२३ असार २०८१ आइतबार
image/svg+xml
प्रवास

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्।शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो। सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्। 

दुवै जना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए। बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो। टेकबहादुर हालसम्म बेपत्ता छन्।  

धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए। बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताए। धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ। 

दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिए। उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यम मार्फत बेपत्ताको खोजी गरिरहेको छ।  

धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए। यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए। दुवैजना नाताले काकाभतिज पर्छन्। दुवैजना मोन्तिजो बस्दै आएका थिए।-रासस  

प्रकाशित: २६ चैत्र २०८० ०९:४५ सोमबार

समुद्र पोर्चुगल धादिङ नेपाली मृत्यु धनबहादुर तामाङ टेकबहादुर तामाङ बेपत्ता