पनि निकाल्न सकिन्छ वा पुरानै एक ठाउँमा मात्र पनि उडान हुन सक्छ भनेर प्राधिकरणले भनेको छ,’ ना का निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले भने, ‘चार वटै ठाउँमा सम्भव नहुने भएपनि एउटा ठाउँ दिने प्राधिकरणको आश्वासन छ’।

व्यवसायीले सबैभन्दा उपयुक्त ठाउँ सराङकोटको आकाश मागेको उनले बताए। ‘दृश्यावलोकन, पहुँच र सहजताका हिसाबले सराङकोटको आकाश हाम्रा लागि पहिलो प्राथमिकतामा छ। तर, त्यहाँ सम्भव नभएर अन्यत्र दिए पनि हामी जान बाध्य छौ। किनकि हवाई उडानमा हेलचेक्र्याइँ गर्न सकिन्न। प्राधिकरणले दिएको ठाउँमै उड्नुपर्छ।’ भण्डारीका अनुसार अहिलेसम्म उडिरहेको चार वटै ठाउँ उपयुक्त नहुन पनि सक्छन् वा कुनै एउटा ठाउँमा उपयुक्त पनि हुन सक्छ, त्यसको जानकारी प्राधिकरणले दिनेछ। प्राधिकरणले अहिलेजस्तो मनलाग्दी तरिकाले उडान गर्न नदिने र सीमित हुन भनेपछि व्यवसायी बाध्य हुने उनले सुनाए।

‘पोखराको पर्यटनको गहनाको रुपमा रहेको प्याराग्लाइडिङलाई जोगाउन प्राधिकरणले सक्दो पहल गरेको छ। फ्लाइट प्रोस्यूडर डिजाइन परिवर्तन गरेर भएपनि प्याराग्लाइडिङ जोगाउन प्रयासमा हामीले साथ दिनुपर्छ,’ उनले भने, ‘अब पनि हेलचेक्र्याइँ सम्भव छैन। मिलेर र मिलाएर उडान नगरेमा प्याराग्लाइडिङ नरहने अवस्था भएपछि हामी बाध्य हुनेछौ।’

अहिले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने ६० कम्पनी छन्। ती कम्पनिको फ्लाइट स्लट व्यवस्थापन गरेर उडान गराउने जिम्मा छाता संस्था ना को रहेको उनले बताए। ‘अब दुई स्लट सम्भव छैन। एक/एक स्लट उड्ने हो, बढीमा तीन घण्टाभित्र उडान सक्नुपर्छ,’ उनले भने, ‘ना ले स्लट व्यवस्थापन गर्नेछ। अहिलेजस्तो स्वतन्त्र पूर्वक उड्ने सम्भावना रहन्न।’

नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एसोसिएसनका महासचिव शैलेन्द्र रावतले पनि अहिलेको चार ठाउँबाट उडान सम्भव नहुने भएकोले कुनै एक ठाउँबाट मात्र उडान भर्न तयार रहन प्राधिकरणले अनौपचारिक जानकारी दिएको बताए। ‘अहिलेको चार ठाउँमा उडान सम्भव हुँदैन। नयाँ ठाउँ पनि हुन सक्छ वा चार वटा मध्येका कुनै एउटामा जानुपर्ने हुनसक्छ,’ उनले भने, ‘सबै ठाउँमा उड्ने अवसर अब हुँदैन।’

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने प्याराग्लाइडिङका लागि अहिलेसम्म समय छुट्याउने बारे निर्णय नभएको बताए। हवाई रुटको बारेमा यकिन भएपछि बल्ल प्याराग्लाइडिङ कसरी उड्ने भन्ने यकिन हुने उनले बताए। ‘हवाई रुटले साथ दिएमा बल्ल पोखराकै आकाशमा प्याराग्लाइडिङ रहिरहन्छ। नत्र एयरपोर्ट बन्द गरेर प्याराग्लाइडिङका लागि समय दिने भन्ने हुँदैन,’ निरौलाले भने, ‘रुटको बारेमा नै अझै यकिन भईसकेको छैन। अहिले पनि एउटा टिमले अध्ययन गरिरहेको छ। केही दिनभित्र सबै यकिन हुन्छ।’

प्राधिकरणले यसअघि नै पोखराका सबै ६० वटा कम्पनिले अहिलेजस्तो मनलाग्दी उडान गर्न नसक्ने बताइसकेको छ।

प्रकाशित: २६ मंसिर २०७९ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App