२४ असार २०८१ सोमबार
image/svg+xml
कला

नातावादको बहससँगै घटे आलियाका फलोअर

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा मानसिक स्वास्थ्य समस्या, नातावाद र सिण्डिकेटलाई लिएर बहस चर्किएसँगै केही कलाकारहरूले आलोचना खेपिरहेका छन् । अभिनेत्री आलिया भट्ट, सलमान खान, सोनम कपुर र करण जोहरलगायत कलाकारहरूले नातावाद बहसको चर्को सामना गरिरहेका छन् ।  

नातावादको बहस चर्किएसँगै उनीहरूको सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा फलोअरको संख्या घट्दो छ । अभिनेता राजपुतले आत्महत्या गरेपछि चर्किएको नातावाद बहसका कारण सामाजिक सञ्जालमा अभिनेत्री आलिया भट्टका फलोअरहरू ह्वात्तै घटेका छन् । इन्स्टाग्राममा मात्र उनलाई चार लाख ४४ हजार फओलरहरूले अनफलो गरेका थिए । निर्माता मुकेश भट्टले एक अन्तर्वार्ताको क्रममा अभिनेता राजपुतले काम माग्न आउँदा नदिएको बताएपछि सामाजिक सञ्चालमा विवाद चर्किएको थियो ।  

‘सन् २०१२ मा आशिकी २ र त्यसपछि सडक २ निर्माण गर्ने तयारी भइरहँदा उनी काम माग्न अफिस आएका थिए,’ भट्टले भनेका थिए, ‘सडक २ को लागि उनको काम गर्न चाहेको कुरा आलिया र महेश भट्टललाई भनेपछि सुशान्त फेरि अफिस आएका थिए । फिल्म र जीवनका विषयमा कुराकानी हुँदा उनी मानसिक रूपमा अस्थिर लागेको थियो ।’

बलिउडले नातावाद र सिण्डिकेटलाई प्राथमिकता दिइरहेको अवस्थामा संघर्षशील कलाकारहरूलाई डिप्रेसनमा पुगेर आत्महत्या गर्ने अवस्था आएको भनेर सामाजिक सञ्चाल चर्को आलोचना भइरहेको छ । बलिउड अभिनेत्री कंगना रनावतसहितका कलाकारहरूले अभिनेता राजपुतको आत्महत्याको कारक नातावाद र सिण्डिकेट भएको भन्दै आलोचना गरेकी थिइन । इन्स्टाग्राममा पोस्ट गरिएको भिडियोमार्फत अभिनेत्री रनावतले बलिउडमा अभिनेता राजपुतको कोही गडफादर नभएकाले दर्शकलाई बारम्बार फिल्म हेरिदिएर आफूलाई टिकाउन, बलिउडले उनको पहिचानलाई बेवास्ता गरेको भन्दै उनको आत्महत्या हो वा योजनावद्ध हत्या भनेर प्रश्न गरेकी थिइन् । अभिनेता राजपुतले आत्महत्या गरेपछि निर्माता करण जोहरले दिएको अभिव्यक्तिले नातावाद बहस चर्काएको थियो ।

नातावादलाई प्राथमिता दिएको भन्दै निर्माता जोहरको ट्रोल सामाजिक सञ्जालमा भाइरल भएको थियो । इन्स्टाग्राममा उनको फलोअरको संख्या घट्दो छ । त्यस्तै अभिनेत्री सोनम कपुरलाई इन्स्टाग्राममा ८४ हजारले अनफलो गरेका थिए भने अभिनेता सलमान खानलाई ५० हजारले अनफलो गरेका थिए ।  

आइतबार अभिनेता राजपुत मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा मृत भेटिएका थिए । मुम्बई प्रहरीले ३४ वर्षीय अभिनेता राजपुतले घरमा झुन्डिएर आत्महत्या गरेको पृष्टि गरेको थियो । सन् २००८ मा बालाजी टेलिफिल्म्सको ‘किस देश में है मेरा दिल’ सिरियलबाट टेलिभिजन अभिनयको सुरुआत अभिनेता राजपुत चर्चित टेलिश्रृंखला ‘पवित्र रिस्ता’ मा देखिएका थिए । सन् २०१३ मा ‘काई पो चे!’ फिल्मबाट फिल्मी करिअरको सुरुआत गरेका उनी अभिनित सन् २०१६ को भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीको ‘एम.एस धोनीः अनटोल्ड स्टोरी’ सफल फिल्मको सूचीमा पर्दछ । त्यसबाहेक सन् २०१८ को ‘केदारनाथ’ र सन् २०१९ को ‘छिछोरे’ फिल्म हिट मानिन्छ । उनले ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्ममा अभिनय गरेका थिए । गत वर्षको ‘ड्राइभ’ मार्फत उनले नेटफ्लिक्समा समेत डेब्यु गरेका थिए। अभिनेता राजपुत अभिनित अन्तिम फिल्म दिल बेचारा अनलाइन स्ट्रिमिङ प्लेटफर्म हटस्टारमार्फत रिलिज हुँदैछ।

प्रकाशित: ४ असार २०७७ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App