२० असार २०८१ बिहीबार
image/svg+xml
प्रवास

दुबईबाट उद्धारको याचना गर्दै महिला

वैदेशिक रोजगारीमा दुबई पुगेकी एक महिला उद्धारका लागि आफ्ना आवाज स्वदेश पुर्‍याउन प्रयासरत छिन्। बाराकी २७ वर्षीया ती महिला स्वदेशमा आफ्नो ब्युटिपार्लर व्यवसाय बेचेर पार्लरमै जागिर खान त्यहाँ पुगेकी थिइन्। आर्थिक मन्दी उकालो लागिरहेको बेलामा नेपालमा आफ्नो व्यवसाय भने ओरालो लागेकै कारण उनले वैदेशिक रोजगारी अँगाल्नुपरेको थियो।

धेरै नेपालीले विदेशमा मेहनतअनुसारको फल प्राप्त गरिरहेको बेलामा उनलाई भने विदेशी भूमि फापेन। विकसित देशको सुन्दर चालढाल सोचेर गएअनुसारको उनले काम दुबईमा पाइनन्। अहिले स्वदेश फर्कन उनले यावत् प्रयास चालिरहेका छन्।  

सामाजिक सञ्जाल ‘टिकटक’मा भेटिएका एजेन्टको विश्वासमा ३ लाख ५० हजार रूपैयाँ तिरेर भिजिट भिसामार्फत उनी गत माघमा दुबई पुगेकी थिइन्। ती महिलाका दिदी बहिनीको उद्धारको माग गर्दै बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेकी हुन्। 

‘बहिनी दुबई पुगेको दिनदेखि नै दुःख मात्रै पाएकी छिन्। रोजगारदाताले नै सबै कागजातसहितको पासपोर्ट जफत गरेपछि स्वदेश फर्कन गाह्रो भएको छ। सधैं फोन गरेर मलाई यो जञ्जालबाट निकाल्नुपर्‍यो भन्दै रुन्छिन्,’ दुबईमा भएकी बहिनीको दुःख सम्झँदै दिदीले भनिन्। नेपालबाट एजेन्टलाई त्यत्रो पैसा बुझाएर दुबई गएकी बहिनीले अब स्वदेश आउन पनि रोजगारदातालाई ७ हजार दिराम (नेपाली २ लाख ५३ हजार रूपैयाँ) दिएपछि मात्रै नेपाल फर्कन पाउने पीडितको दिदीले नागरिक संवाददातासँग बताइन्।

पार्लरको काममा सेवासुविधासहितको राम्रो आम्दानी हुन्छ भनेर दुबई पुगेकी बहिनीले श्रम शोषणमा पर्नुपरेको भन्दै ब्युरोमा उद्धारको माग गर्न आएकी दिदी बताउँछिन् । दुबईस्थित अबुधाबीमा १३ देखि १४ घण्टा काम गर्नुपरेको बहिनीको भनाइ उद्धृत गर्दै दिदी भन्छिन्, ‘हाम्रो सुख काट्ने भाग्य छैन। दुःख गर्नै आएका हौँ, दुःख गर्छौं पनि । यहाँ खाना त परै जाओस्, पानी पिउन पनि दिइन्। गाँसबासको व्यवस्था गरेनन्, ल ठिकै छ तर हामीले कोठामा पकाएर ल्याएको खाना खानसमेत दिइएको छैन। हामीले ल्याएको खाना यहाँ बसेर खाए पार्लरमा नराम्रो गन्ध आउँछ रे भन्दै साहुले गाली गर्छ।’

१२ कक्षा उत्तीर्ण ती पीडित महिलाले आफ्नी दिदीलाई बताएअनुसार पार्लरमा काम गर्ने नेपाली, बंगाली, भारतीय र फिलिपिनोसमेत सबै कागजात रोजगारदाताले लिएर काम गराइरहेको छ। ‘यहाँ सबै जना धरधरी रोएर काम गरिरहेका छन्। आफ्नै देश फर्कनै परेको खण्डमा रोजगारदातालाई नेपाली पाँच लाखभन्दा बढी बुझाउनुपर्नेछ। कमाउने भनेर अर्काको देश आएको युवालाई अत्यधिक श्रम शोषणमा गरे पनि अन्य देशका श्रमिकहरू बाध्य भएर गर्नुपरेको भन्दै पीडितले आफ्नी दिदीलाई ह्वाट्सएपमार्फत भोइस रेकर्ड पठाएर जानकारी दिएकी हुन्।

