२३ असार २०८१ आइतबार
image/svg+xml
कला

कथायात्रामा मायाको कथनी

नेपाली आख्यानको माध्यमबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार माया ठकुरीको ७७ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले ठकुरीको ललितपुर धोविघाटस्थित निजी निवासमा कथाकारको कथनी श्रवण गरी मनाए। उक्त अवसरमा कथाकार ठकुरीले आफ्नो यथार्थ र अनुभूतिहरू मिश्रित कथा पचास वर्षपछि रोचक पारामा वाचन गरेकी थिइन्।

कथाकारको कथनीमा सिद्धहस्त कथाकार माया ठकुरीले आफ्ना दुखदायी बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको  सुरुवाती संघर्ष, कथा लेखनमा प्रेरणा र प्रभावको सिलसिला कथा लेखनमा  प्राप्त स्थान र पाठकहरूको मायाको फेहरिस्त सुनाइन्।

कथाकार माया ठकुरीले आफ्नो बाल्यकाल र युवा अवस्था भारतीय भूमि सिलोङमा बिताएको र त्यहाँको नेपाली संगीत कला समितिबाट भेटिएका गोपीनारायण प्रधान, डिआर सुब्बा आदिको प्रभावका कारण साहित्यमा प्रवेश गर्दै आफ्नो कथायात्राको सुरुवात गरेको स्मरण गरिन्।

कथाकार ठकुरीले कथाकार संगिनीद्वय पद्मावती सिंह र भागिरथी श्रेष्ठसँगको साहित्यिक दोस्तीको प्रेमिल स्मरण गर्दै गुञ्जनले नेपाली साहित्यमा पुर्याएको योगदानको पनि कथाकारको कथनीमा व्यक्त गरिन्।

उपन्यास अनन्त यात्रा हो भने कथा एउटा सुन्दर बगैंचा भन्ने धारणा राख्ने माया ठकुरी बगैंचाकै विविध फूलहरूलाई नै कथाको विषय बनाई कथामा रमाउँछिन्। नजुरेको जोडी कथालाई २०३० सालमा सार्वजनिक गरी  नेपाली साहित्यको कथाक्षेत्रमा प्रवेश गरेकी ठकुरीका आमा जानुहोस्, प्रियंवदा, माया ठकुरीका कथाहरू नामक कथासंग्रहहरू प्रकाशित छन्। निरन्तर कथा लेखिरहने मायाका आख्यानहरूमा समाज र वस्तुलाई नजिकबाट देखी वा छोई अति यथार्थको नजिकबाट लेख्ने स्वभाव छ।

कथायात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ। कथाकार माया ठकुरीको जन्मोत्सव असारको दोस्रो साता पर्ने गर्छ। यही वैशाखबाट आरम्भ गरिएको कथाकारको कथनीको यो तेस्रो कदमका कथायात्रीहरूमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइकेल, हरिश कल्पित र पवित्रा अधिकारी छन्।

प्रकाशित: २० असार २०८१ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App