२३ असार २०८१ आइतबार
image/svg+xml
प्रवास

बेलायती प्रधानमन्त्री सुनकले भनेः नेपालको हरेक क्षेत्रमा सहकार्य गर्न बेलायत तयार

बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन सहकार्यका लागि सँधै तयार रहेको बताएका छन्।

नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको सय वर्ष पूरा भएको अवसरमा सोमवार बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ्ग स्ट्रिटमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र बेलायतबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताए।

उनले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको विभिन्न आयामहरूले द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरूको योगदानको प्रशंसा गर्दै बेलायती राजा चाल्र्सको विगतको नेपाल भ्रमणको स्मरण गरे।

प्रधानमन्त्री सुनकले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त बेलायतमा रहेका नेपाली डायस्पोराको काम र उपलब्धीबाट आफू प्रेरित भएको बताए।

बेलायतका लागि नेपाली राजदू ज्ञानचन्द्र आचार्यले सन् १९२३ मा सम्पन्न मैत्री सन्धीको महत्वको बारेमा जानकारी दिंदै उक्त सन्धिपश्चात अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान गरेको उल्लेख गरे।

नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तन तथा हासिल गरेका प्रगतिका बारेमा जानकारी दिंदै उनले बेलायतले नेपालको विकासमा पुर्याएको सहयोगको लागि धन्यवाद दिए।

साथै, आगामी १०० वर्षमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धलाई थप क्षेत्रहरुमा विस्तार गरी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

बेलायतकी परराष्ट्र राज्य मन्त्री आन मारी ट्रेवल्यानले बेलायत र नेपालबीचको अत्यन्त घनिष्ठ सम्बन्धको बारेमा बताउँदै बेलायतले नेपालको विकास प्रयासहरुमा गरिरहेको सहयोग जारी रहने र आर्थिक सम्बन्धलाई थप बिस्तार गरी नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा सहयोग पुर्याउने बताइन्।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने, कलाकार मनिषा कोइराला, संघका उपाध्यक्ष डा. हेम राज शर्मा, रामशरण सिमखडा, प्रोफेशर सूर्य सुवेदी, डा. पदम सिमखडा, पर्वतारोही हरि बुढा बेलायतमा विभिन्न पेशा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरू, बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरू एवं नेपालका बेलायती मित्रहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ८ जेष्ठ २०८१ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App