‘दिनभरि उभिएर १४/१५ घण्टा काम गर्नुपर्छ । धेरै जना बाध्यताकै कारण पनि यस्तो गाह्रो काम गरिरहेका छन् । साहु देखेर सबै डराउने, कोही बोल्न सक्दैनन्। काम छाडेर जान पनि नमिल्ने सबै कागजात नै रोजगारदातासँग छ। पासपोर्ट रोजगारदातासँग माग्दा खुरुखुरु काम गर्ने धेरै हल्ला गर्ने होइन, मैले तिमीहरूलाई किनेर ल्याएको हुँ भनेर गाली गर्छ,’ पीडित महिलाले आफ्नी दिदीलाई अडियो पठाउँदै भनेकी थिइन्। उक्त पार्लरमा काम गर्ने कामदारको मासिक तलब युएई १७ सयदेखि २ हजार दिरम रहेको पीडित महिलाले बताएकी छन्।

पीडित महिलाले दिदीलाई उद्धारको माग गर्दै ह्वाट्सएपमा धेरै नै अडियो पठाएकी थिइन्। पीडितले पठाएको उक्त अडियो खोल्दा यस्तो भनिएको थियो, ‘यहाँ काम गर्न नसक्ने अवस्थामा छौं। सबै जना आ–आफ्नो बाध्यताले काम गरिरहेका छन्। सुरुकै दिनमा साहुले हामी सबैको पासपोर्ट लिएको थियो। एकछिन विश्राम गर्न पनि दिँदैन। यहाँका धेरै मानसिक तनाव दिइरहेको छ।’

उक्त पार्लरमा उनी मात्रै साहुद्वारा पीडित थिएनन्। उनीजस्तै अरू कामदार पनि पीडित रहेको उनले अडियोमार्फत बताएकी छन्। उनलाई दुबई पु¥याउने टिकटकमा भेटिएका पुरुषको त्यहाँ नै ‘एजेन्ट अफिस’ खोलेर बसेको पीडित महिलाले सुनाइन्। दुबईकै स्थानियले खोलेको पार्लर हो राम्रो छ भन्दै काममा लगाएको ती पीडित महिलाले आफ्नी दिदीलाई पठाएकी अडियोमार्फत सुन्न सकिन्छ।  

‘काम पनि आफू मरेर लामो समय गर्नुपर्ने। पार्लरमा काम गर्ने श्रमिकका लागि साह्रै कडा नीतिनियम राखिएको छ। सुरुका दिनहरूमा काम गर्न त्यस्तो गाह्रो भएन । करिब नौ घण्टा काम गरेका थियौं । पछिपछि धेरै समय काम लगााउन थाल्यो। अहिले घर न घाट भइएको छ,’ पीडितले सामाजिक सञ्जालमार्फत भनिन्, ‘दुबईमा महिला एजेन्ट छन्। ती महिला पनि विदेशमा राम्रो काम छ भनेर नेपालीबाट लाखौंलाख उठाउने काम गरिरहेकी छन्। एजेन्टका हातमा पैसा परेपछि विदेशमा आएर यस्तो अलपत्र बनाएर धेरैको बिजोक गरिरहेकी छन्।’

पीडित महिलाका अनुसार विदेशमा धेरै महिला एजेन्ट छन्। नेपालबाट विभिन्न प्रलोभनमा पारेर विदेश ल्याएको श्रमिकलाई आफ्नो एजेन्ट कार्यालयमा राखेर रोजगारदातालाई छानीछानी पठाउने काम महिला एजेन्टले धेरै गरिरहेका छन्। एजेन्टले भनेको ठाउँमा काम गर्न नगएमा पासपोर्ट नै नदिने भनेर धम्की दिने गरेको पीडितले दिदीलाई सुनाएकी थिइन्। 

प्रकाशित: २२ जेष्ठ २०८१ १५:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App